२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटना टर्ने विश्वासमा सेतीदेवीलाई ऐना

ऐनाले भरिएको बिपी राजमार्गको खुर्कोट–नेपालथोक सडकखण्डस्थित रिट्ठेभिर। तस्बिर: अनिल/नागरिक

बिपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका–५ रिट्ठेभिरमा राजमार्गको भित्ताभरि हजारौं ऐना देख्न सकिन्छ। यस राजमार्ग हुँदै यात्रा गर्ने जोकोहीलाई त्यस ठाउँको ऐनाले लोभ्याउने गर्छ। ऐना चढाउन मात्रै नभएर सेल्फी खिच्न गाडी रोक्नेको भीड उस्तै देखिन्छ। पूर्वी तराईबाट काठमाडौं जाँदै गरेको एक निजी गाडी सुनकोसी गाँउपालिकाको रिट्ठेभिरको उक्त स्थानमा रोकियो।

गाडी रोकेर गाडी चालकले भित्तामा रहेका अरू ऐनासँगै एउटा ऐना थपे। ऐना राखेपछि उनले विश्वास र आत्माबल बढेको बताए। ऐनामा गाडी नम्बर र यात्रा सफलताको कामना गरिएको थियो। ‘यस क्षेत्रमा सबैले ऐना चढाएको देखें, मलाई पनि ऐना चढाउने धोको थियो, आज पूरा गरें,’ उनले भने, ‘यो ऐनामा दुर्घटना टर्ने विश्वास अडिएको रहेछ, त्यसैले मैले पनि ऐना चढाएँ।’

बिपी राजमार्गको खुर्कोट नेपालथोक सडकखण्डमा पर्ने सिन्धुलीको सुनकोसी गाउँपालिका–५ र ६ को सिमानामा रिट्ठेभिर पर्छ। त्यही रिट्ठेभिरको करिब ३ सय मिटरमा राजमार्गको भित्ताभरि हजारौं ऐना सेतीदेवीका नाममा चढाइएका छन्। रिठ्भिर भन्नेबित्तिकै दुर्घटना सम्भावित क्षेत्र र दुर्घटनाको प्रत्यक्ष बेहोरेको क्षेत्रका  

रूपमा परिचित छ। बिपी राजमार्ग ट्र्याक सडक हुँदै त्यस क्षेत्रमा ठूला दुर्घटना भएका थिए। २०६८ सालमा मात्रै त्यस क्षेत्रमा चारवटा दुर्घटना भएको स्थानीयको भनाइ छ। जसमध्ये दुईवटा दुर्घटनामा धेरैले ज्यान गुमाए। २०६८ वैशाख २० गते यात्रुबस रिट्ठेभीरबाट सुनकोसीमा खस्दा १३ जनाको घटनास्थलमै ज्यान गएको थियो यस्तै सोही वर्षको असोज २६ गते दसैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु बोकेको बस सुनकोसीमा खस्दा ४१ जनाले घटनास्थलमै ज्यान गुमाए।

त्यसपछि त्यहा देवी रहेको र ऐना चढाए देवीले शक्ति प्रदान गरि दुर्घटना टर्ने विश्वास स्थानीयसहित यात्रा गर्ने यात्रुको छ। ठूला दुर्घटनापछि सोही विश्वासका आधारमा त्यस स्थानमा ऐना चढाउन सुरु गरिएको स्थानिय बताउँछन्। केहि वर्षअगाडिबाटै त्यस क्षेत्रमा सेती देवी रहेको र सोही देवीका नाममा ऐना चढाउने गरिएको ऐना संरक्षण गर्न बसेका डम्बर हायुले बताए।

‘सेतीदेवीलाई खुसी पार्दा यात्रा सफलता र दुर्घटना टर्ने विश्वास छ, त्यही विश्वासमा सेतीदेवीलाई सिँगारका सामान चढाउँदा ऐना चढाइएको हो,’ उनले भने, ‘हाल १० हजारभन्दा बढी ऐना बिपी राजमार्गको भित्ताभरि छन्। सेतीदेवीका नाममा उक्त मन्दिरमा बा२ख ८८२५ नम्बरको गाडीले सबैभन्दा पहिला ऐना राखेको र त्यहिबाट ऐना राख्ने थालनी भएको सुनकोसी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष दाहाल बताउँछन्। उनका अनुसार ऐना चढाउनुमा अर्को कहानी छ।

२०६८ सालको असोज २६ गते भएको दुर्घटनामा निधन भएका ४१ जनाको शव जम्मा पारिएको मूलकोट चौरमा सप्ताह लगाइएको थियो। अघिल्लो र पछिल्लो घटनामा मृत्यु हुनेका परिवारजन तथा मूलकोट र आसपासका बासिन्दाको उपस्थितिमा चलिरहेको सप्ताहमा एउटा घटना घटेको उनी बताउँछन्। उनका अनुसार सप्ताहबाट सिन्धुलीतर्फ बसको यात्रामा जाँदै गरेकी एक महिलाले रिट्ठेभिरको हाल हजारौं ऐना भएको ठाउँमा आएर बस रोक्न लगाइन् र झरिन्। बसबाट झरेपछि ‘म सेतीदेवी हुँ’ भन्दै काम्दै सबैसामु आफू सेतीदेवी भएको र आफ्नो बासस्थानमा क्षति पु¥याएपछि मान्छेको भोग लिन थालेको बताइन्। हाल ऐना चढाइएको ठाउँमा पुगेर आफ्नो बासस्थान त्यही भएको जनाएपछि बिपी राजमार्गको भित्ता खोपेर ऐना चढाउने गरिएको र हाल भित्ता भर ऐना रहेको अध्यक्ष दाहाल बताउँछन्।

‘ऐना चढाउन थालेपछि त्यस स्थानमा दुर्घटनासमेत हुन छाडेको स्थानिय बताउँछन्। हामी यो ऐनालाई संरक्षण गर्दै व्यवस्थित गर्न थालेका छाैं,’ वडाध्यक्ष दाहालले नागरिकसँग भने, ‘हाल हजारौं ऐना यस क्षेत्रमा छन्। ऐना राख्नुको मुख्य उदेश्य नै सुरक्षित यात्राको कामना हो।’ सेतीदेवीको दैनिक दर्शन गर्न आउनेको संख्या बढ्दै गएको छ। ‘ठाउँ अप्ठ्यारो छ, त्यही अप्ठ्यारो र साँघुरो सडकमै पार्किङ गरेर सेतीदेवीलाई ऐनालगायत सिँगारका सामान चढाउने र दर्शन गर्नेको भिड देखियो,’ ऐनाको अवलोकन गर्न गाडी रोकेर ओर्लिएका एक यात्रुले भने, ‘पार्किङको व्यवस्था भए यो पर्यटकीय क्षेत्र बन्छ।

प्रकाशित: १६ चैत्र २०७७ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App