coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिया बेचेर सहयोग जुटाउँदै विद्यार्थी

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सामाजिक कार्य विभागका विद्यार्थीहरुले बराहताल गाउँपालिका–६ को इखेनीका बालबालिकाको सहयोगका लागि चिया र पकौडा विक्री गर्न थालेका छन् ।  

सशस्त्र द्वन्द्वका बेला तत्कालिन विद्रोही माओवादीले २०६० सालमा बसाएको इखेनी बस्तीका बालबालिकाका लागि विश्वविद्यालयका विद्यार्थीहरुले चिया र पकौडा विक्री गरेर सहयोग संकलन थालेका हुन् । यो अभियान एक सातासम्म सञ्चालन हुनेछ ।  

सामाजिक कार्य विभागका विद्यार्थी मनिषा विश्वकर्माले इखेनी बस्तीका बालबालिकाहरुका लागि स्टेशनरी र पोशाक खरिदका लागि चिया र पकौडा बनाएर विक्री सुरु गरिएको बताइन् । ‘दुई दिनको अवधिमा चिया र पकौडा विक्री गरेर १९ हजार २१५ रुपैयाँ संकलन गर्‍यौं,’ दोस्रो सेमेस्टरकी विद्यार्थी विश्वकर्माले भनिन्, ‘यो अभियान एक सातासम्म सञ्चालन हुनेछ ।’

इखेनीको जनजागरण आधारभूत विद्यालयमा एक सयबढी बालबालिका अध्ययनरत छन् । यहाँका स्थानीय अधिकांस समय छोराछोरीसहित कालापहाड (भारत)मा हुन्छन् । कोरोना संक्रमणपछि आफ्नो घर फर्केका उनीहरु अहिले कालापहाड गएका छैनन् । पोशाक र स्टेशनरी नहुँदा विद्यार्थीहरु विद्यालय जान मान्दैनन् । ‘तिनै विद्यार्थीहरुका लागि हामीले पोशाक र स्टेशनरी खरिदका लागि यो अभियान सुरु गरेका हौं,’ सामाजिक कार्य विभागका विद्यार्थी किशोर शाही ठकुरीले भने, ‘चैतको दोस्रो सातातिर बस्तीमा गएर सहयोग हस्तान्तरण गछौं ।’

प्रकाशित: ३ चैत्र २०७७ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App