८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सालीनदीमा भक्तजन

संस्कृति

साँखुकी मीना उपाध्याय यसपालि स्वस्थानी माताको व्रत बसेकी छन्। हरेक बिहान घरको काम सकेर उनी साँखुस्थित सालीनदी तटमा आउँछिन् र आफ्नो परिवारको प्रगति, सुस्वास्थ्य आदिका लागि प्रार्थना गर्छिन्। उनले स्वस्थानी व्रत बस्न थालेको लगभग १३ वर्ष भयो। ‘मेरो श्रीमान गम्भीर दुर्घटनामा परेपछि मैले यो व्रत बस्न थालेको हुँ,’ अघिल्लो साता सोमबार सालीनदीस्थित स्वस्थानी मन्दिरमा भेटिएकी मीनाले भनिन्, ‘डाक्टरहरूले मेरो श्रीमानलाई भनेका थिए, खुट्टाले हिँड्न मुस्किल हुन्छ। तर अहिले उहाँ हिँडेर कार्यालय जानेआउने गर्नुहुन्छ, यो सबै श्री स्वस्थानी माताको कृपाले हो।’  

स्वस्थानी कथामा विधिपूर्वक स्वस्थानी देवीको व्रत बसे घरपरिवारमा सुख–शान्ति मिल्ने बताइएको छ। कथामा सालीनदीबारे पनि उल्लेख छ, त्यसैले साँखुस्थित सालीनदी र घरघरमा विशेषतः नेपाली हिन्दू महिलाहरू स्वस्थानीको व्रत बस्ने गर्छन्। पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म स्वस्थानी कथा पढेर व्रत बस्ने पनि विशेष विधि छ। 

‘म केवल स्वस्थानी मातालाई आफ्नो शिर झुकाउन हरेक हप्ता यहाँ आउँछु। मेरा दुई छोरी र एक छोरा छन्। दुई छोरी भएपछि छोरा भएन भनेर म र श्रीमती कैयौँ अस्पताल धायौँ। तर केही भएन। ११ वर्षअघि मैले श्री स्वस्थानी माताको महिमा अरूबाट सुनेँ। त्यो सुनेपछि मैले यही आएर व्रत गरेँ। व्रत गरेलगत्तै हामीलाई पुत्र लाभ भयो।

सालीनदीमा अहिले दिनहुँ व्रतालु महिला तथा पुरुषको भीड लाग्ने गर्छ। एकातिर हरेक बिहान नुहाउन र स्वस्थानी माताको पूजा गर्न यहाँ वरिपरिका मानिस आउने गर्छन्। कतिपय केही परका मानिस साताको एकपटक पनि आउने गरेका छन्। यहाँ आउनुको आ–आफ्नै आस्था र विश्वास देखिन्छ। अधबैंसे विजय प्रजापति हरेक साता धादिङदेखि बस चढेर सालीनदी आइपुग्छन्। ‘म केवल स्वस्थानी मातालाई आफ्नो शिर झुकाउन हरेक हप्ता यहाँ आउँछु। मेरा दुई छोरी र एक छोरा छन्। दुई छोरी भएपछि छोरा भएन भनेर म र श्रीमती कैयौँ अस्पताल धायौँ। तर केही भएन,’ उनी भन्छन्, ‘११ वर्षअघि मैले श्री स्वस्थानी माताको महिमा अरूबाट सुनेँ। त्यो सुनेपछि मैले यही आएर व्रत गरेँ। व्रत गरेलगत्तै हामीलाई पुत्र लाभ भयो। यो कुरा आजभोलि कसैले पत्याउँदैनन्। तर यो साँचो हो। त्यसकारण स्वस्थानी व्रतका बेला हरेक हप्ताजस्तो म यहाँ आउँछु।’

स्वस्थानी व्रत कथा सुरु भएपछि यहाँ विभिन्न ठाउँका पुजारी पनि आएका छन्। स्वस्थानी मन्दिरको मूल ढोका प्रवेश गरेसँगै दुईवटा भवन छन्। दायाँतिर स्वस्थानी माताको मन्दिर र बायाँतर्फ एउटा ठूलो कोठा छ, जहाँ पुजारीले होम गर्छन्। मन्दिर र होम गर्ने कोठाको बीचमा १० फिटको बाटो छ, त्यहाँदेखि अलिपर बाबाहरू बसिरहेका थिए। लामो जटाधारी एक बाबालाई नाम सोध्दा जवाफ आयो, ‘मेरो नाउँ नसोध्नुहोला। किनकि, मेरो कुनै नाउँ छैन। यहाँ सबैले मलाई जटेश्वर बाबा भन्छन् र म यसमै खुसी छु।’

जटेश्वरबाबा यही मन्दिरमा बस्छन्। यही मन्दिर नै आफ्नो घर भएको उनी बताउँछन्। यही ठाउँमा प्राणत्याग गर्ने उनको चाहना छ। ‘यहाँ चढाएको फलफ्mूल खाने गर्छु,’ उनी भन्छन्, ‘केहीले भिक्षा दिन्छन् र त्यसैले गुजारा हुन्छ। कहिलेकाहीँ एउटा मात्र फल खाएर र पानी पिएर सुत्ने अवस्था पनि आउँछ।’

