२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पुरातात्विक सम्पदा पुनर्निर्माण सुस्त

भूकम्पपछिको भत्किएको उत्तरी धादिङको गुम्बा ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङका करिव दुई सय भन्दा बढी बौद्ध गुम्वा, बौद्ध विहार र छ्योर्तेनहरुमा क्षति पुर्‍यायो। भूकम्प गएको एक वर्षपछि बौद्ध गुम्वा र धार्मिक सम्पदाहरुको पुनर्निर्माण सुरु गरेको भएपनि पुनर्निर्माण हुन सकेको छैन। विशेष गरि उत्तरी धादिङमा तामाङ गुरुङ र घले जातिहरुको बाहुल्यता रहेका गाउँमा बौद्ध गुम्वाहरु रहेका थिए। भूकम्पले गुम्वाहरु तहस नहस बनाइदिएपछि गुुम्वामा बसेर लामा अध्ययन गर्नेहरु समस्यामा परेका भएपनि अहिलेसम्म कुनै बौद्ध विहारहरुको पुनर्निर्माण हुन सकेको छैन।

भूकम्प गएको छ वर्ष पुग्नै लाग्दा भूकम्पले क्षतविक्षत भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण भने छायाँमा परेको छ। भूकम्पले भत्किएका गुम्बाको पुनर्निर्माण नहुँदा बौद्ध धर्मावलम्बीहरु मारमा परेको नीलकण्ठ नगरपालिका ९ धादिङमा अवस्थित क्ष्योलीङ गुम्बाका लामा गुरु धनबहादुर लामाले बताए। ‘बौद्ध धर्मावलम्बीहरुको आफ्नै कला, संस्कृति, परम्परा हुन्छ’ उनले भने, ‘तर भवन अभावले रित पुर्‍याउन समेत समस्या भएको छ।’

ऐतिहासिक तथा पुरातात्विक सम्पदा इतिहास बोक्ने धरोहर हो। जसरी हाम्रा पूर्खाले जोगाएर हामीलाई हस्तान्तरण गरे। त्यसैगरी हामीले भावी पुस्तालाई हस्तान्तरण गर्न सकेनौं भने धर्म नै लोप हुन सक्ने चिन्ता रहेको लामाले बताए। ‘हामीले नै जोगाउन सकेनौं भने भावी पुस्ताका लागि एकादेशको कथा नहोला भन्न सकिन्न’ उनले भने, ‘तर भूकम्पले थलिएका धादिङका गुम्बाहरु बनेका छैनन्।’ पटक पटक गुम्बा पुनर्निर्माणका लागि सरोकारवाला निकायलाई झक्झकाउँदा पनि बेवास्ता गरिएको उनले बताए।

राष्ट्रिय पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार धादिङका अनुसार धादिङ जिल्लामा भूकम्पले भत्किएका ८५ वटा गुम्बा पुनर्निर्माण गर्नुपर्ने छ। तर आर्थिक वर्ष २०७६/०७७ मा ६ वटा गुम्बाको मर्मतसंभार भएको छ। चालु आर्थिक वर्ष २०७७/०७८ मा ४ वटा गुम्बाको पुनर्निर्माणका लागि सम्झौता भएर काम अघि बढाइएको इन्जिनियर चन्द्रमणि शाहले बताए। ‘निजी आवास पुनर्निर्माणले पूर्णता पाउने अन्तिम चरणमा पुगेको छ तर पुरातात्विक सम्पदाको पुनर्निर्माणमा ढिलाइ भएकै हो’ शाहले भने, ‘तैपनि बाँकी रहेको ७५ वटा गुम्बाको पुनर्निर्माण कहिले हुन्छ अहिले कुनै टुङगो छैन।’

युरोपेली युनियनको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (सिएलपीआइयू) ले जिल्ला प्राविधिक कार्यलय धादिङ अन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइले कार्यान्वयन गर्ने गरि धादिङ जिल्लाका ६७ वटा गुम्वा पुनर्निर्माणको लागि बजेट पठाएको थियो। हरेक वर्ष क्रमागत रुपमा बजेट पठाएपनि गुम्बाको पुनर्निर्माण हुन सकेको छैन। दाताले पैसा दिएपछि केन्द्रीय आयोजना कार्यान्वय इकाइ र गुम्वा विकास समितिबीच भूकम्पले क्षति पुर्‍याएका देशैभरिका गुम्वा पुनर्निर्माणको सहमती भएको थियो। पछि पुनर्निर्माण प्राधिकरणले नयाँ कार्यविधि लागु गरेपछि गुम्वा मर्मतको काम रोकिँदा सुस्त भएको हो।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धार्मिक सम्पदाहरुको पुनर्निर्माणको लागि नयाँ कार्यविधि लागु गरेपछि त्यसलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको गुम्वा ब्यवस्थापन समितिले लागु गराउन नसक्दा देशभर गुम्बा पुनर्निर्माणमा समस्या भएको छ। गुम्वा विकास समितिले कार्यविधि पठाएपछि धेरैजसो गुम्वाहरुले नक्सा पनि बनाइसकेको कतिपयले काम नै सुरु गरिसकेको अवस्थामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ कार्यविधि ल्याएर भाँजो हालेको गुम्वा व्यवस्थापन समितिहरुले बताएका छन्।  

क्षतिग्रस्त गुम्वा तथा विहारहरुका पुनर्निर्माण गुम्वा विकास समिति मार्फत हुनुपर्ने, यसअघि बनाइसकिएका गुम्वाहरुलाई पनि अनुदान दिइनुपर्ने तथा पुरानो कार्यविधिहरु अनुसार धेरै गुम्वाहरुको नक्साङकन भइसकेकाले त्यसले मान्यता पाउनुपर्ने लगायतका मागहरु राखेर गुम्वा संचालक समितिहरु आन्दोलित भएकाले पनि दाताले दिएको पैसाको कुनै सदुपयोग हुन नसकेको हो।

प्रकाशित: २६ फाल्गुन २०७७ ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App