८ वैशाख २०८१ शनिबार
समाज

दीपकले सम्झिए बाल्यकालः ‘हत्या मैले गरेको होइन, फसाइएको हो’

४० वर्षपछि घर आइपुगेका दीपक जोशी (दुर्गाप्रसाद तिम्सिना) घर–परिवारसँग। तस्बिर : भीम/नागरिक

बेपत्ता भएको ४० वर्षपछि दीपक जोशी (दुर्गाप्रसाद तिम्सिना) माई नगरपालिका–१०, लुम्बाकस्थित घर फर्किएर ८६ वर्षीया आमा धनमायालाई भेटे। आमालाई भेटेपछि उनले कोलकाताबाट ल्याएको मिठाई कोसेली आमालाई खुवाउन मानेनन् र आमाले दिएको मिठाई पनि हत्तपत्त खाएनन्। भेट्नेबित्तिकै आमासँग बोलेनन् र कुनै पनि प्रसंगमा प्रतिक्रिया जनाएनन्।  

तर, साँझदेखि उनी अलि खुले। घरमै रहेका दीपकका भतिजा गोपाल शर्मा तिम्सिनाका अनुसार दिउँसो नबोलेका दीपक साँझदेखि केही बोलचाल गर्न थाले। राति दीपकले आमासँग आफूले पहिला घर छाड्नुअघिको स्मरण गरे। ‘घर–परिवारलाई खान–लाउन धौधौ हुने भएपछि मैले घर छाडेको हुँ। लाहुेर हुन घर छाडेको थिएँ,’ दीपकले बोलेका कुरा गोपालले सुनाए, ‘घरबाट हिँडेपछि झापाको शनिश्चरे, विराटनगर, सिलिगुडी, असम हुँदै दार्जिलिङ पुग्नुभएकोरहेछ।’ दार्जिलिङमा रहँदा आफूले चिया बगान र होटलमा काम गरेको दीपकले सुनाए।

दीपकले आफू हत्यामा दोषी नभएको पनि आमालाई बताए। ‘मैले हत्या गरेको होइन आमा, एउटा प्रकाश भन्ने साथीले हत्या गरेर भाग्यो, मलाई असमबाट रेलमा उसैले भाडा तिरेर लगेको थियो। त्यहाँ लगेर हत्यामा फसायो,’ दीपकले परिवारसँग भने, ‘गर्दै नगरेको हत्यामा मैले गरेको हो भनाउन चुप्पी र खुकुरी देखाए। करेन्ट लगाए, कुटाइ कति खाइयो भन्ने थाहा पाउने होस पनि थिएन।’ दीपकले त्यहीबेला एउटा गीत गाइहाले, ‘दैव पनि रैनछ यो जिन्दगीमा...’  

दीपकले आफू पक्राउ परेपछि दार्जिलिङबाट मणिपुर, कोलकातालगायतका जेलमा बसेको पनि सुनाए। उनले आफूले छाड्दाको पुरानो घर साविक एकतप्पा गाउँ सम्झिए। आफ्नो घरमा रहेका ३ हल गोरुको नामसमेत भनिदिँदा आमा धनमाया निकै भावुक बनिन्।

घर आएको दिनको राति (आइतबार) करिब ९ बजे सुतेका दीपकलाई राति गोपालले नै बाहिर–भित्र गराए। ‘राति ८–९ चोटीसम्म बाहिर निस्किनुभयो,’ गोपालले दीपकको व्यवहार सुनाए, ‘मैले नै हात समातेर बाहिर–भित्र गराएँ।’ सोमबार बिहानदेखि दिउँसोसम्म चाहिँ दीपक आफैं आँगनमा घुमफिर गरे। ‘आज सोमबार पनि सोधेको कुरा बोल्नुभयो, आफैं चाहिँ खासै केही सोधीखोजी गर्नुभएन,’ गोपालले भने, ‘आइतबारभन्दा सोमबार आज अलि बढी नै खुल्नुभएको देखिन्छ।’  

दुःखको महासागरमा बिलाएको खुसी

दीपक घर फर्किंदा तिम्सिना परिवार मात्र होइन, यो खबर थाहा पाउने जो–कोहीको मनमा खुसी छायो। ४ दशकसम्म बिनासुनुवाइ परदेशको जेल बस्न बाध्य छोरो घर आएर ८६ वर्षीया आमाको काखमा लुटपुटिँदा खुसीले नरमाउने पनि को हुन्थ्यो होला र !  

तर, दीपक घर फर्किंदा परिवार र गाउँमा जति हर्ष छ, तिम्सिनाको घरको भित्री पाटोले त्यत्तिकै दुःखी पनि बनाउँछ। दीपक आउँदाको अमूल्य खुसी यतिबेला धनमायाको दुःखको महासागरमा चुर्लुम्म डुबेको छ। एक त परिवारको आर्थिक अवस्था ज्यादै दयनीय छ, अर्कातिर परिवारका सबैजसो सदस्य मानसिक बिरामी छन्। जेलबाट छुटेर आएका दीपकमा समेत चिकित्सकले मानसिक समस्या प्रमाणित गरेका कारण उनको परिवारमा पुनःस्थापना निकै जटिल हुने अवस्था आइलागेको छ।

