२४ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

केरुङमा एक वर्षदेखि रोकिएका ११ जना नेपालीलाई नेपाल ल्याइयो

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङबाट मंगलबार नेपाल ल्याइएका ११ जना नेपाली । तस्बिर : नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल आउन नसकेका ११ जना नेपालीलाई मंगलबार नेपाल ल्याइएको छ।  

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा एक वर्षदेखि रोकिएका उनीहरूलाई नेपाल ल्याइएको हो । रसुवागढी अध्यागमन कार्यालयको सम्पर्कमा आएका उनीहरूलाई एक महिनाको प्रयास पछि नेपाल ल्याइएको कार्यालय प्रमुख एकनारायण भण्डारीले बताए। ‘अहिले हामीले नेपाल ल्याएका नेपालीहरू त्यहाँ अलपत्र परेका थिएनन्’, उनले भने, ‘तर नाकामा आवतजावतका लागि अनुमति नदिँदा उनीहरू नेपाल फर्कन सकेका थिएनन्।’  

करिब २ वर्षदेखि त्यहाँ विभिन्न व्यवसाय सञ्चालन गरेर बसिरहेका उनीहरूले एक महिनाअघि कार्यालयले नेपाल फर्काइदिन अनुरोध गरेका थिए। उनीहरू केरुङमा सिलाई, सुन पसल, सुपर मार्केट, गेष्ट हाउसमा काम गर्ने तथा आफैँले व्यवसाय गर्दै आएका छन्।  

मंगलबार नेपाल फर्कनेमा रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले, पर्साका रजन राम, रोहितकुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ रहेका छन्। त्यस्तै बाराका रामबहादुर महत्तो, मुकेशप्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका छन्। बुधबार थप एक जना नेपाली आउने छन्।  

कन्सुलर विभाग मार्फत ल्हासाको महावाणिज्य दुतावाससँग समन्वय गरेर नेपाल फर्काइएको उनको भनाइ छ। २०७६ माघ १५ गतेदेखि नाकाबाट मान्छेको आवतजावत हुन सकेको छैन। चीनबाट आउने सामग्री पनि चिनियाँ गाडीले नेपाली भूभागमा ल्याएर झारिदिने गरेको छ। रसुवाका नागरिकले केरुङसम्म आवतजावत गर्न तथा त्यहाँ व्यवसाय समेत सञ्चालन गर्न पाउने भएकाले त्यहाँ बस्ने नेपालीको संख्या धेरै थियो। कोभिड–१९ देखिनुअघि रसुवागढी अध्यागमन कार्यालयले ९ हजार ८ सय ४५ जनालाई नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) उपलब्ध गराएको देखिन्छ। एक पटक पास बनाएपछि एक वर्ष त्यहीँ गएर बस्न पाइन्छ।  

रोजगारीका लागि प्रचुर सम्भावना रहेको केरुङ जानका लागि कार्यालयले २०७२ असोज २८ गतेदेखि पास जारी गर्न थालेको थियो। त्यसअघि जिल्ला प्रशासन कार्यालयबाट पास लिने व्यवस्था थियो। कम खर्चमा धेरै आम्दानी हुने, आवतजावत गर्न सहज र राहदानी बनाउनुपर्ने झन्झट नहुने भएपछि पछिल्लो समय त्यहाँ जानेको सङ्ख्या बढेको थियो। एक वर्षअघि केरुङमा करिव एक हजार नेपाली कार्यरत थिए।  

त्यहाँ रहेका नेपालीमध्ये अधिकांसले होटल, डान्सबार, ट्रान्सर्पोट र ब्लक निर्माण लगायतका क्षेत्रमा कार्य गर्दै आएका थिए। केरुङमा आधा दर्जन जति नेपाली होटल सञ्चालनमा रहेको थियो।

प्रकाशित: २६ फाल्गुन २०७७ ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App