५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भागरथी भट्टको शव आफन्तले बुझे

क्याप्शन–भागरथीको अन्तिम संस्कारको शव लैँजादै उनका आफन्त । तस्बिरः बिरा–नागरिक

बलात्कारपछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् ।  

जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीको शवगृहमा रहेको शव बुझेका हुन् । उनको दशरथचन्द नगरपालिका–६ सेराको महाकाली नदीमा अन्तिम संस्कार गरिन लागेको भागरथीका दाई केशव भट्टले बताए ।

घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्य र सरकारी वकिलसँग अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको स्विकारेपछि आफन्तले शव उठाएका हुन् । दिनेशका बुवा दिपक भट्टकै अघि लिएको बयानमा दिनेशले भिडवाट लडाएर तल लगेर प्रतिकार गर्ने अवस्थामा नरहेकी भागरथीलाई बलत्कार गरेको र त्यसपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन । यस अघि दिनेशले बलत्कार नगरेको र हत्या मात्रै गरेको बयान दिएकाले आफन्त बिश्वस्त हुन सकेका थिएनन् ।

प्रहरीका अनुसार परिवार सहमत भएपछि हत्या भएको १७ दिनपछि भट्टको शव उठाइएको छ । दिनेशविरुद्ध ५ दिन म्याद थप गरेर प्रहरीले जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । प्रारम्भिक सोधपुछमा दिनेशले पारिवारिक रिसिइबीको बद्ला लिन हत्या गरेको बताएका छन् ।

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।  प्रहरी अनुसन्धानबाट मृतककै भाइ नाता पर्ने दिनेश एक्लैले बलात्कारपछि हत्या गरेको बयान दिएका छन् ।

प्रकाशित: ७ फाल्गुन २०७७ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App