२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खोरकाे नरभक्षी बाघ भागेपछि राजमार्ग क्षेत्रमा मोटरसाइकल, साइकल र पैदल यात्रा गर्न रोक

फाइल तस्बिर

नरभक्षी (मान्छे मार्ने) बाघ खोरबाट भागेपछि बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ। बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको उक्त बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जलाई बुझाएको थियो। निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मंगलबार बिहान ६ बजेतिर भागेपछि निकुञ्ज अन्तर्गत पर्ने पुर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षित रुपले खोरमा राखिएको बाघ आफै निस्केपछि निकुञ्ज अन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सर्तकता अपनाउन सुचित गरिएको बताए। ‘बाघ आफ्नो प्राकृतिक बासस्थानतिर लागिसकेको छ,’ उनले नागरिकसँग भने ‘तर मानव बस्तीतिर आएर क्षति नगरोस् भनेर हामीले सर्तकता अपनाउन आग्रह गरेका छौं।’ मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक काम बाहेक जंगलभित्र प्रवेश नगर्न अनुरोध गरिएको उनले बताए।  

निकुञ्ज कार्यालयले पूर्व पश्चिम राजमार्गको शिवखोलादेखि प्रगतीनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवत जावत नगर्न सूचना जारी गरिरहेको शाहले जानकारी दिए। निकुञ्ज बाँके, दाङ र सल्यानसम्म फैलिएको छ। यी तीन वटै जिल्लाको अधिकांश भू–भागलाई निकुञ्जको मध्यवर्ती क्षेत्रले समेटेको छ। 

स्थानीय त्रसित

निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्तीसोनारी र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकाका दर्जनौं मानव बस्ती रहेका छन्। यी बस्तीका स्थानीय बासिन्दाहरु खोरबाट बाघ भागेपछि अहिले निकै त्रसित छन्। निकुञ्जले मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका साथै सर्वसाधारणलाई स्थानीय एफ.एम. रेडियो र माइकिङमार्फत सर्तक रहन आग्रह गरिरहेको जनाएको छ। बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले खोरबाट बाघ भागेपछि मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई निकै त्रसित बनाएको बताए।  

‘मानवीय क्षति पुर्‍याएको बाघलाई बाहिरबाट ल्याइसकेपछि एकदमै निगरानीका साथ राख्नुर्थ्याे, बाघ भागिसकेपछि जनता निकै त्रसित भएका छन्,’ उनले भने। कार्यालयले सन् २०१८ मा गरेको गणनाअनुसार निकुञ्ज भित्र २१ वटा पाटेबाघ छन्। अहिले त्यो संख्या अहिले बढेको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जभित्र बाघको संख्या बढ्दै जादाँ मध्यवर्ती क्षेत्रका स्थानीय थप जोखिममा परेका छन्।  

बाघले मध्यवर्ती क्षेत्रका स्थानीयलाई समय–समयमा आक्रमण गर्दै आएको छ। ‘बाँके निकुञ्जमा बाघको संख्या बढ्दै जादाँ हामीहरु जोखिममा त छौं, त्यसमाथी बर्दियाबाट ल्याएको हिंस्रक बाघ बाँके निकुञ्जभित्र भागेपछि झनै त्रसित बनाएको छ,’ स्थानीय भन्छन्। निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत महेश न्यौपाने प्राकृतिक बासस्थानबाट अप्राकृतिक बास स्थानमा राखिएको बाघ खोरबाट आफैं निस्केको बताउँछन्।  

‘बर्दियाबाट ल्याइसकेपछि अप्राकृतिक बासस्थानमा रहँदा बाघ निकै आक्रोशित देखिएकाे थियो, उसको निगरानीका लागि हामीले क्यामेरा नै जडान गरेका थियौं,’ उनले टेलिफोनमा नागरिकसँग भने ‘क्यामेरामा कैद भएको रेकर्डअनुसार बाघ मंगलबार बिहान ६ बजेतिर खोरको तीन वटा डण्डी बंगाएर निस्केको देखिन्छ।’ सूचना अधिकारी न्यौपानेकाअनुसार खोरबाट निस्केको बाघको पाइला पछ्याउँदा आफ्नै प्राकृतिक बासस्थानतर्फ लागेको पाइएको छ।  

निकुञ्जको दक्षिण क्षेत्रमा मध्यवर्ती क्षेत्रसँगै मानव बस्ती जोडिएको छ। ‘बाघ मानव बस्तीतिर नगएर चुरे क्षेत्रतिर गएको हाम्रो अनुमान छ,’ उनले थपे। आर्थिक वर्ष २०७४/०७५ मा निकुञ्जले फलामको डण्डी, जाली लगायत सामाग्री प्रयोग गरेर बाघ थुन्ने खोर बनाएको थियो। खोरमा प्रयोग भएको फलामे डण्डी नै बंगाएर बाघ निस्केपछि निकुञ्जका कर्मचारी समेत आश्चर्यमा परेका छन्।

प्रकाशित: ११ चैत्र २०७७ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App