रामजीके हाथ कनक पिचकारी...
सीयाजीके हाथ अबिरझोरी... मिथिलामे
मिथिलामा राम खेले होरी... मिथिलामे...
मिथिलाञ्चलमा श्रीपञ्चमीदेखि फागु गीतको शृंखला सुरु भए पनि होली शनिबार प्रारम्भ भएको छ। त्रेता युगमा राम र सीता एक अर्कालाई रङ–अबिर दलेर होली खेलेको दिनलाई मिथिलाञ्चलवासीले प्रत्येक वर्ष होली खेलेर सम्झेपछि होली पर्व विधिवत् रूपमा सुरु भएको मानिन्छ।
‘कञ्चनवन राम खेले होरी कञ्चनवन...’ शनिबार मिथिला माध्यमिकी परिक्रमामा सहभागी नेपाल तथा भारतका मिथिलाञ्चलवासीले धनुषाको कञ्चनवनमा होलीका यस्तैयस्तै गीतमा होली खेलेर त्रेतायुगको सम्झना गरे। सहभागीहरूले एकअर्कालाई रङ–अबिर लगाएर मिथिलामा होली पर्वको स्वागत गरे। फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला बिहारीको डोलासँगै कञ्चनवन पुग्ने गर्छ। परिक्रमामा सहभागी हुनेहरूले होली खेलेपछि मिथिलाञ्चलमा होली प्रारम्भ भएको मानिन्छ।
हराउँदै जोगिरा
‘कौन ताल पर ढोलक बाजे, कौन ताल मृदंग
कौन ताल पर गोरिया नाचे कौन ताल पर हम’
जोगिरा सरररर...
श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत हो यो। गाउँटोल घुमेर फागु पर्व आएको जनाउ दिँदै नाचगान गर्दा बढी प्रयोग हुने यो गीत अचेल उति सारो सुनिँदैन। यो गीत गाउँदा बजाइने ढोल, मृदंग, डम्पा, झालीजस्ता बाजा अचेल दुर्लभ भए। फागु पूर्णिमाको पहिलो दिन चतुर्दशीको रात पौराणिक पात्र होलिकालाई परम्परागत बाजा बजाउँदै ‘होलिका दहन’ गर्ने परम्परा छ।
पहिले र अहिलेको होलीमा धेरै फरक आइसक्यो। सिरहा गोलबजार नगरपालिका लालपुर टोलका ८० वर्षीय झमन यादव सम्झन्छन्, ‘वसन्तपञ्चमीका दिनदेखि नै हामी दिवाना हुन्थ्यौं।’ अचेल जबर्जस्तीको पर्वजस्तो हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे। मौलिकता हराएर विकृति आएको भन्दै उनले नयाँ पुस्तालाई होलीको सांस्कृतिक महत्व बुझाउनुपर्ने बताए।’ खेल्ने तरिका, खानपान सबै फेरियो,’ यादवले भने, ‘विगतमा गाउँबस्तीमा रहेका सबैजना भेला भएर खेलिन्थ्यो तर अचेल गाउँमा मान्छे भेट्नै मुस्किल छ, कहाँबाट भेला भएर होली खेल्नु ? त्यसमाथि कोरोना महामारीले होलीको रङ भंग गरिदिएको छ।’
होली विशुद्ध आध्यात्मिक र सांस्कृतिक पर्व भएको उनको भनाइ छ। सानो छँदा बाँसको पिच्करी बनाएर खेलेको होली सम्झँदै उनले भने, ‘अचेल उबेलाको जस्तो रमाइलो छैन, संस्कृतिमा विकृति मिसिएको छ।’ गाउँले भेला भएर डम्फा (डम्फु), ढोलकजस्ता बाजा बजाउँदै होली गीत गाएर होली मनाउने गरेको उनले सम्झे। ‘जोगिरा गाएर घरघर पुग्ने गरिन्थ्यो,’ उनले भने, ‘अग्रजले आशीर्वाद दिन्थे, उमेरदारहरू साथ लागेर नाचगान गर्थे।’
सूर्यनारायण सत्यनारायण मरवैता यादव क्याम्पस सिरहामा मैथिली भाषाका प्राध्यापक उमेशकुमार झाका अनुसार बढ्दो आधुनिकता, मानिसमा व्यस्तता, सहरमुखी प्रवृत्ति, पुराना संस्कृतिको प्रवर्द्धनमा बेवास्ताले होलीजस्ता मौलिक पर्वमा आकर्षण घट्दै गएको छ। संस्कृति, संस्कारप्रति घट्दो आकर्षण बढाउन युवाहरू जागरुक हुनुपर्ने उनको भनाइ छ।
मिथिलामा मौलिक होली
फागु पर्वमा सहभागी हुन नवविवाहिताहरू माइती आउँछन्। ज्वाइँलाई पनि पहिलो फागु खेल्न निम्तो पठाइन्छ। मिथिलाका सबै सांस्कृतिक पर्वमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ। महिला सहभागिताबिना होलीको कल्पनासमेत गर्न नसकिने मिथिला संस्कृतिका जानकार झा बताउँछन्। मिथिलाको होली घरमुली महिलाको पूजाबाटै सुरु हुन्छ। मालपुवा, खिरजस्ता परिकारहरू घरगोसाइँ (कुल देवता) लाई प्रसादका रूपमा अर्पण गरिन्छ। सँगै रङ–अबिर पनि पतल (प्रसाद) मा राखिन्छ। घरमुली महिलाको पूजा सकेपछि बल्ल होलीको उमंग सुरु हुन्छ।
एक दशकअघिसम्म मिथिलाञ्चलका टोलटोलमा वसन्त पञ्चमी (सरस्वती पूजा) सँगै राति फागु गीत गाइन्थ्यो। ग्रामीण इलाकाबाट लोप हुन लागेको फागु गीतलाई जगेर्ना गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् जनकपुरधामले (मिनाप) विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ। फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजन हुने दुई दिवसीय होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ। गीत–संगीतमा धनी तराई–मधेसको होलीमा आजकाल धेरै ठाउँमा ‘लाउडस्पिकर’ मा गीत बजाउने चलन आइसकेको छ। तर कतिपय स्थानमा आफैंले गीत गाउँदै रमाइलो गर्ने परम्परा अझै देखिन्छ।
प्रेमिल होली
नन्द–भाउजू, भाउजू–देवर तथा साली–भिनाजुबीचको फागु मिथिलाञ्चलमा चर्चित छ। भाउजू–देवर तथा साली–भिनाजुबीचको प्रेम रहस्य पनि होलीमै खुल्छ। त्यो वासनायुक्त प्रेम नभई वात्सल्य प्रेमका रूपमा खुल्छ। यसमा यौन आकर्षणभन्दा पनि अभिभावकत्व प्रेम झल्किएको देख्न सकिन्छ। होलीमा देवर–भाउजूबीच जुन खुला रूपमा रङ–अबिरको खेल देखिन्छ, यस्ता दृश्यले उनीहरूबीचको प्रेमलाई सतहमा ल्याउँछ। मधेसको बन्द समाजमा होली नै यस्तो पर्व हो, जसले देवर–भाउजूको आत्मीयतालाई सतहमा ल्याइदिन्छ।
प्रकाशित: १२ चैत्र २०७७ ०४:३१ बिहीबार