१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘मदन भण्डारी सभा भवन’को निर्माण तत्काल सक्न माग

बजेट अभावमा अलपत्र परेको ‘आइकन प्रोजेक्ट’ मानिने निर्माणाधीन सभा भवनलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न स्थानीयले आग्रह गरेका छन्। उदयपुर मात्र नभएर १ नम्बर प्रदेशकै ठूलो र महत्वपूर्ण मानिएको गाईघाटमा निर्माणाधीन ‘मदन भण्डारी सभा भवन’ छिटो सक्न आवश्यक बजेटको व्यवस्था गर्न स्थानीयले आग्रह गरेका हुन्।  

भवनको हालसम्मको प्रगति निरीक्षण तथा अवलोकन गर्न मंगलबार गाईघाट आएका सघन सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी (डिजी) नेतृत्वको प्राविधिक टोलीलाई स्थानीयले चाँडो भवन सक्न बजेटको माग गरेका छन्।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियारले प्रदेशकै महत्वपूर्ण र ठूलो भवन निर्माण अधुरो रहेकाले तत्काल बजेट व्यवस्था गरेर सुचारु गर्न जोड दिएका हुन्। ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लिएको सरकारले यस्ता योजना कुनै अधुरो र अपुरो राख्न नहुने भन्दै परियारले डिजी भण्डारीलाई प्राथमिकताभित्र पारेर एक वर्षभित्रै बजेट तर्जुमा गरी भवन सक्न जोड दिए।

पूर्वमन्त्री तथा संविधानसभा सदस्य मञ्जु चौधरीले आफू मन्त्री भएकै बेला निर्माण सुरु गरेको भवन अधुरो रहेको देख्दा दुःख लागेको बताइन्। जमिन विवादको मुद्दा सर्वोच्च अदालतसम्म खेप्नुपर्दा ६ महिना ढिला काम थाल्नुपरेको स्मरण गर्दै पूर्वमन्त्री चौधरीले उदयपुरलाई चिनाउने योजनामध्येको भवन सम्पन्न गर्न सरकारले महत्वका साथ बजेट दिनुपर्ने सुझाइन्।  

निर्माण व्यवसायी योगराज बस्नेतले गाईघाटको मात्र नभएर जिल्लाकै आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रसँग जोड्ने योजना निकै महत्वपूर्ण भएकाले सरकारले पहिलो प्राथमिकतामा राखेर बजेट दिन माग गरे। त्रियुगा नगरपालिका–१२ का वडाध्यक्ष जयविक्रम राईले स्थानीय तह पुनर्संरचनापछि सदरमुकामबाट धेरै मान्छे गाउँ फर्कन थालेकोमा निर्माणाधीन सभा भवनले गाईघाटको साख फर्काउँदै प्रदेश राजधानीसँग सम्बन्ध स्थापित गरेको बताए। यस्तो महत्वपूर्ण योजना सक्न बजेट अभावको बहानामा काम ढिला गर्न सरकारलाई नसुहाउने उनको भनाइ छ।  

काम रेखदेखको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख सुरेन्द्रकुमार साहले २०७३/७४ देखि सुरु योजनालाई आवश्यक बजेट अभाव भएकैले काम रोकिएको बताए। मूल्य अभिवृद्धि करसहित २४ करोड ७१ लाख ७३ हजार ३ सय ६० रूपैयाँमा हालसम्म २४ करोड ९ लाख खर्च भइसकेको उनले जानकारी दिए।

पहिलो फेजअन्तर्गत झन्डै ७० प्रतिशत काम सकिएको र बाँकी काम गर्न झन्डै २० करोड रूपैयाँ चाहिने साहले बताए। तर भेरिएसनपछि मात्र कति रकम लाग्छ भन्ने यकिन हुने साहले जनाए। साइट इन्चार्ज इन्जिनियर ब्रह्मदेव चौधरीले १ हजार ५ सय क्षमताको ठुलो र ५ सय अट्ने सानो गरी दुई सभाकक्ष बन्ने भवनको काम आवश्यक बजेट भए ६ महिनाभित्रै सकिने बताए।

भवनका प्रायः संरचना लगभग सकिँदै गएको र अब झ्यालढोका र छानो हाल्ने, विद्युतीकरण र वाइरिङ, पेन्टिङजस्ता काम मात्र बाँकी रहेको उनले जानकारी दिए। इन्जिनियर चौधरीका अनुसार भवनपरिसरमा निर्माण गरिने बगैंचा र चमेनागृह भने छुट्टै बजेट र प्राविधिक इस्टिमेट गर्नुपर्नेछ।

विभागका महानिर्देशक भण्डारीले हालसम्मको निर्माण प्रगति उत्साहजनक भएको भन्दै बजेट अभावमा काम रोकिनुमा कोभिड महामारी मुख्य कारण भएको बताए। भवन सक्न चाहिने बजेट व्यवस्था गर्न विभाग फर्केलगत्तै तालुक मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग कुरा गर्ने भन्दै भण्डारीले त्यसका लागि साता दिनभित्र परिमार्जित प्राविधिक इस्टिमेट विभागमा पठाउन आयोजना कार्यालयलाई निर्देशन दिए। राज्यको करोडौं लगानी भएको योजनाको महत्व स्थानीय सरोकारवालाबाट थाहा पाएकाले सकेसम्म आउँदो असारभित्रै बजेट व्यवस्था गरेर अर्को वर्ष मध्यतिर निर्माण सक्ने गरी लागी पर्ने प्रतिबद्धता डिजी भण्डारीको छ।  

प्रकाशित: २० फाल्गुन २०७७ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App