२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु

विदेशी साहसी सिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको सिकार सुरु हुने भएको छ। कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ। अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको सिकार यो वर्षको पहिलो सिजनमा पनि सुरु हुन सकेको थिएन। 

यो पटक आठ वटा नाउर र चार झारलको सिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए। हरेक वर्ष कात्तिक र चैतमा दुई सिजन सिकार खुल्ने गरेको छ। चालु वर्षको दोस्रो सिजनका लागि स्पेनका तीन, अमेरिकाका एक, रसियाका एक, युक्रेनका एक र फ्रान्सका दुई गरी आठ सिकारीले शिकार गर्ने छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र छ झारलको लागि खुलाएको बोलपत्र आह्वानमा सोचेभन्दा थोरै सिकार आएको आरक्ष कार्यालयले जनाएको छ। सिकार आउने देशमा अझै कोरोना सङ्क्रमणको समस्याले थोरै आएको अनुमान गरिएको छ। आएका सिकारीलाई आरक्ष कार्यालयले ब्लकअनुसारको क्षेत्र तोकेर पठाउने काम गर्ने सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए।

आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले तीन नाउर र एक झारल, नेपाल ट्राभल्स एक्सपिडिसन प्रालिले चार नाउर र दुई झारल, हिमालयन सफारिजले एक झारल र एक नाउर सिकार गर्न पाउने अनुमति लिएका हुन्। विश्वव्यापी कोरोनाले सिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ अनुसार कुनै पनि व्यक्तिले सिकार अनुमतिपत्र लिएर सिकार खेल्न पाउने व्यवस्था छ।

विभागले तोकेअनुसारको राजस्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्ससमेत भएको व्यक्तिले मात्र सिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ। नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भए पनि अहिलेसम्म विदेशी सिकारीले मात्रै अनुमति लिएर सिकार गरिरहेका छन्। 

स्थानीय सहयोगीका रूपमा भने उनीहरूले बागलुङलगायत विभिन्न क्षेत्रका व्यावसायिक सिकारीलाई साथ लिने गरेका छन्। ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन्। अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्। रासस

प्रकाशित: १२ चैत्र २०७७ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App