१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषधले बढाउँदै अपराध

तीन दिनको अन्तरमा काठमाडौंमा दुईवटा जघन्य अपराधका घटना भए। चैत २ गते बल्खुस्थित सुकुम्बासी बस्तीमा एक महिलाको हत्या भयो। फागुन २९ गते टोखामा अर्का एक युवकको शव फेला पर्‍यो। यी घटनाको मुख्य कारण लागुऔषध सेवन थियो। प्रहरीका अनुसार अनुसन्धानपछि हत्याको कारण लागुऔषध देखिएको छ। हत्या गर्ने र गरिने दुवै लागुऔषध दुर्व्यसनीमा फसेकाहरू रहेको प्रहरीले जनाएको छ।

बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्ने सन्तोषी श्रेष्ठको उनकै पति सन्तोष सापकोटाले हत्या भएको थियो। हत्याको कारण खोतल्दा लागुऔषध रहेको प्रहरीको निष्कर्ष छ। प्रेम विवाह गर्ने श्रेष्ठ–सापकोटाको सम्बन्ध लागुऔषधका कारण बिग्रिएको थियो। विकृतिमा लागेपछि पतिले उनको हत्या नै गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए। उनका अनुसार परिसरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका दुवै घटनाको कारण लागुऔषध नै रहेको पाइएको छ। दुवै घटनामा संलग्न अभियुक्तमाथि अनुसन्धान गर्दा लागुऔषध सेवनका कारण ठूलो घटना भएको पुष्टि भएको छ।  

टोखा नगरपालिका–१ स्थित बाँसको झ्याङमा २२ वर्षीय आशिष लिम्बूको शव भेटिएको थियो। उनको हत्यामा सेख अब्दुल आलम, भूपेन्द्रकुमार साह र मोहम्मद कासिम मन्सुरी संलग्न थिए। प्रहरीका अनुसार फागुन २८ गते राति आशिषले लागुऔषध बोकेर मोटरसाइकल वर्कसपमा गएका थिए। त्यहाँ झगडा परेपछि उक्त वर्कसपमा काम गर्ने तीनजनाले उनको हत्या गरेका थिए। ‘यी दुवै घटनाको अवस्था र अभियुक्तमाथि अनुसन्धान गर्दा लागुऔषध सेवनपछि भएको पाइएको थियो,’ एसएसपी सिंहले भने, ‘मृतक पनि लागुऔषध सेवनकर्ता हुन्, नसा लागेपछि उनीहरूबीच झगडा हुँदा तीन जना मिलेर लिम्बूको हत्या गरेका रहेछन्।’  

यी दुई त प्रतिनिधि घटना मात्र हुन्। लागुऔषध सेवनपछि यस्ता गम्भीर प्रकृतिका धेरै घटना हुने गरेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मादक पदार्थ तथा अन्य दुर्व्यसनीजन्य विकृतिका कारण सामान्य बहानामा पनि ठूल्ठूला आपराधिक गतिविधि हुने गरेका छन्। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले अधिकांश जघन्य घटना लागुऔषध र लेनदेनसँग जोडिएको बताए। उनले भने, ‘अपराधको जड नै लागुऔषध र लेनदेन हो, यी दुई कारणले विवाद हुँदा ठूल्ठुला अपराध हुने गरेका छन्।’

प्रहरी परिसर काठमाडौंका एसएसपी सिंहले मदिरा सेवनको कारण सामान्य विवादलाई पनि जघन्य अपराधमा परिणत गर्नेहरूको संख्या बढेको बताए। ‘सहरमा मदिरा सेवन अत्यधिक बढेको छ, सामान्य छलफलबाट पनि मिलाउन सकिने विवादलाई मदिरा सेवन गरेकाहरूले जघन्य अपराधमा परिणत गरेका छन्,’ उनले भने, ‘लागुऔषध सेवनकै कारण वर्षमा ६०/७० वटा जघन्य अपराध हुने गरेका छन्।’ उनका अनुसार परिसर काठमाडौंले चार महिनाको अन्तरालमा ७ सयभन्दा बढी फरार अपराधी प्रक्राउ गरी कारबाही अघि बढाएका छ। तीमध्ये अधिकांश घटनाको कारण लागुऔषध सेवन भएको परिसरको तथ्यांकमा उल्लेख छ।  

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले पछिल्लो समय लागुऔषध सेवनका कारण आपराधिक क्रियाकलाप बढेको बताइन्। उनले सानै उमेरमा दुव्र्यसनीमा फस्ने, पतिपत्नी नै कुलतमा लाग्ने, लागुऔषध सेवनपछि विवाद र झगडा बढाउनेजस्ता समस्या देखिएको बताइन्। उनले भनिन्, ‘लागुऔषधलाई सामान्य ढंगबाट हेर्दा यसको प्रयोग बढेको छ, त्यसको असर आपराधिक कार्यमा पनि देखिएको छ।’ उनका अनुसार अशिक्षा, संगत र गरिबीका कारण पनि कुलतमा फस्नेहरूको संख्या बढेको छ। कतिपय बाबुआमाकै कारण पनि बालबालिकामा लागु औषध सेवन गर्ने प्रवृत्ति बढेको छ।

प्रकाशित: ५ चैत्र २०७७ ०६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App