८ वैशाख २०८१ शनिबार
समाज

राष्ट्रिय जनगणना २०७८ वैशाख २६ गतेदेखि

कार्यक्रममा बोल्दै केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशी ।

प्रत्येक दस-दस वर्षमा हुने राष्ट्रिय जनगणना आगामी वैशाख २०७८ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ। यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  

राष्ट्रिय जनगणना २०७८ मा तथ्यांक संकलनको कार्य पहिलो चरण २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोश्रो चरण २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ।  

केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकहरुबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत् घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषि सम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदान घर निर्माण, व्यवसायिक तालिम सम्बन्धी विवरण संकलन गर्ने जनाए। 

साथै गणकहरुबाट प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावली फारममार्फत् घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरणहरु संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। साथै सुपरिवेक्षणबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत श्रोत, साधन, क्षमता र पूर्वाधार सम्बन्धी विवरणहरु संकलन गरिने उपमहानिर्देशक जोशीले जनाए। कोही नछुटून्, कोही नदोहोरिउँन् भन्ने मुख्य आशय जनगणनाको रहेको उनले बताए। उनले तीनवटा छुटाछुटै प्रश्नावलीको फारमसहित पहिलो पटक देशभरका सात सय ५३ वटा स्थानीय निकायसहित देशभरको जनगणना हुन लागेको जनाए।  

जिल्ला जनगणना कार्यालय भक्तपुरले राष्ट्रिय जनगणना २०७८ विषयमा पत्रकारहरुसँंग गरेको अन्तरक्रिया कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना समन्वय समितिका संयोजक प्रेमप्रसाद भटराईले संघीय संरचनापछिको पहिलो राष्ट्रिय जनगणना ऐतिहासिक हुने बताए। जिल्ला जनगणना कार्यायल भक्तपुरका प्रमुख पृथ्विजयराज सिजापतिले घरपरिवारमा गई विवरण संकलन गर्ने कार्य दुई चरणमा गर्ने कार्यक्रम रहेकोमा पहिलो चरणमा घरपरिवारको सूचीकरण कार्य गर्न देशभरि आठ हजार जना सुपरिवेक्षक कर्मचारी २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म २० कार्यदिनको लागि खटाउने कार्यक्रममा भक्तपुर जिल्लामा करिव एक सय जना सुपरिवेक्षक घरपरिवार सूचीकरण कार्यमा खटाइने जनाए।  

जनसंख्या व्यवस्थापनका लागि आवश्यक आवश्यक आवधिक जनसांख्यिक तथ्यांक उपलब्ध गराउने, जनसंख्याको प्रबृति र विशेषताहरुको बारेमा जानकारी गराउने तथा लोककल्याणको लागि नीति योजना तथा कार्यक्रम तर्जुमा गर्न जनसांख्यिक तथ्यांक तथा सूचक उपलव्ध गराउने उद्देश्यका साथ प्रत्येक दस-दस वर्षमा एकचोटी राष्ट्रिय जनगणना गर्ने व्यवस्था छ।  

नेपालमा विक्रम संवत १९६८ देखि जनगणना गर्ने काम सुरु भएको हो। विक्रम संवत २०७८ को राष्ट्रिय जनगणना नेपालको १२ औं र विक्रम संवत २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो जनगणना हो।

प्रकाशित: १३ चैत्र २०७७ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App