coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सरकार गुहार्दै कर्णालीका बादी समुदाय

जमिन, घर र रोजगारी माग्दै कर्णालीका बादी समुदाय सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालय गेटमा धर्ना बसेका छन्। कालिकोट र दैलेखबाट पैदल हिँडेर आएका बादी समुदायका करिब पाँच सय नागरिक राति साढे ८ बजे मुख्यमन्त्री कार्यालय गेट पुगेका थिए। बादी समुदायले खेतीपातीका लागि स्थायी लालपुर्जासहित जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने बताएको छ।

‘गाउँको सिंहदरबारबाट हाम्रा माग सम्बोधन नहुने देखेपछि प्रदेश सिंहदरबारको गेटमा धर्ना दिन आएका हौं,’ बादी अधिकार संघर्ष समितिका अध्यक्ष प्रेम बादीले भने, ‘स्थायी पुर्जासहितको जमिन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर फर्किंदैनौं।’ स्थायी पुर्जाको माग गर्दै आएका बादी समुदायसँग अहिले छाना, नाना र खाना छैन। चिसो मौसममा चार महिने काखेबालकदेखि ७० वर्षसम्मका वृद्ध खुला चौरमा धर्ना बसेका छन्।

कालिकोट र दैलेखबाट पैदल आएका बादी समुदायका पाँच सय बढी नागरिक सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालयनजिक धर्नामा छन्।

कालिकोटकी लक्ष्मी बादी ६ महिने नातिनी काखमा च्यापेर धर्नामा बसिरहेकी छिन्। लक्ष्मीको परिवार काम खोज्दै २०६० सालतिर कालिकोट पुगेको थियो। परम्परागत पेसाले दैनिकी चलाउन गाह्रो भएपछि छोरा–बुहारी कमाउन कालापहाड गएका थिए। गत साउनमा विषालु च्याउ खाँदा छोरा डम्बर र बुहारी बत्तीसरा कालापहाडमै बिते। ९ दिनकी सृष्टि टुहुरी भइन्। उनी कमाउने जमिन र ओत लाग्ने छानो माग्न चार दिन लगाएर कालिकोटबाट हिँडेरै आएकी हुन्।

माछा मार्ने, बालुवा चाल्ने, मादल र सुल्पा बनाएर गुजारा चलाउने यो समुदाय अहिले संकटमा छ। उनीहरूसँग खेतीयोग्य जमिन छैन। ‘माछा मार्न पनि स्थानीय सरकारको अनुमति चाहिन्छ, बालुवा चाल्न ठेकेदारले खोलामा पस्न दिँदैनन, मादल र सुल्पा बिक्री हुँदैनन्,’ बादी समुदायका अगुवा हिक्मत बादीले भने, ‘केही विकल्प नभएपछि जमिन र घर माग्दै प्रदेश सरकार गुहार्न आएका हौं।’

दैलेखमा मात्रै ६ सय ६९ बादी परिवार छन्। तीमध्ये केहीलाई सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएर दिएको छ। दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका हरिबोदन बादीको २१ जनाको परिवार छ। जनता आवासमार्फत बनेको दुई कोठे घरमा पाँच जना बढी अट्दैनन्। उनको पूरै परिवार जमिन माग्दै अहिले मुख्यमन्त्री कार्यालयमा धर्ना दिइरहेको छ। ‘परम्परागत पेसाले जीवन धान्न नसकिने भएकाले जमिन माग्न आएका हौं,’ उनले भने, ‘हातमा जमिनको लालपुर्जा नआउँदासम्म आन्दोलन रोक्दैनौं।’ मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौंमा छन्। उनी नआउँदासम्म वार्तामा नबस्ने बादी समुदायले अडान लिएको छ। मंगलबार बिहान आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आन्दोलनरत बादी समुदायलाई भेटे।  

‘प्रदेश सरकारसँग जमिन छैन, तपाईहरूलाई जमिन उपलब्ध गराउनका लागि संघ र स्थानीय सरकारसँग पहल गर्छौं,’ मन्त्री भण्डारीले भने, ‘घर बनाउने जिम्मा हामी लिन्छौं।’ उनले मुख्यमन्त्री काठमाडौंबाट आएपछि बादी समुदायका लागि प्रदेश सरकारले विशेष प्याकेज ल्याउने बताए। ‘बादी समुदायको समस्या औषधिले समाधान गर्दैन, यसलाई शल्यक्रिया नै गर्नुपर्छ,’ उनले भने, ‘जमिनबाहेक अरू विषयमा प्रदेश सरकार प्याकेजसहित तपाईंहरूसामु आउँछ।’

विष्टको सहयोग

जमिन र छानो माग्दै आन्दोलन गर्न आइपुगेका बादी समुदायलाई नेपाल दरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले खाद्यान्न उपलब्ध गराएका छन्। कालिकोट र दैलेखबाट भोकभोकै हिँडेर आएका उनीहरूलाई विष्टले खाना पकाउन ग्याँस, दाउरा, खाद्यान्न र खानेपानी उपलब्ध गराएका हुन्। ‘खुला चौरमा चिसोमा भोकभोकै सुतेको देखेपछि खाद्यान्न र अन्य सामग्री उपलब्ध गराएको हुँ,’ विष्टले भने, ‘राज्यले बादी समुदायसँग तत्काल संवाद गरेर उनीहरूका माग सम्बोधन गर्नेतर्फ लाग्नुपर्छ।’

प्रकाशित: १३ फाल्गुन २०७७ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App