१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

इटहरीमा ३० करोडको लगानीमा सञ्चालित मनोरञ्जन पार्कको उद्घाटन

पूर्वकै केन्द्रमा पर्ने इटहरी वडा नं. २ मा ३० करोडको लगानीमा इपी ल्याण्ड एन्ड वाटर पार्कको सोमबार विधिवद् उद्घाटन गरिएको छ। पार्कको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले गरेका हुन्।  

६ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क अघिल्लो वर्ष चैतदेखि (२०७६) नै सञ्चालनमा ल्याउने योजना रहेपनि कोरोना महामारीले गर्दा झन्डै वर्षदिन ढिलाई भएको हो।  

पार्क उद्घाटनका क्रममा ढकालले राम्रो उद्देश्यका साथ समाजलाई अग्रणी बनाउन निर्माण भएको पार्कले पूर्व क्षेत्रमा सकारात्मक सन्देश जाने बताए । ‘पूर्वाञ्चल पर्यटनको गतिमा अग्रगतिमा दौडनुपर्ने भएपनि पर्यटनको काम भएको छैन,’ उनले भने, ‘न हाम्रो क्षेत्रमा पर्यटनको विकास भयो, न ठूला होटलहरु नै स्थापना गर्न सकियो।’ उनले प्रदेश १ मा पर्यटनको सम्भाव्यता धेरै भएपनि पर्यटकीय क्षेत्रमा विकासका काम आरम्भ नभएको तर्क गरे।  

पार्क उद्घाटनका क्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले इटहरी क्षेत्रमा ठूलो लगानीमा पार्क निर्माण हुनु सुखद् रहेको बताए।  

संसारका सवै ठूलो शहरमा मनोरञ्जन पार्क हुन्छन्। विशेषगरी विदेशका ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन्। ती पार्क कँही सरकारले बनाएको हुन्छ त कही निजी क्षेत्रको लगानीमा। नेपालमा मुख्य शहरमा कमै मात्र मनोरञ्जन पार्क छन्।  

यहाँ पार्क सञ्चालनले इटहरीमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि रमाउने ठाउँ मिलेको छ। यहाँबाट बालबालिका, तन्नेरीदेखि पारिवारिक मज्जा लिन पाउने भएका छन्।

पार्कमा पूर्व एआइजी कृष्ण बस्नेत तथा पूर्व डिआइजी ज्ञानविक्रम शाह, इटहरी उद्योगवाणिज्य सङ्घको अध्यक्ष भीमबहादुर पौडेल र काठमाडौंको वु पी ल्यान्ड एम्युजमेन्ट वाटर पार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी रहेको छ।  

यहाँ पूर्वको सवैभन्दा ठूलो वाटर पार्क रहेको छ। पार्कमा पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड आठवटा राखिएका छन्। एक स्लाइडमा एक पटकमा बढीमा आठ जनाले खेल्न सक्नेछन्। दिनभरिमा ५ हजारले यसको रमाइलो उठाउन सक्नेछन्। पार्कमा एकै पटक ६ सय मानिस अटाउने एक वेभ पुल राखिएको छ। यस पुलमा बसेपछि समुद्रको छालमा बसेकोजस्तो आनन्द आउँछ।  

पार्कमा  जोरासिक यहाँको अर्को सुन्दर विशेषता हो। यहाँ बोटिङ गर्न सकिन्छ र बोटिङ गर्दै डाइनोसर लगायतका लोप भइसकेका प्रजातिका जनावरको अवलोकन गर्न सकिन्छ।

पार्कमा जिप लाइन टावर बनाइएको छ। यसमा एक टावरदेखि अर्को टावरसम्म डोरीमा चिप्लिएर जाने खेल खेल्न सकिन्छ। साथै, वाल क्लाइम्बिङ (चट्टानमा चढ्ने) स्थान पनि निर्माण गरिएको छ।  

पार्कमा पहिलो स्नोपार्क केही केही समयपछि सञ्चालनमा ल्याइने छ। यसमा हिउँबाट आनन्द लिन सकिनेछ।  

पार्कभित्र रेस्टुरेन्ट सञ्चालनमा आउने छन्। एउटा बार्बे क्यु हुनेछ र अर्को लन्च वा डिनरका लागि फाइन डाइनिङ राखिएको छ। त्यस्तै फास्ट फुडका लागि अर्को रेस्टुरेन्ट बनाइएको छ। यसबाहेक इन्डियन फुडकोर्ट र आइसक्रिम पार्लर पनि हुनेछ।  

पार्कमा प्रदेश नं. १ सँगै भारतका विभिन्न स्थानका दैनिक एक हजारले पार्कको अवलोकन गर्ने लक्ष्य छ। पार्कको क्षमता भने ५ हजार मानिस अटाउने छ। पार्कमा पहिलो चरणमा ६० जनाले रोजगारी पाएका छन्। पार्कमा मनोरञ्जन गर्नेका लागि स्नोपार्क र जिप लाइनबाहेक विद्यार्थीका लागि ६५० र अरुका लागि ७५० रुपैयाँ शुल्क तोकिएको छ।  

प्रकाशित: १७ फाल्गुन २०७७ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App