१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेवातालको माटो निकाल्न थालियो

नेपालकै पर्यटकीय केन्द्र पोखराको मुटु मानिने फेवातालको गहिराइ बढाउन सुरु गरिएको छ । फेवातालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाएको मौका पारेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, बृहत् जलाधार व्यवस्थापन कार्यालय, पोखरा महानगरपालिका, जलाधार व्यवस्थापन कार्यालय तनहुँ र ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा आजदेखि फेवातालबाट माटो निकाल्न सुरु गरिएको हो । फेवातालको तल्लो क्षेत्रमा पर्ने फिर्केखोलाबाट आएर थिग्रिएको माटो निकालेर फेवातालबाट माटो निकाल्ने अभियानको मंगलबार बिहान शुभारम्भ गरियो । शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख अनुप गुरुङलगायतको उपस्थितिमा अभियानको शुभारम्भ गरिएको थियो ।

फेवातालमा मिसिने फिर्केखोलाबाट सुरु भएको माटो निकाल्ने अभियान चिसाखोलाहुँदै हर्पनखोला, खहरेखोलासम्म पुग्नेछ । जहाँ ती खोलाहरूले बगाएर ल्याएको ढुंगा, गिट्टी, बालुवालगायतका गेग्रान थुप्रिएर बसेको छ । निकालिएको माटो नजिकै रहेको दबेको क्षेत्र तथा खाल्डाखुल्डी पुरिने जनाइएको छ ।

फेवातालबाट १५ हजार घनमिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको माटो ठाउँअनुसार कहीँ एक डेढ मिटर त कहीँ ४ मिटरसम्म माटो निकाल्ने तयारी गरिएको माटो निकाल्न बनेको फेवातालको माटो व्यवस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए । यसका लागि १ करोड ३३ लाख खर्च लाग्ने लागत अनुमान गरिएको उनको भनाइ छ । ‘एक्साभेटरको प्रयोग गर्दा करिब २५ लाखमै हुने हो, उनले भने, तर फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नसकिने भएकाले मान्छेको प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खर्च बढ्छ,’ उनले भने ।  

प्रदेश सरकार, महानगर वा ताल संरक्षण तथा विकास प्राधिकरणसँग बजेट नभएपछि कोमागाने पार्क सौन्दर्यकरणका लागि छुट्याएको २० लाखमध्ये ५ लाख निकालेर काम सुरु गरिएको संयोजक श्रेष्ठले बताए । त्यसपछि फेवा जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको रकम पनि तानेर फेवातालको माटो निकाल्न प्रयोग गरिने उनको भनाइ छ । त्यसका अलावा तनहुँ जलाधार क्षेत्र संरक्षणका लागि छुट्याएको करिब ३ लाख रकमसमेत माटो निकाल्न प्रयोग गरिने उनले बताए ।

माटो निकाल्नका लागि कुनै पनि तहले बजेट विनियोजन नगरेकाले अहिले तानतुन गरेर काम गर्नुपरेको श्रेष्ठले जानकारी दिए । तर प्रदेश सरकारले फागुन मसान्तसम्ममा काम शुरु नगरेका योजनाहरूको बजेट रकमान्तर गरेर माटो निकाल्नका लागि निकासा गरिदिने आश्वासन दिएको छ । उसो त फेवातालको स्वामित्व रहेको पोखरा महानगरपालिकाले पनि बजेट दिने आश्वासन दिएको छ । तर बजेट नछुट्टिएकाले योजना कार्यान्वयनमा नगएका योजनाको बजेट रकमान्तर गरेर ५० लाख जति दिने आश्वासन दिएको संयोजक श्रेष्ठले बताए । त्यस्तै, सिंचाई डिभिजन कार्यालयलेपनि आफूसँग बजेट नभएपनि तानतुन पारेर बजेट दिने आश्वासन दिएको छ । 

माटो निकाल्ने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले अहिले निकालिएको माटो फेरि खसेर ताल पुरिने अवस्था आउन नदिइने प्रतिबद्धता व्यक्त गरे । अहिले निकालिएको माटो नजिकैको दबेको क्षेत्र तथा खाल्डाखुल्डी पुरिनेछ, उनले भने, ‘त्यसपछि बाँकी रहेको माटोले माछापुच्छ्रे, अन्नपूर्ण, सगरमाथालगायतका ८ हजार मिटरभन्दा माथिका हिमालहरूको आकृति बनाइन्छ ।’ ती हिमाल आकृतिमा दुवो रोपेर हरियाली बनाउने र पछि फेवातालमा फुटट्र्याक निर्माणका बेला सोही माटो प्रयोग गरिने उनको भनाइ छ । ‘फेवाताल जोगाउने अभियान हो यो,’ उनले भने, ‘यो अभियानसँगै फेवाताल जोगाउन सरकार लागिपरेको छ, फेवाताल जोगाउन पोखरेली उठे है भन्ने सन्देश दिनु पनि हो ।’ उनले जनताले प्रश्न उठाउन नसक्नेगरी काम गर्न निर्देशन पनि दिए ।

यसअघि बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिकस्तरबाट फेवाको गहिराइ बढाउनुपर्ने आवाज उठेको थियो । नागरिकस्तरबाट आवाज उठेसँगै संघसंस्थाले दवाब बढाएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमांकन तथा नक्सांकन समिति, सिँचाइ डिभिजन कार्यालयलगायतका सरोकारवालाको बैठकले फेवातालबाट माटो, ढुंगा, गिट्टी, बालुवा निकाल्ने निर्णय गरेको हो ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App