२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नमुना समाजको बेइमानी: होटल धनीले दिए राजस्व कार्यालयमा उजुरी

आफ्नो होटलको नाम र प्यान नम्वर चोरी गरेर नमुना समाजले स्थानीय तहहरुबाट लाखौं रकम भुक्तानी लिएको भन्दै पीडित होटल धनी लालसरा भण्डारीले आन्तरिक राजस्व कार्यालयमा उजुरी दिएकी छन् । नमुना गाउँ निर्माणका लागि भन्दै सुर्खेतका पाँच वटा स्थानीय तहसँग २५ करोड ५० लाखको संझौता गरेको नमुना समाजले एक करोड २५ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ ।

नमुना समाजले पाँच वटै स्थानीय तहमा पेश गरेको खर्च विवरणमा हरियाली धनिषा होटलको बील प्रयोग गरिएको छ । भेरीगंगा नगरपालिका–१० को झिलमिलेमा लालसराको नाममा दर्ता रहेको होटलको नाम र प्यान नम्वर चोरी गरेर नमुना समाजले वीरेन्द्रनगर–१२ को ठेगानामा स्थानीय तहमा बिल पेश गरेको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतका प्रमुख  डा. रामप्रसाद मैनालीले पीडित महिलाले आफ्नो होटलको नाम र पान नम्वर प्रयोग गरेर नमुना समाजले स्थानीय तहरुबाट रकम लिएको जानकारी दिँदै कारवाहीका लागि उजुरी दिएको बताए । ‘बास्तविक होटलधनीले छानविनका लागि उजुरी दिनुभएको छ,’ उनले भने, ‘हामीले स्थानीय तहलाई उक्त होटलको नाममा काटिएका बीलको खर्च विवरण माग गरेका छौं ।’

मैनालीले एक आर्थिक वर्षमा एउटा प्यान नम्वरबाट २० लाखभन्दा बढीको बीलहरु काट्न नपाइने बताए । उनले अर्काको होटलको नाम र पान नम्वर चोरीको विषयमा प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गर्ने बताए । ‘अर्काको होटलको नाम र नम्वर चोरी गरेको पाइएमा जिल्ला प्रशासन कार्यालयले ठगीमा कारवाही प्रक्रिया अघि बढाउन सक्छ,’ उनले भने, ‘महिलाले दिएको उजुरीका विषयमा प्रजिअलाई पनि जानकारी गराउँछु ।’

नमुना समाजले हरियाली धनिषा होटलको नामबाट पाँच वटै पालिकामा २० लाखबढीको बील पेश गरेको छ । पञ्चपुरी नगरपालिकामा अघिल्लो आर्थिक वर्ष नमुना गाउँ निर्माण, भैसीपालन, होमस्टे, व्यवसायिक कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रा पसल र आलु खेती तालिम सञ्चालन गरेको भन्दै पेश गरिएको ५१ लाख ५४ हजार ७५० रुपैयाँ मध्ये २७ लाख १४ हजार होटलको बिल छ । अन्य पालिकाहरुमा पनि नमुना समाजले यहीँ होटलमा तालिम सञ्चालन गर्दा हल भाडा, सहभागीहरुलाई बस्नका लागि कोठा भाडा, खाना र खाजा खर्च भएको बील पेश गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि नमुना समाजका विषयमा छानविन सुरु गरेको जनाएको छ । प्रशासन कार्यालयमा २०६१ सालमा दर्ता हुँदा यो संस्थाको ठेगाना भेरीगंगा–२ मा देखिन्छ । संस्थाले पालिकाहरुमा पेश गरेको संझौतापत्रमा भने ठेगाना वीरेन्द्रनगर नगरपालिका–१२ छ । कर कार्यालयमा नमुना समाजले कारोवारका लागि प्यान अथवा भ्याट नम्वर लिएको देखिँदैन् । ‘सायद अर्कैको प्यान नम्वर प्रयोग गरेर यो संस्थाले कारोवार गरेको हुनसक्छ,’ कर कार्यालयका प्रमुख मैनालीले भने, ‘पालिकाहरुसँग नमुना समाजको प्यान नम्वर पनि मागेका छौं ।’

प्रकाशित: १२ चैत्र २०७७ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App