२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोखरामा असिनापानीको क्षति

पोखरा विरौटमा बुधबार दिउँसो परेको असिनाले थिचेको तरकारी । तस्बिरः नागरिक

पोखरा क्षेत्रमा बुधबार दिउँसो भीषण असिनापानी परेको छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार प्री मनसुन सुरु भएपछिको यो पहिलो वर्षा हो । भीषण असिनापानीले पोखरा र आसपासका क्षेत्रको खेतबारीमा लगाइएको तरकारीबालीमा क्षति पु¥याएको छ ।

जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार प्रीमनसुन मार्च १ देखि सुरु हुन्छ र जुन ९ सम्म रहन्छ । प्री मनसुनको अवधि सकिएपछि बल्ल मनसुन सुरु हुन्छ ।  

उनका अनुसार प्र्री मनसुनको अवधिमा वायुमण्डल ‘अनस्टेबल’ हुने हुँदा दिउँसोमा घाम लाग्ने बेलुकीपख पानी पर्ने सम्भावना रहन्छ । ढकालका अनुसार प्री मनसुनमा गड्याङगुडुङ गर्ने, चट्याङ पर्ने, हावाहुरी चल्ने र वर्षा हुने सम्भावना हुन्छ । यो बेलामा असिना पनि पर्न सक्ने उनले बताए । ‘हावाहुरी, असिनापानी र चट्याङको मौसम हो । हिमाली भेगमा हिउँ पनि पर्न सक्छ,’ढकालले भने, ‘त्यसैले यो बेला सचेत हुनुपर्छ ।’  

तराईको भेगमा आगलागी हुने र पहाडी भेगमा चट्याङको त्रास हुने उनले बताए । पोखरामा विहीबारको वर्षालाई प्री मनसुनको पहिलो वर्षा भन्न मिल्ने उनले बताए । ‘अबको तीनमहिना पोखरा क्षेत्रमा दिनहुँ पानी पर्ने सम्भावना हुन्छ, यो बेला जोगिनुपर्ने हुन्छ,’ उनले भने । लामो समयदेखिको हुस्सु र तुवाँलो पनि अब हट्न सक्ने उनले बताए । पोखरामा अब झनै गर्मी बढ्ने पनि ढकालले बताए ।  

असिनापानी परेपछि किसानले भने राहत महसुस गरेका छन् । तर असिनाले थिच्दा क्षति पनि भोग्नुपरेको छ । लामो समय पानी नपर्दा चिन्तित भएका किसान खुुसी भएका छन् । असिनाले तरकारी खेती पनि नोक्सान गरेको पोखरा महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार एकघन्टा जति परेको असिनापानीले पोखरा–१७ को बिरौटा, छोरेपाटन र २२ को पुम्दीभूम्दी  लगायतको क्षेत्रमा खेतबारीमा लगाएको तरकारीमा नोक्सान भएको छ ।  

काउली, बन्दा, लसुन, प्याज, मकै, सिमि, बेमौसमी लहरे बाली, सुन्तला लगायतमा क्षति पुर्याएको उनले बताए । असिना छेक्ने जाली प्रयोग गरि आफुले लगाएको बाली सुरक्षित गर्न सकिने कडरियाले बताए । ‘खेतीलाई पानी आवश्यक थियो,’ उनले भने, ‘तर, असिनाले नै क्षति पु¥यायो । भर्खर रोपेको तरकारीका विरुवा नोक्सान गरेको छ ।’

प्रकाशित: २६ फाल्गुन २०७७ १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App