२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोनाविरुद्धको खोपप्रति ‘भ्रम’: डरले खोप लगाउनै आएनन् सेवाग्राही

इलामस्थित स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको खोप लगाउँदै नेपाली सेनाका सैनिक । तस्बिर : भीम/नागरिक

करिब वर्षदिनअघि कोरोना भाइरस कोभिड–१९ सबैलाई आतंकित बनाउँदै नेपाल छिर्‍यो । चिकित्सा विज्ञानसामु प्रमुख चुनौती बनेर फैलिइरहेको भाइरसको प्रभावले त्रसित नेपालीमा त्यतिबेला गम्भीर चिन्ता थियो– संसारमा महामारी भइसकेको कोरोनाको औषधि कहिले पत्ता लाग्ला र हाम्रो देशसम्म आइपुग्ला अनि बाँचिएला ।

कोरोनाकै कारण ६ महिनाजति देशको सबै क्षेत्र तहसनहस बन्यो । बिस्तारै जनजीवन लयमा फर्किन थालपछि आम नेपालीले विश्वासै नगरेको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । र, प्राथमिकताका आधारमा जिल्ला र स्थानीय तहसम्म पुगिसकेको पनि छ । तर, विडम्बना, त्यत्रो आतंक फैलाएको कोरोनाविरुद्धको खोप लगाउनुअघि नै फैलिएको भ्रमले चाहिँ खोप प्रयोगको अवस्था निरासाजनक बनाइदिएको छ । स्वास्थ्य संस्थासम्म खोप आएको छ, लगाउन इच्छुक मानिस खोप केन्द्रमै आइदिँदैनन् ।  

‘कोरोनाले त्यत्रो समय बाँचिएला कि नबाँचिएला भनेर आतंक मच्चायो तर त्यसविरुद्ध आएको खोप लगाउन चाहिँ किन मानिस डराइरहेका छन्, अनौठो लाग्छ,’ स्वास्थ्य कार्यालय प्रमुख वृजकुमार दास भन्छन्, ‘खोप आइपुग्नुअघि नै यो खोपको बारेमा गलत हल्ला फैलिइसकेकाले मानिस खोप लगाउनै डराइरहेका छन् ।’ विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ–संस्थाले प्रमाणित गरी नेपाल आएको खोप लगाउनेबारे भ्रम फैलिएको उनी बताउँछन् । ‘यो खोप लगाएपछि ज्वरो आउँछ, अरू साइड इफेक्ट गर्छ भन्ने ज्यादै ठूलो भ्रम पाइयो,’ प्रमुख दासले थपे, ‘यस्तो भ्रम कसले किन फैलायो खोजी गर्नुपर्छ ।’  

नेपालमा कोरोनाविरुद्धको खोप यति छिटै आइपुग्ला र नेपालीले लगाउन पाउलान् भन्नेमा धेरैलाई विश्वास थिएन । तर, जब जिल्ला र स्थानीय तहसम्म खोप पुग्यो, खोप लिने समूहमा तोकिएका व्यक्ति चाहिँ यसले विभिन्न असर पुर्‍याउँछ भन्ने डरले खोप केन्द्र आएका छैनन् । जिल्ला सदरमुकामसहित सबै स्थानीय तहमा पहिलो चरण र पहिलो चरणको दोस्रो प्राथमिकताको खोप लक्षित समूहका लागि सञ्चालन गरिएको छ । तर, खोप लगाउन इच्छुक व्यक्ति नै नआउँदा कतिपय स्थानीय तहका खोपकेन्द्रबाट सबैजसो खोप फिर्तासमेत आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

कार्यालयका अनुसार पहिलो चरणका २ कार्यक्रममा जिल्लाभर ३ हजार ५ सय २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । ४ हजार ७ सय ५४ जनाले खोप लगाउने लक्ष्य रहेकामा ५ हजार १ सय ३० डोज खोप आएको थियो । ‘सुरुमा खोप लगाउने व्यक्ति कति होलान् भनेर अनुमान गर्दा हाम्रो अनुमानको डोजले भ्याउँदैन भन्ने लागेको थियो,’ कार्यालय प्रमुख दास भन्छन्, ‘तर, खोप लिने मान्छे नै नआएपछि पो थाहा भयो, यो खोपबारे गलत हल्ला फैलिएको छ ।’ पहिलो चरणका लागि ३ सय ८३ भाइल अर्थात् ३ हजार ८ सय ३० डोज खोप आएकामा १ हजार ४ सय ६५ जनाले मात्रै खोप लगाउनुको प्रमुख कारण पनि यस्तै गलत हल्ला भएको उनी बताउँछन् ।

सरकारले पहिलो चरणमा र दोस्रो प्राथमिकतामा खोप लिने व्यक्तिको समूह बेग्लाबेग्लै तोकेको थियो । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, जनपद प्रहरी, सीमामा खटिने सशस्त्र प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, न्याय सेवाका कर्मचारी तथा पत्रकारलगायतलाई खोप लगाउने सूचीमा राखिएको छ । तर, यो समूहबाहेक नेपाली सेनालगायत समेतलाई खोप लगाउँदा पनि लक्ष्यअनुसार खर्च नभएको कार्यालयको तथ्यांकले देखाउँछ ।  

इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमुख शाहले कोरोनाविरुद्धको खोपबारे फैलिएको भ्रम हटाउन जरुरी रहेको बताए । ‘अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्थाहरूले प्रमाणित गरेको खोप प्रयोग भइरहेको छ तर गलत हल्लाको पछि लागेर खोप लिनै नआउने अनौठो अवस्था सिर्जना भएको देखिन्छ,’ उनले भने, ‘यो खोपले शरीरमा कुनै साइड इफेक्ट गर्छ भन्नु भ्रम मात्रै हो ।’  

प्रायः सबै खोपले शरीरमा प्रभाव देखाउँदा ज्वरोको लक्षण देखिने उनले जनाए । ‘यो खोपले रोगविरुद्ध शक्ति आर्जन गर्न सघाउँछ, शरीरले शक्ति आर्जन गर्दाको लक्षण ज्वरोका रूपमा देखिने हो,’ डा.शाहले भने, ‘कोरोनाविरुद्धको खोप लगाएपछि शरीरले त्यसविरुद्ध लड्छ, त्यसरी जुधेपछि सामान्य ज्वरो आउनु स्वभाविक हो । खोपलाई लडेर जितेको शरीरमा पुनः कोरोना भाइरस प्रवेश गर्दा निष्क्रिय हुन्छ, असर देखिँदैन । खोप लगाउनुको अर्थ नै त्यही हो ।’ उनले कोरोनाविरुद्धको खोपले शरीरमा अन्य कुनै असर र हानी गर्छ भन्ने भ्रम त्यागेर त्यसलाई उपयोग गर्न आग्रहसमेत गरे ।  

कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाउने कार्यक्रम सकिएको र दोस्रो चरणको खोप आउँदो २३ गतेपछि लगाउने सम्भावना रहेको स्वास्थ्य प्रमुख दासले बताए । अबको खोपको प्राथमिकतामा ज्येष्ठ नागरिक रहनेछन् । १ व्यक्तिले पहिलो खोप लगाएको २ महिनापछि पुनः अर्काे खोप लगाउनुपर्ने चिकित्सकले सुझाएका छन् ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App