१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

६ लेन सडकले फेरिँदै वीरगन्ज

पहुँच

मुलुकको प्रमुख व्यापारिक मार्ग ‘वीरगन्ज–पथलैया सडक’ ६ लेन निर्माणको अन्तिम चरणमा पुगेको छ। ६ दशकअघि बनेको सडकको साँघुरो संरचनाले सहरको आवागमन र मुलुकको ६० प्रतिशत बढी व्यापारिक कार्गोको ढुवानी धान्दै आएकोमा अबको केही महिनाभित्र वीरगन्ज क्षेत्रले आधुनिक स्तरका २ वटा मार्ग पाउने भएको छ।  

२०७३ असार ३० मा सम्झौता भएर साउनदेखि ६ वटा खण्डमा यस सडकको निर्माण थालिएको थियो। योजनाअनुसार ६ लेन सडक तयार भएपछि बीचमा हरियालीसहितको ‘डिभाइडर’ को दुवैतर्फ तीन/तीन लेन बाटो हुनेछ। पथलैयास्थित योजना कार्यालयका अनुसार डिभाइडरको दायाँबायाँ तीन/तीन मिटरका दुई/दुई लेन हुनेछन्। मूल सडकको संरचनाबाहेक दुवैतर्फ अर्को पाँच मिटर चौडाइको सर्भिसलेन राखिएको छ। सबै ६ लेन गरेर ५० मिटर चौडा यो सडक बनेपछि वीरगन्ज क्षेत्रको मुहार फेरिने स्थानीयको भनाइ छ।  

संरचना बनेर ८० प्रतिशत बढी तयार भएपछि आर्थिक तथा व्यापारिक नगरी वीरगन्ज र यहाँस्थित औद्योगिक करिडोरको मुहार फेरिन थालेको सरोकारवालाले बताएका छन्। यस सडकले नेपालको अर्थतन्त्रमा समेत टेवा पु¥याउने उद्योगी व्यवसायी बताउँछन्।  

सो सडक वीरगन्जको आइसिपी (इन्टरग्रेटेड चेक पोस्ट) देखि पथलैयासम्म करिब २८ किलोमिटरको हुनेछ। यस सडकले ‘आइसिपी’बाट सञ्चालित देशको प्रमुख भन्सार नाका वीरगन्ज भन्सारलाई जोडेको छ। त्यस्तै रेलमार्फत भारतीय बन्दरगाह हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गसँग नेपाललाई सम्पर्क गराउने एक मात्र संरचना सिर्सिया सुक्खा बन्दरगाहलाई पनि यसले सँगसँगै जोडेको छ। यसले पर्सा–बारा औद्योगिक करिडोर अनि आर्थिक व्यापारिक नगरी भनिएको वीरगन्ज महानगरपालिकालाई देशको अन्य भागसँग सहज सम्पर्क गराउँदै छ। अर्को परवानीपुर बाइपास चोकदखि बहुअरी गण्डक चोकसम्म चार किलोमिटर सडकखण्ड यसै योजनाअन्तर्गत चार लेनको बनाइँदै छ।

६ लेन सडक वीरगन्जको आइसिपि (इन्टरग्रेटेड चेक पोस्ट) देखि पथलैयासम्म करिब २८ किलोमिटरको हुनेछ। यस सडकले ‘आइसिपी’बाट सञ्चालित देशको प्रमुख भन्सार नाका वीरगन्ज भन्सारलाई जोडेको छ। त्यस्तै रेलमार्फत भारतीय बन्दरगाह हुँदै अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गसँग नेपाललाई सम्पर्क गराउने एक मात्र संरचना सिर्सिया सुक्खा बन्दरगाहलाई पनि यसले सँगसँगै जोडेको छ।

व्यापारिक मार्ग विस्तार योजनाअन्तर्गत तीन किसिमका संरचना निर्माणका काम हुँदै छन्। पहिलो पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि दक्षिणतर्फ आउने त्रिभुवन राजपथमा ‘पर्साको लिपनीविर्ताको परवानीपुरसम्म जोड्दै त्यहाँदेखि नयाँ बाइपास हुँदै अलौंस्थित भन्सार नाका ‘इन्टरग्रेटेड चेक पोस्ट’ (आइसिपी) सम्म ६ लेनको आधुनिक सडक बनाउने छ। दोस्रो पारवानीपुर बाइपास चोकयता बहुअरीसम्म त्रिभुवन राजपथको खण्डमा चार लेनको त्यस्तै सडक बनाउने हो। तेस्रो दुवै सडकखण्डमा पर्ने पुलको निर्माण गर्ने हो। व्यापारिक मार्ग विस्तार आयोजनाको पथलैयास्थित कार्यालयका योजनाप्रमुख मनीषकुमार साहका अनुसार अहिले समग्रमा करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ।  

