१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

गर्मीमा डढेलो जोखिमः न सामग्री न दक्ष जनशक्ति !

फाइल तस्बिर

वसन्त र ग्रिष्म ऋतु विशेषतः वन डढेलो जोखिमको समय हो । यो समयमा वर्षभरि भएको हरियाली वन क्षणभरमै सखाप भइदिन्छ, डढेलोका कारण । हो, त्यही डढेलो लाग्न नदिन र लागिसकेपछि नियन्त्रण गर्न चाहिने पर्याप्त आवश्यक सुरक्षा सामग्री तथा तालिमप्राप्त दक्ष जनशक्तिको अभावले बर्सेनि सुदूरपश्चिमको वन मासिँदै गइरहेको छ ।    

सुदूरपश्चिममा जुन दरमा वन अतिक्रमण बढ्दो छ त्यही दरमा डढेलोले नव पालुवा मासिने क्रम पनि बढ्दै गइरहेको छ । डढेलो नियन्त्रण हुन नसक्नु र चेतनास्तरमा कमीका कारण सुदूरपश्चिमको वन क्षेत्र बर्सेनि मासिँदै गएको पर्यावरणकर्मीहरु बताउँछन् । डढेलोका कारण सुदूरपश्चिमको वन क्षेत्र बर्सेनि मासिँदै गइरहेको सामुदायिक वन उपभोक्ता महासंघका कैलाली अध्यक्ष डण्डीराज सुवेदी बताउँछन् । वन क्षेत्रमा डढेलो लाग्दा चाहिने सुरक्षा सामग्री र दक्ष तथा तालिम प्राप्त जनशक्ति नहुँदा नियन्त्रण गर्न नसकिँदा बर्सेनि वन मासिँदै गइरहेको उनले बताए । ‘घना जंगल रहेको कैलालीको वन क्षेत्र बर्सेनि डढेलोका कारण जोगाउन सकिरहेको छैन,’ उनले भने,‘वर्षातमा हुर्किएका बोटविरुवा गर्मी मौसममा लाग्ने डढेलोले नासिँदै गएका छन्, जसले गर्दा बुढा तथा पुराना रुखबाहेक नवपालुवालाई हुर्काउन सकिएको छैन ।’    

आफूहरुसँग छुट्टै अग्नि नियन्त्रण दक्ष जनशक्ति नभएको बताउँदै प्रदेश वन निर्देशनालय धनगढीका प्रदेश वन निर्देशक हेमराज बिष्टले भने,‘डढेलो नियन्त्रणका लागि हामीसँग छुट्टै दक्ष जनशक्ति छैन, वनरक्षक, सामुदायिक वनका पदाधिकारी र सेना प्रहरीकै सहयोगमा हामीले डढेलो नियन्त्रणमा लिने प्रयास गर्दै आएका छौँ ।’ डढेलोका कारण बर्सेनि पुनरुत्पादन सखाप हुने गरेको बताउँदै उनले भने,‘जनचेतनामूलक कार्यक्रमसँगै समयमै डढेलो नियन्त्रण गर्न सके त्यसले पुनरुत्पादन जोगिन सक्थे ।’ बर्सेनि भइरहने डढेलो नियन्त्रणका लागि एक छुट्टै मोबाइल टोली बनाउन सके त्यसले डढेलोले सखापहुने जंगललाई जोगाउन सकिने उनी बताउँछन् ।

‘डढेलो नियन्त्रणका लागि चाहिने आवश्यक सामग्रीहरु पर्याप्त हुनु र डढेलोका लागि मात्रै छुट्टै मोबाइल टोली बनाउन सकिए जंगल जोगिन्थ्यो ।’ डिभिजन वन कार्यालयहरुले सामान्य औजार र उपकरणहरु किनेर सामुदायिक वनलाई दिने गरेको उनले बताए । ‘हामीले सामुदायिक वनलाई डढेलो निभाउन आवश्यक पर्ने सामान्य केही औजार तथा उपकरण दिने गरेका छौँ, त्यो पर्याप्त भने हैन,’ उनले भने, ‘आधुनिक उपकरणसँगै दक्ष जनशक्ति पनि आवश्यक हो ।’  

समुदायमा रहेका केही फटाहा मानिसले जंगलमा आगजनी गर्ने गरेको बताउँदै उनले भने, ‘सामुदायिक वनमा विमति राख्नेहरुले जंगलमा डढेलो लगाइदिन्छन्, र दुःख उपभोक्ताले पाउँछन् ।’ गर्मीको मौसम त्यसमा पनि सुकेका पातपतिंगर र सुकेका ढलापढा काठले पनि डढेलो लाग्ने गरेको बताउँदै उनी भन्छन्, ‘त्यसलाई व्यवस्थापन गर्न नसक्दा डढेलोले बर्सेनि जंगल सखाप पार्दैछ ।’ डढेलो लाग्दा ढलापडा रुख नासिने भए पनि पुनरुत्पादन पनि बिग्रने गरेको उनी बताउँछन् । ‘डढेलोले एक त सुखा पडामा सल्कँदा राजस्व गुम्छ नै,’ उनले भने,‘अर्कोतर्फ रुखमा आगो सल्कँदा धेरै दिनसम्म रही रहने भएकाले डढेलो नियन्त्रण गर्न गाह्रो हुने र त्यसले पुनरुत्पादनमा समस्या पर्ने गरेको छ।’ सुदूरपश्चिमको वनमा बर्सेनि आगोले ४० प्रतिशत नोक्सान गर्ने गरेको वन निर्देशनालय बताउँछ ।  

विपद् जोखिम नियन्त्रणका लागि अति जोखिम, जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरि त्यसअनुसार नियन्त्रणका लागि कार्यक्रम तय गरिन्छन् । डढेलोलाई सरकारले विपद् मानेको भए पनि त्यसअनुसार तयारी भने गर्न नसकेको सरोकारवाला बताउँछन् । सुदूरपश्चिम प्रदेशका पा“च वटा जिल्ला वन डढेलोको उच्च जोखिममा गनिएको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीको वन क्षेत्र डढेलोको उच्च जोखिमको सूचिमा पर्छन् ।  

सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा डढेलोको जोखिम रहेको छ । कैलालीमा आर्थिक वर्ष २०७५/०७६ मा कुल क्षेत्रफलको ४० प्रतिशत वन क्षेत्रमा डढेलो फैलिएको थियो । डढेलोले पुनरुत्पादन भएका कैलालीका ४० प्रतिशत विरुवा सखाप पारेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष समयमै पानी पर्दा र जंगलमा जंगली झार उम्रिदा डढेलो खासै फैलन पाएन र समयमै नियन्त्रणमा आएको थियो । तर, यस वर्ष भने अहिलेसम्म मौसम सुख्खा रहेका कारण डढेलोको थप जोखिम हुन सक्ने आँकलन गरिएको छ ।  

प्रकाशित: ७ चैत्र २०७७ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App