१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मेरिङ्देनद्वारा दोभान बजारका अग्नि पीडितलाई प्राप्त राहत र वितरणको अवस्था सार्वजनिक

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दोभान बजारमा अग्नि पीडितका लागि हालसम्म प्राप्त भएको राहत र वितरण भएको परिमाण सार्वजनिक गरेको छ। गाउँपालिकाले आफ्नो विपद् व्यवस्थापन कोषबाट प्रति परिवार १५ हजारका दरले ९ लाख रुपैयाँ आपतकालिन राहत वितरण गरेको छ। यस्तै गृह जिल्ला प्रशासन कार्यालयमार्फत ५ जनाभन्दा बढी परिवार संख्या भएका पीडित परिवारलाई जनही १५ हजार र ५ जनाभन्दामाथि परिवार संख्या भएकालाई प्रति परिवार २० हजार रुपैयाँ गरेर ९ लाख ५५ हजार रुपैयाँ वितरण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयले १० लाख ५५ हजार रुपैयाँ वितरण गर्ने गरी योजना बनाएको जिल्ला प्रशासन कार्यालयका लेखापाल शान्तिराम रेग्मीले जानकारी दिए। यस्तै गाउँपालिकामार्फत तेह्रथुमको आठराइ गाउँपालिका तथा संक्रान्ति बजारस्थित व्यवसायी र कर्मचारीहरुबाट संकलित ३ लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई नगदै प्रदान गरिएको समेत मेरिङ्देन गाउँपालिकाले जनाएको छ। तेह्रथुमको आठराइ गाउँपालिकाले ६ हजार १ सय ५० रुपैयाँ भने मेरिङ्देन गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरेको जनाएको छ। यो राहत रकममार्फत ५ जनाभन्दा बढी संख्या भएका पीडित परिवारले प्रति परिवार ८ हजार र ५ वा सो भन्दा कम संख्या हुने परिवारले प्रति परिवार ५ हजार रुपैयाँका दरले राहत रकम बुझेका छन्।  

यस्तै गृह मन्त्रालय विश्व खाद्य कार्यक्रम अन्र्तगत प्रदेश सरकारबाट फेमेली टेन्ट ५० थान, ठूलो ब्लाङ्केट ७० थान, चामल १ हजार ८ सय किलोग्राम, दाल ५ सय किलोग्राम, आयोनुन १ सय २० किलोग्राम, म्याट्रेस ५ रोल, सोयाबिन ६० किलो र खानेतेल १ सय २० लिटर पीडित परिवारलाई प्रदान भएको छ। प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईमार्फत दुहवी सुनसरीका सुमन भट्टराईले ६ सय किलोग्राम चामल, ५ सय किलो दाल, १ सय लिटर खानेतेल, १ सय कार्टुन चाउचाउ र १ सय किलो आयोनुन समेत पीडित परिवारलाई प्रदान भएको गाउँपालिकाले जानकारी दिएको छ। यस्तै ताप्लेजुङ उद्योग बाणिज्य संघले पीडित परिवारलाई दाल, चामल, चिउरा, लुगा धुने तथा नुहाउने साबुन, चिनी, आलु, बेसार धुलो, बाह्र मसला, चाउचाउसहितका सामग्री र नेपाल रेडक्रस सोसाईटीले ६० पीडित परिवारका लागि म्याट्रेस, त्रिपाल, बाल्टिन लगायतका भाडा सेट प्रदान गरेको छ। मेवाखोला हिल रिर्सोट प्रालिले ५७ परिवारलाई राहत सामग्री दिएको गाउँपालिकाले जनाएको छ।

प्रदेश इसाइ समाजको क्विक रेस्पोन्स टिमले ५०–५० थान त्रिपाल र ब्लाङ्केट तथा ३० थान जर्सी दिएको जनाएको छ। झापास्थित गौरादह फर्निचर उद्योगले आतकालिन राहत स्वरुप भुजा, चिउरा लगायतका आपतकालिन खाद्य सामग्री वितरण गरेको समेत गाउँपालिकाले बिज्ञप्तीमार्फत जानकारी दिएको छ। मेरिङ्देन गाउँपालिकाले सञ्चालनमा ल्याएको विपद् व्यवस्थापन खातामा प्रतिनिधिसभाका सांसद भट्टराईले ५ लाख, फिदिम स्र्पोटिङ क्लव पाँचथरले १ लाख ५ हजार, प्रदेश सांसद होमकुमारी साँवाले ५० हजार रुपैयाँ र मिङ्मानोर्बु शेर्पाले १ हजार १ सय रुपैयाँ जम्मा गरेका छन्।  

यस्तै स्वावलम्बन लघु बित्त बित्तीय संस्था लिमिटेडले आफ्नो संस्थामा आबद्ध भएका ११ अग्नि पीडित परिवारलाई जनही २ हजार रुपैयाँका दरले २२ हजार रुपैयाँ वितरण गरेको संस्थाका शाखा प्रवन्धक मणिराज चेम्जोङले जानकारी दिए। यस्तै स्वदेशी लघुवित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले समेत ६३ अग्नि पीडित परिवारलाई कराइ, कुकर, डाडु, पन्युसहितका भान्छामा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको शाखा प्रवन्धक सरोज भट्टराईले जानकारी दिए।

प्रकाशित: २३ फाल्गुन २०७७ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App