नेपालमा सवारीसाधन न्यून संख्यामा रहेको बेला सन् १९५९ मा बनेको त्रिभुवन राजपथको संरचनाले अहिलेसम्म धानिँदै आएकोमा अब करिब ६० वर्षपछि सडकले मुहार फेर्न लागेको हो। पथलैया–आइसिपी ६ लेन सडकमा रहेका अवरोध फुकाउने काम भइसकेकाले त्यसमा द्रुत रूपमा काम अगाडि बढेको साहले बताए। आउँदो असार मसान्तभित्र त्यसको काम सम्पन्न भइसक्ने उनले दाबी गरे। ६ लेन योजनाकै सहायक योजना रहेको परवानीपुर–बहुअरी सडकखण्ड ४ लेनमा करिब ७० प्रतिशत भौतिक प्रगति भएको छ। यसमा सडक निर्माणका लागि जग्गा छुट्याउनमा निकै समय लागको थियो। यस कारणले ढिलो काम थालिएको हो। यी सडकखण्डमा पर्ने पुलमा ७० देखि ८० प्रतिशतसम्म भौतिक प्रगति भएको योजना प्रमुख साहले बताए।  

‘योजनाअन्तर्गत १३ वटा प्याकेजमा काम भइरहेका छन्। यसमध्ये ११ वटा प्याकेजका काम आउँदो असारभित्रै सम्पन्न हुनेछ,’ साहले नागरिकसँग भने, ‘सडकको कुरा गर्ने हो भने समग्रमा ३२ किलोमिटर सडक बन्न लागेको हो, यसमध्ये समस्याग्रस्त रहेको १० किलोमिटरबाहेक २२ किलोमिटर सडक असारभित्र पूर्ण रूपमा तयार हुन्छ। पुलहरू ३ वटा छन्, त्यसमा पनि सन्तोषजनक प्रगति छ, असारभित्र सकिने आशा छ।’ गण्डक नहरमाथि योजनाअन्तर्गत बनाउन लागिएको ‘बक्स कल्भर्ट’ खेतीकिसानीको सिजनमा सिँचाइको आवश्यकता हेरेर रोकिए पनि अब भने त्यसको काम द्रुत रूपमा बढ्ने साहले बताए। ‘यो योजना भनेको यस क्षेत्रका लागि मात्र होइन, समग्र नेपालकै लागि एउटा महŒवपूर्ण योजना हो,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य एवं वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहेका सुबोध गुप्ताले भने, ‘यसको निर्माण चाँडोभन्दा चाँडो सम्पन्न होस् भन्ने सबैको चाहना छ।  

हामी अहिले नै परिवर्तन महसुस गरिरहेका छौं। पूर्ण रूपमा यसको निर्माणकार्य पूरा भएपछि साँच्चैको वीरगन्ज क्षेत्रले एउटा ठूलो उपलब्धि हासिल गर्ने छ।’ ठेक्का हुँदा २ वर्ष निर्माण अवधि तोकिएको थियो। अवरोधका कारण योजना पछाडि धकेलिँदै गयो। विभिन्न १३ वटा बेग्लाबेग्लै प्याकेजमा ठेक्का भई काम थालिएकोमा २ वटा प्याकेजमा निर्माण कम्पनीको ढिलासुस्तीसमेतले योजना पछाडि धकेलिएको योजना कार्यालयका इन्जिनियर बताउँछन्।  

ढिलाइ र समस्या

विभिन्न बाधाव्यवधानले गर्दा योजना निर्माणमा ढिलाइ भएको बताइएको छ। निर्माण कम्पनी र व्यापारिक मार्ग विस्तार आयोजनाबीच ६ लेन निर्माण सम्झौताका दौरान तोकिएको समय दोब्बरभन्दा पनि नाघेको छ। यसबीच पटकपटक म्याद थप गरिएको देखिन्छ। विभिन्न समस्याले गर्दा समयावधि पछाडि धकेलिँदै गएको योजना कार्यालयले जनाएको छ। योजनामा परेका पर्सा राष्ट्रिय निकुञ्जका रुख, विद्युत् प्राधिकरणका ट्रान्सफर्मर तथा खम्बा, सडकमा परेका निजी घरटहरा हटाउनमा समय लागको योजना कार्यालयको तर्क छ।

