८ वैशाख २०८१ शनिबार
समाज

खानेपानी संस्थान बोर्डमा मर्ज गरेको विरोधमा धरान उपमहानगर घेराउ, प्रहरी र प्रदर्शनकारीबीच झडप

खानेपानी संस्थान बोर्डमा मर्ज गरिएको विरोधमा बिहीबार उपमहानगरपालिका अघि प्रदर्शन गर्दै संघर्ष समिति । तस्बिर : रोहित राई

नेपाल खानेपानी संस्थानको धरानस्थित शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको विरोधमा धरानमा प्रदर्शन भएको छ।  

दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको अगुवाईमा बिहीबार उपमहानगरपालिका घेराउ तथा विरोध प्रदर्शन भएको हो। त्यसक्रममा संघर्ष समिति र प्रहरीबीच उपमहानगरको गेटमा केहीबेर झडपसमेत भयो। संघर्ष समितिले विगतदेखि नै संस्थानलाई बोर्डमा मर्ज गर्न नहुने भन्दै आन्दोलन गर्दै आएको थियो। शहरी विकास आयोजनाअन्तर्गतको धरान खानेपानी उपआयोजना असफल भइसकेको दाबी गर्दै संघर्ष समितिले बोर्डले माग वमोजिम पानी वितरण गर्न नसक्ने बताउँदै आएको छ।  

बुधबार मात्रै बोर्डका अध्यक्षसमेत रहेका धरानका मेयर तिलक राईले संस्थानको शाखा कार्यालयको सम्पत्ति, दायित्व र जिम्मेवारी बोर्डले जिम्मा लिएको जानकारी गराएका थिए। उनले अब संस्थानको संरचनाहरु बोर्डमातहत आएको र खानेपानी वितरणको जिम्मेवारी पनि बोर्डको भएको बताएका थिए। यसको चौबिस घण्टा पनि नबित्दै बिहबार विरोध प्रर्दशन भएको हो । संघर्ष समितिका संयोजक हर्क साम्पाङ नेतृत्वमा विभिन्न ७ बुँदे मागसहित मेयर राई र उपमेयर मञ्जु भण्डारी सुवेदीलाई ज्ञापन पत्र बुझाउन नगरवासीहरु गएका थिए। तर, मेयर र उपमेयर दुवै कार्यालयमा नभएको भन्दै ज्ञापन पत्र बुझ्न नआएपछि आन्दोलनकारीहरु जबर्जस्ती उपमहानगरभित्र प्रवेश गर्न खोजेका थिए। त्यसक्रममा प्रहरीसँग झडप भएको थियो।

संघर्ष समितिका संयोजक साम्पाङले अर्बौं रुपैयाँ खर्च भए पनि खानेपानी आयोजना फेल भएकोले नगरवासीलाई पानी वितरण गर्न नसक्ने बताए। उनले भने,‘आयोजना फेल भइसकेकोले बोर्डले पानी वितरण गर्न सक्दैन। त्यसैले संस्थानलाई यथावत राख्नुपर्छ भनेका हौं। हाम्रो आन्दोलन अब झन् चर्किन्छ।’ समितिले २०७२ सालमै अइयुडिपीले १० हजार र १५ हजारको दरले पैसा उठाएको तर हालसम्म पनि धारा र पानी वितरण नगरेकोले धारा वितरण गर्न वा पैसा फिर्ता गर्न माग गरेको छ।  

यस्तै, आइयुडिपी आयोजनाले सम्झौता वमोजिम खानेपानी उत्पादन भएको प्रमाणित गर्नुपर्ने, संस्थानकै सरकारी दरमा धारा जडान शुल्क र मासिक महशुल लगाउनुपर्ने, आयोजनाको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, आयोजनाको डिजाइनबाहेक थप गरिएको २ वटा वेलहरु भासिनुको कारण छानबिन गर्नुपर्नेलगायत मागहरु संघर्ष समितिको रहेको छ। बोर्डले भने आयोजनाले लक्ष्यभन्दा बढी पानी उत्पादन गरेको दाबी गरेको छ। बुधबार पत्रकार सम्मेलनमा मेयर राईले चारकोशे जंगलस्थित ४ वटा वेलबाट ७० लाख लिटर र उदय वन समूहमा रहेको वेलबाट थप ३० लाख गरि प्रतिदिन १ लाख लिटर पानी उत्पादन भइरहेको बताएका थिए। आयोजनाले ९२ लाख लिटर प्रतिदिन पानी उत्पादन गर्ने लक्ष्य राखिएको थियो। धरानको खानेपानीको समस्या समाधान गर्ने लक्ष्यसहित शुरु भएको आयोजना हाल परीक्षण भइरहेको छ।

प्रकाशित: २० फाल्गुन २०७७ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App