उनका अनुसार, पार्वतीले शिव पति पाऊँ भनेर व्रत बसेपछि स्वस्थानी व्रत कथा प्रारम्भ भएको हो। ‘धेरै कुरालाई त मलाई पनि थाहा छैन,’ उनी भन्छन्, ‘मैले पनि उही किताब पढेर जानेको हुँ।’

बाबाहरू बस्ने स्थानदेखि दायाँतफ्र्m एउटा सानो मन्दिर छ। त्यसको बायाँतिर दुई पुरेत थिए। उनीहरू अन्य पुरेतभन्दा निकै व्यस्त थिए। मन्दिरको ठीक पछाडि भएकाले होला, त्यहाँ पूजा गर्नेको घुइँचो थियो।  

एक पुजारी होमनाथ प्याकुरेल भन्छन्, ‘सबै व्रतालु सालीनदीको तटसम्मै पुग्दैनन्। कोही यहीँ पूजा लगाउन रुचाउँछन्। मान्छेहरूलाई मन्दिरकै आँगनमा पूजा लगाएको राम्रो र उत्तम लाग्दो होला।’  

उनी बसेको ठीक अगाडिबाट घुमाउरो सिँढी छ, त्यही सिँढी भएर सालीनदीको तटमा पुगिन्छ।  

कथा अनुसार, सालीनदीको तटमा बसेर चन्द्रावतीले आफूले गरेको पापको प्रायश्चित गरिन्। उनले श्रीस्वस्थानी मातालाई नानाथरी बोलेर गाली गरेपछि उनलाई पाप लागेको थियो। यहीँ स्वर्गका अप्सराले चन्द्रावतीलाई देखेर श्री स्वस्थानीको व्रत बस्न लगाए। त्यही व्रतको प्रभावले उनको पाप मेटिएर गएको हामीले श्री स्वस्थानीको किताबमा पढ्न पाउँछौँ।  

यहाँ सालीनदी तर्न चाहनेका लागि सानो बाँसको पुल छ। त्यही सालीनदीको छेवैमा बासुकी नागको ठूलो प्रतिमा छ। भक्तजनले चढाएको फलफूलले यो प्रतिमा प्रायः छोपिने गर्छ। ती फलफ्mूललाई बेलाबेला हटाएर व्यवस्थित गर्न एक ४० वर्षीया महिला बसेकी छन्। त्यस दाहिनेपट्टि एक वृद्ध पुजारी बस्छन्। उनले भक्तजनलाई टीका लगाइदिन्छन्। सक्नेले उनलाई भेटी दिन्छन्, नसक्नेले टीका मात्र लगाएर आशीर्वाद थाप्छन्।  

त्यहाँदेखि नजिकै भुइँमा गुन्द्रीलाई बिछ्याएर ज्योतिषीहरू बसेका छन्। तिनैमध्येका एक गणेशप्रसाद नेपाल, जो गौरीघाटबाट हरेक दिन सालीनदी तटमा आउँछन्, उनले भने, ‘म सर्वप्रथम त श्री स्वस्थानी माताको ठूलो भक्त हुँ। मेरो आफ्नै निजी कुरा भगवतीले पूर्ण गरेकी छिन्।’  

सालीनदीको पुल कटिसकेपछि ठीक उत्तरी पूर्वमा एउटा सानो सिँढी चढेर ठीक बायाँतिर ६४ शिवलिंग देखिन्छ। त्यहाँदेखि ओरालो झरेपछि  हाटबजार आरम्भ हुन्छ। यहाँ व्यापार गर्दै आएका राजकुमार श्रेष्ठका अनुसार हरेक रात प्रहरी तैनाथ गरेर सामानको सुरक्षा दिइन्छ। यहाँ आफूले पसल राखेबापत दैनिक तीन हजार रुपैयाँ व्यवस्थापन समितिलाई तिर्ने गरेको उनले बताए।  

हाटको अन्तिम भागमा स्वस्थानी कथाका पात्र गोमा ब्राह्मणी र चन्द्रावतीको कुटी बनाइएको छ। गोमा ब्राह्मणीको कुटी वरपर निकै भीड थियो, विशेषगरी टिकटक बनाउने र सेल्फी खिच्न रुचाउने युवाहरूको।  

सालीनदीको ठीकअगाडि एउटा सानो पार्क छ। जहाँ थकित भक्तजन आराम गर्छन्। त्यहीँ थिइन्, साँखुकी ६९ वर्षीया जानुका श्रेष्ठ। उनी भन्छिन्, ‘म आठ वर्षकी हुँदा (२०१६ सालमा) मेरो विवाह भयो। त्यतिखेर घरघरमा स्वस्थानीको व्रत बस्ने चलन थियो। घरका हरेक महिला व्रत बस्थे। मैले पहिलोपटक नौ वर्षको उमेरमा स्वस्थानी माताको व्रत बसेकी हुँ।’  

स्वस्थानी माताकै कृपाले आज दुई छोरी अमेरिकामा रोजगार गर्ने उनले बताइन्। उनले भनिन्, ‘त्यसैले म अझै पनि आराम गर्न यहाँ आउँछु। यहाँ आएपछि ढुक्क हुन्छु।’

प्रकाशित: ८ फाल्गुन २०७७ ०५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App