यसअन्तर्गत पथलैया र सिमराबीच पर्सा राष्ट्रिय निकुञ्जको केही भाग परेकाले त्यहाँ रहेका रुख हटाउन मन्त्रालयसम्म समन्वय गरेपछि ठाउँ खाली हुन पाएको छ। त्यस्तै विद्युत् प्राधिकरणको विद्युत्का खम्बा हटाउनमा कठिनाइ थियो। सडकमा परेका निजी घरटहरा हटाउने चुनौती पूर्ण कार्य पनि सकिएको इन्जिनियर यादवले बताए। देशको सबैभन्दा बढी व्यापारिक पारवहन र यातायात चल्ने यो सडक निर्माण चाँडो सम्पन्न होस् भन्ने सुरुदेखि अपेक्षा गरिएको भए पनि ढिलाइ हुन गएको हो। ‘विभिन्न चुनौतीले गर्दा तोकिएको समयावधि केही पछाडि धकेलिएको हो,’ योजनाप्रमुख साहले भने, ‘अहिले भने अरू ठाउँमा खासै समस्या छैन। सिमरास्थिगत सूर्य नेपाल कम्पनीको गेटदेखि जितपुर बजार हुँदै आर्मी ब्यारेकसम्मको प्याकेज नम्बर ५ मा अहिले पनि समस्या देखिएको छ। त्यस्तै प्याकेज नम्बर १ भनिएको परवानीपुर बाइपास चोकदेखि आइसिपीतर्फ करिब चार किलोमिटर खण्डमा समस्या रहेको छ।’  

काममा ढिलाइ गर्ने र पटकपटकको छलफलमा सुधार भएर काम गर्ने बताएका ठेकेदारउपर योजना कार्यालयले कारबाही अगाडि बढाएको छ। प्याकेज १ का ठेकेदार ‘एएमआर पप्पु कमटेक’ संयुक्त हो भने प्याकेज ५ को ठेकेदार ‘शर्मा युनाइटेड दिवा’ संयुक्त हो।

परवानीपुर–बहुअरी ४ लेन

योजनाअन्तर्गत बनिरहेको पारवानीपुरदेखि गण्डक चोकसम्मको चार लेन सडकखण्डमा पनि प्रगति बढेको छ। परवानीपुर–गण्डक बहुअरीसम्मको चार लेन सडक निर्माण २०७५ पुसदेखि सुरु भएको थियो। त्रिभुवन राजपथको हालको सडकको मध्यबिन्दुबाट २५/२५ मिटर दायाँ–बायाँ जग्गा खाली गराउनमै एक वर्षभन्दा बढी समय लाग्यो। जग्गा खाली गराएर काम गर्ने ‘साइट’ तयार गर्नमै समस्या देखिएपछि यो योजनामा अलमल थियो। अब भने अलमल हटेको योजना कार्यालयले जनाएको छ। यस सडकखण्डमा पनि ठाउँ खाली गराउने काम सकिएलगत्तै भौतिक प्रगतिमा सुधार देखिएको छ।  

यस सडकबीच चार मिटरको हरियालीसहित ‘डिभाइडर’, दायाँ–बायाँ साढे ३ मिटरका २/२ वटा लेन बन्दै छन्। त्यस्तै सडकको दुवै किनारमा ४/४ मिटरको फुटपाथ बनाइँदै छ डिभाइडरभन्दा दायाँ र बायाँ सडकको चौडाइ करिब ११ मिटर रहने जनाइएको छ। ‘वीरगन्ज पथलैया सडकखण्ड देशकै लागि महत्वपूर्ण हो। नेपालको ६० प्रतिशत व्यापार हुने वीरगन्जस्थित ३ नाका साबिक वीरगन्ज भन्सार, आइसिपी र सुक्खा बन्दरगाहलाई जोड्ने सडकखण्ड हो यो,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले भने, ‘यस सकखण्डको सेरोफेरोमा देशका ६ सय बढी ठूलासाना उद्योग छन् त्यसकारण हामी भन्दै आएका छौं कि यस सडकले नेपालकै अर्थतन्त्रमा समेत टेवा पुर्‍याउने छ।’ सडकको संरचना उद्योगमैत्री बनाउन संघले सुरुदेखि माग गर्दै आएकोमा योजनाका अधिकारीले वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकरीसँगसमेत छलफल गरी यसलाई अन्तिम स्वरूप दिन लागेका छन्।  

अन्तरदेशीय नाका र यातायात सञ्जाल जोड्ने सडकहरूको विकास, विस्तार र सुदृढीकरण गर्न तथा कृषि, उद्योग, व्यापार, जलविद्युत्, पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउनेगरी यातायात विस्तार गर्ने कार्यमा सहयोग गर्छ भनी व्यापारिक मार्ग योजना निर्देशनालयले जनाएको छ। साथै यसले आर्थिक वृद्धिलाई योगदान पुग्नेगरी सुरक्षित यातायात पहुँच र सुविधा विस्तारमा टेवा पुर्‍याउने निर्देशनालयले भनेको छ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App