२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बिहान र राति प्राणघातक प्रदूषण

प्रातकालीन भ्रमण नगर्न सल्लाह

केही दिन यता काठमाडौंलगायत देशभर एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । हावाको बहावले गर्दा यस्तो हुने गरेको वातावरणविद्हरूको भनाइ छ। ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास  चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वावतारण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक छ।’

विभागले विहान र बेलुका झनै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । विहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातवारणविद्हरूले सल्लाह दिएका छन्। विभागका अनुसार शनिबारको तुलनमा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ। 

सोमबारसम्म प्रदुषणमा सुधार नआए विभागले सरकारलाई केही कदम चाल्न सुझाव दिने तयारी गरेको छ। प्रवक्ता जोशीका अनुसार सोमबारदेखि सवारीसाधानमा जोर बिजोर प्रणाली लागु गर्न, स्कूल कलेज बन्द गर्न जस्ता सुझाव दिने तयारी विभागले गरेको छ। ‘पहिलो चरणमा हामीले सचेत गराएका छौं । सोमबारसम्म पनि प्रदुषण कम नभए सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु गर्ने, स्कुल कलेज बन्द गर्न जस्ता काम गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेका छौं,’ जोशीले भने, ‘यसबारेमा सोमबार छलफल गरी निर्णय गर्छौ।’

आइतबार साँझ ललितपुरको भैंसेपाटीमा रहेको स्टेसनले वायु गुणस्तर सूचकांक २ सय ७० देखाएको छ। विभागका अनुसार शनिबार भैंसेपाटीको औसत प्रदुषण २ सय ६३ देखिएको छ। आइतबार साँझ काठमाडौको रत्नपार्कमा १ सय ६७ देखिएको छ। आइतबार चितवनको सौराहमा औसत प्रदुषण २ सय ९० देखिएको विभागले जनाएको छ।  

शनिबार र आइतबारको तुलनामा शुक्रबार काठमाडौमा प्रदुषण बढेको विभागको भनाइ छ। शुक्रबार भैंसेपाटीमा ४ सय ४७ र रत्नपार्कमा २सयको हाराहारीमा देखिएको थियो । विगत केही दिनदेखि काठमाडौ वरिपरि र मध्यतराईका जिल्लाका वनमा एकैपटक ठूलो संख्यमा डडेलो लागेपछि काठमाडौंलगायत देशभर एकाएक प्रदुषण बढेको छ । डढेलेको प्रभाव काठमाडौंसम्म आएको छ।  

अन्तराष्ट्र्रिय रूपमा वायु प्रदूषणको मात्रा नाप्ने वायु गुणस्तर सूचकांक (इन्डेक्स अक्वा ) १५० देखि २०० सम्म रहेको अवस्थालाई जनस्वास्थ्यमा प्रभाव पार्ने हिसाबले अस्वस्थकर मानिएको छ। यसलाई रातो रङ दिइएको छ। शून्यदेखि ५०० सम्मको प्रदुषणको स्तरलाई ६ तहमा बाँड्दा रातो रङ खतराको हिसाबले चौथोमा पर्छ। त्यस्तै २०० देखि ३०० अंकसम्मलाई बैजनी रङ दिइन्छ । यो खतराको हिसाबले पाँचौं तह हो । यसलाई अत्यन्त अस्वस्थकर मानिन्छ। ३०० अंक नाघेपछि खैरो रङ दिइन्छ। यो तहलाई ‘घातक’ स्तर मानिन्छ। 

अक्वा मापन गर्दा पिएम २.५, पिएम १०, सतही ओजनको अवस्था, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन डाइअक्साइड जस्ता प्रदूषणका कारक तत्वहरू हेरिन्छ। प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २.५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यास भएका सुक्ष्म कणहरूलाई पिएम २.५ का रूपमा मापन गरिन्छ। प्रतिघनमिटर वायुमा १० माइक्रोमिटर व्यास भएका कणलाई पिएम १० को रूपमा नापिन्छ।

प्रकाशित: १६ चैत्र २०७७ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App