१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्रका लागि ७० हजारको नाम

उदयपुरमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्म करिब ७० हजारको नाम दर्ता गराएका छन्। गत पुस पहिलो सातादेखि सुरु परिचयपत्र बनाउन फाराम भर्नेको संख्या ७० हजार पुग्न थालेको हो। जिल्ला प्रशासन कार्यालय, त्रियुगा र कटारी नगरपालिका गरी ३ ठाउँमा टोली परिचालन गरेर विवरण संकलन भइरहेको छ। गृह मन्त्रालयले खटाएको प्राविधिक टोलीले पुस ११ गतेदेखि जिल्ला प्रशासनबाट परिचयपत्र बनाउन विवरण संकलन थालेको हो।  

सुरुको १५ दिनसम्ममा फाराम भर्नेको अनियन्त्रित भीड बढेपछि त्रियुगा र कटारी नगरपालिकामा पनि टोली परिचालन गरी नाम दर्ता अभियान थालिएको हो। पुस ११ देखि माघ मसान्तसम्म ६९ हजार ५ सय ३० जनाले परिचयपत्रका लागि नाम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए। अहिलेसम्म जिल्ला प्रशासनबाट ४ हजार ५८ जना, त्रियुगा नगरपालिकाका २६ हजार १५ जना र कटारी नगरपालिकाबाट २९ हजार ४ सय ५७ जनाले परिचयपत्र पाउन नाम दर्ता गराएको प्रजिअ पाण्डेले बताए। नागरिकले आ–आफ्नो गाउँ तथा नगरपालिकाका वडा कार्यालय तथा तोकिएको पायक पर्ने केन्द्रमार्फत विवरण भरेर परिचयपत्रको नाम दर्ता गर्ने व्यवस्था मिलाइएको बताइएको छ। प्रशासकीय अधिकृत भक्तबहादुर राईले परिचयपत्रका लागि सदरमुकामबाहिरका सेवाग्राहीले पनि जिल्ला प्रशासन आएर विवरण फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ।  

विभिन्न कारण आफ्नो वडा पुग्न नसक्ने, नभ्याउनेका लागि प्रशासनमै आएर विवरण भर्न पाउने व्यवस्था मिलाइएको छ। सदरमुकाममा पेशा व्यवसाय गरी बसेकाहरूलाई परिचयपत्र लिन सहज होस् भनेर सक्कल नागरिकताको प्रमाणपत्र लिएर आए प्रशासनबाटै विवरण भरेर परिचयपत्रका लागि नाम दर्ता गराइने प्रजिअ पाण्डेले बताए।  

अधिकृत राईका अनुासार फाराम भर्न दैनिक ५ सयदेखि १ हजारसम्म आउने गरेका छन्। सुरुमा प्रशासनबाट मात्रै फाराम भर्ने व्यवस्था मिलाइएकोमा भीड बढ्दा अन्य काम प्रभावित भएको भन्दै स्थानीयतहबाट नाम दर्ता गराउन थालिएको उनले बताए। प्रशासनबाट मात्रै नाम दर्ता गराउँदा नागरिकता, राहदानी तथा अन्य प्रशासनिक सेवा प्रभावित भएपछि थप टोली झिकाएर स्थानीयतहबाटै सेवा सुचारु गर्ने व्यवस्था मिलाइएको अधिकृत राईले बताए।  

सेवा प्रभावित हुन नदिन प्रशासनले मन्त्रालयलाई अनुरोध गरेर थप प्राविधिक टोली बोलाएर सदरमुकामको त्रियुगा र पश्चिमी भेगको कटारी नगरपालिकामा टोली खटाएको हो। जस अनुसार त्रियुगाका १६ वटा वडा र कटारीका १४ वटै वडामा टोली खटाएर परिचयपत्रका लागि विवरण लिने काम भइरहेको छ। परिचयपत्र लिनका लागि फाराम भर्न सक्कल नागरिकताको प्रमाणपत्र, १० औंलाको छाप, फोटो र अन्य व्यक्तिगत विवरण भर्नुपर्ने प्रावधान छ।

उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ वटा स्थानीयतह रहेका छन्। जसमध्ये त्रियुगा र कटारीमा धमाधम विवरण भर्ने काम भइरहेको छ। केहीमा चौदण्डीगढी नगरपालिकामा पनि टोली परिचालन गर्ने तयारी भइरहेको प्रजिअ पाण्डेले बताए। त्यसपछि बेलका नगरपालिका, रौतामाई, उदयपुरगढी, ताप्ली र लिमचुङबुङ गाउँपालिकामा पनि परिचयपत्रको विवरण लिन टोली पठाइने उनले बताए।

प्रकाशित: ६ फाल्गुन २०७७ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App