दीपककी वृद्ध आमा धनमाया तिम्सिनाका ८ सन्तान थिए। तीमध्ये ४ जनाले संसार छाडिसकेका छन्। नाम सम्झनामा छैन तर धनमायाले २२ दिनभित्रमा ३ सन्तान गुमाउँदाको पीडा बिर्सन कहाँ सक्थिन् र ! जिउमा थेग्ला आउने, सुन्निने र छालै उक्किएर जाने रोगले धनमायाका ३ सन्तानको अकालमा ज्यान गयो। सन्तानले छाड्दाको पीडा बिर्सिन नपाउँदै २०२४ सालमा पति चम्पाखरले पनि धनमायालाई एक्लो बनाएर परलोक भए।  

धनमायाको दाहिने हातको कुहिनामुनिको भाग छैन। उनी परिआएका काम एकैहातले काम गर्छिन्। ‘२०२९/०३० सालतिर गाईले हानेर घाउ बनाएको थियो,’ धनमाया हात देखाउँदै भन्छिन्, ‘त्यतिबेला अस्पताल जाने कुरा थिएन, घाउ बढ्दैगयो। पछि देवा लागेर हात कुहिएर झर्‍यो।’ त्यहीबेला २०३७ साल माघमा दीपक (त्यतिबेलाका दुर्गाप्रसाद) बेपत्ता भए। आर्थिक अवस्था जर्जर बनेर खानलाउनै समस्या भएपछि लालाबाला लिएर धनमााया २०४० सालमा एकतप्पाबाट अहिलेको लुम्बकमा बसाइँ झरिन्।  

निकै नै दुःख र कष्टले परिवार धान्न थालिन्। कान्छो छोरा धर्मानन्द, कान्छी छोरी पविमाया र विवाह गरेर घर गएकी अर्की छोरी पवित्रामात्र उनका सन्तानको गन्तीमा थिए। अब दीपक पनि थपिएका छन्। दीपक परिवारका साहिँलो छोरा हुन्। अहिले दीपक आएको घरमा उनकी आमा, कान्छा भाइ धर्मानन्द, बहिनी पविमाया, बुहारी ठाकुरकुमारी र भतिजा गोपालसहित २ भतिजी छन्। धर्मानन्द पनि मानसिक समस्याका कारण औषधि खाइरहेका छन्। दीपककी कान्छी बहिनी पविमायासमेत मानसिक बिरामी छिन्।  

घरको छानो एउटै छ। भान्साघर र चुल्लो पनि एउटै छ। तर, पकाएर खाने एकै परिवारका ३ फरक समय र समूह हुन्छन्। घरमा आमा धनमाया एक्लै खाना पकाएर खान्छिन्। धर्मानन्द र गोपाल अर्काे भान्सा गर्छन्। अनि, परिवारसँग बेमेल भएका कारण ठाकुरकुमारी र २ छोरी त्यही चुलामा अर्काे चोटी पकाएर खान्छन्। त्यतिमात्र होइन, मानसिक समस्यामा रहेकी पविमाया पनि घरभन्दा अलि तल अम्लिसोबारीमा एक्लै खाना पकाएर खान्छिन्। दीपकका भाइ केदारनाथ पनि मानसिक बिरामी थिए। उनको गत मंसिर २८ मा निधन भयो।  

पुग्ने जो–कोहीलाई अनौठो लाग्ने तिम्सिनाको घर–व्यवहारमा दीपक पनि थपिएपछि अब घरको व्यवस्थापन कसरी होला भन्ने सबैलाई चिन्ता र चासो देखिन्छ। कोलकातास्थित दमदम जेलमा रहँदा दीपक औषधि खान्थे। समय–समयमा उनको स्वास्थ्योपचार हुन्थ्यो। गत फागुन ११ मा दीपकलाई भेट्न कोलकाता पुगेका गोपालले दीपकले खाने औषधिबारे जेलसँग सोधेका थिए। ‘बडाबा (दीपक) छुटेर घर जाँदा औषधि पनि पठाइदिने जवाफ आएको थियो तर उहाँ आउँदा साथमा कुनै औषधि आएन,’ गोपालले भने, ‘न उहाँको औषधिको नाम थाहा छ न औषधि। अब कहाँ लगेर जाँच गराउने, के औषधि खुवाउने भन्ने दोधारमा छौं।’  

आर्थिक अवस्था कमजोर भएको तिम्सिना परिवारले तत्कालै दीपकलाई राम्रो अस्पतालमा लगेर चेकजाँच गराइहाल्ने अवस्था छैन। ‘पेट पाल्नै निकै धौधो परेका बेला औषधोपचारका लागि कतै सहयोग माग्नुको विकल्प छैन,’ गोपालले भने, ‘कसरी परिवार व्यवस्थापन गर्ने भन्ने निकै कठिन घडीमा छौं।’  

रगोपालकै बुबा धर्मानन्दको उपचार गर्दा गत वर्ष परिवारलाई ७ लाख रूपैयाँभन्दा बढी ऋण लागेको छ। जग्गा–जमिनको आयस्ताले खान–लाउन पुग्दैन। बनिबुतो मेलापात गर्नुपर्छ। गोपाल करफोक विद्या मन्दिरमा १२ कक्षामा पढ्छन् तर उनी स्कुल जान पाएनन्। ‘घरको अवस्थाले स्कुल जान त पाइनँ तर परीक्षा दिएँ,’ उनले भने, ‘पढाइसम्म पूरा गर्न पाए केही उपाय गरिन्थ्यो होला तर अब त पढाइ पनि सपना मात्रै होलाजस्तो भएको छ।’

प्रकाशित: १० चैत्र २०७७ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App