coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भागरथीको हत्या आशंकामा एक सरकारी कर्मचारीसहित तीनजना नियन्त्रणमा

प्रहरीले बैतडीको दोगडाकेदार नगरपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या प्रकरणमा संलग्न भएको आशंकामा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तीनजनामध्ये एक सरकारी कर्मचारी छन्। ती सरकारी कर्मचारीलाई प्रहरीले मंगलबार दिउँसो कञ्चनपुरको महेन्द्रनगरबाट नियन्त्रणमा लिएर बैतडी लगेको छ। शंकास्पद ती कर्मचारीसमेत नियन्त्रण्मा लिइएका अन्यको विवरण प्रहरीले खुलाएको छैन।  

‘हामीले बलात्कार र हत्यामा संलग्न भएको आशंकामा एकजनालाई महेन्द्रनगरबाट नियन्त्रणमा लिएका छौं तर अनुसन्धान जारी रहेकाले यसै भन्न सकिने अवस्था छैन’, प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने। ती अधिकारीका अनुसार यस घटनामा अन्य दुईजना शंकास्पद व्यक्ति पनि पक्राउ परेका छन्। बैतडी प्रहरी र सुदूरपश्चिम प्रहरीले अनुसन्धान गरिरहेकाले विवरण खुलाउन नमिल्ने ती अधिकारीले बताए। ‘एक प्राविधिक सहायकस्तरका कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको छ’, स्रोतले भन्यो। प्रहरीले कर्मचारीसहित तीनजनालाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धान भइरहेकाले थप केही खुलाउन नमिल्ने स्रोतले बतायो। 

प्रहरीले कर्मचारीसहित तीनजनालाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धान भइरहेकाले थप केही खुलाउन नमिल्ने स्रोतले बतायो। 

सुदूरप्रश्चिम प्रदेश प्रहरी स्रोतका अनुसार घटनाका बेला घटनास्थलवरिपरि देखिएका र केही दिनदेखि सोही स्थानबाट हराइरहेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। ‘ती व्यक्तिको सञ्चार सिग्नल घटनाका बेला घटनास्थलवरिपरि देखिएको र केही दिनदेखि गाउँबाट हराएकाले शंका लागेर अनुसन्धान सुरु गरेका छौं’, स्रोतले भन्यो। स्रोतका अनुसार पक्राउ परेकामध्ये एक कर्मचारी भएकाले पनि प्रहरीले थप अनुसन्धान नगरी नाम सार्वजनिक गर्न नसकेको हो। पक्राउ परेका ती व्यक्तिले अपराध अस्वीकार गरेका छन्। प्रहरीले भने विभिन्न प्रमाण देखाएर अनुसन्धान गरिरहेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले अनुसन्धान भइरहेकाले केही नबताउने जनाए। ‘अनुसन्धान हुँदैछ। हामी अपराधीको नजिकै छौं। अहिलेलाई यत्ति भनौं’, डिआइजी सुवेदीले भने, ‘यसमा हामीलाई धेरै कर नगर्नुस्, अनुसन्धान हुँदैछ।’

डडेल्धुरा, महेन्द्रनगर र बैतडीबाट गरी तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले विस्तृत अनुसन्धान नसकी नाम सार्वजनिक गर्न नचाहेको हो। महेन्द्रनगरबाट पक्राउ परेका भनिएका व्यक्ति २१ माघमा घटनास्थल वरिपरिको लोकेसनमा देखिएका थिए। प्रहरीले ती व्यक्तिलाई क्लोज सर्किटमा राखेर अनुसन्धान थालेको छ।

प्रहरीले निर्मला पन्तको हत्याजस्तै यो विषय पनि गिजोलिन सक्ने भएकाले सजगता अपनाएको छ। अनुसन्धानका लागि नियन्त्रणमा लिएका व्यक्तिहरू शंकास्पदमात्रै भएकाले यसलाई बाहिर ल्याइहाल्नुपर्ने अवस्था छैन’, प्रहरी स्रोतले भन्यो। मंगलबार गृहमन्त्रालयमा महिला कानुन व्यवसायीसँगको भेटमा गृहमन्त्री रामबहादुर थापाले भागरथीका हत्यारालाई प्रहरीले केही दिनमै पक्राउ गर्न सक्ने संकेत गरेका थिए।

घटना अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदी १० दिनदेखि घटनास्थलमा छन्। प्रहरी प्रमुख नै फिल्डमा खटिएपछि पीडित पक्षले न्याय पाउने आशा बलियो बनेको छ। सुवेदी यसअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाको घटनामा जसरी प्रमाण नष्ट भएर अनुसन्धान प्रभावित बन्न सक्ने भन्दै आफैं फिल्डमा खटिएका हुन्। उनले निरन्तर निगरानी, प्रमाण संकलन, निर्देशन र अनुगमन गर्दै आएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता मुकेश सिंहले घटनाको सतप्रतिशत तथ्यमा पुग्ने कोसिस भइरहेको बताए। ‘हालसम्मको अनुसन्धान हेर्दा सफलताउन्मुख छ। प्रारम्भिक अनुसन्धान पनि बलियो छ,’ उनले भने, ‘हामीले अनुसन्धानमा बढी संवेदनशीलता अपनाएका छौं। सोही अनुसार अनुसन्धानको नतिजा आउनेछ।’

अनुसन्धानमा चुक नहोस् भनी केन्द्रीय र प्रदेश प्रहरीले मिलेर अध्ययन गरेका छन्। केन्द्रबाट प्रहरी पठाएर अनुसन्धान सहज बनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले बताए। अनुसन्धान प्रक्रिया प्रभावकारी भएकाले हत्यारा छिटै पत्ता लाग्ने उनको भनाइ छ। ‘प्रहरी सुरुदेखि नै संवेदनशील छ। प्रहरीले शंका गरेको व्यक्ति र प्रमाण मिल्दोजुल्दो छ,’ उनले भने, ‘सबै प्रमाण भिडाएपछि मात्रै दोषी को हो भन्ने ठहर हुन्छ।’

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लले निर्मला र भागरथीको घटनामा तुलना गर्न नमिल्ने बताए। निर्मलाको प्रारम्भिक अनुसन्धान नै बिग्रिएकाले अनुसन्धान कार्य जटिल बनेको उनको भनाइ छ। ‘कुनै पनि घटना कसरी भयो भनेर पत्ता लगाउन वा अनुसन्धान गर्न प्रारम्भिक अनुसन्धान बलियो प्रमाण मानिन्छ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धान नै कमजोर छ भने दोषी पत्ता लगाउन निकै मुस्किल पर्छ।’

उनका अनुसार घटना भएपछि पत्ता लगाइएका वा संकलन गरिएको ताजा प्रमाणले घटनालाई उजागर गर्न सघाउ पुर्‍याउँछ। त्यस्ता प्रमाणमा लुगा, डिएनए परिक्षण, पोस्टमार्टम रिपोर्ट र घटनास्थलमा रहेका भौतिक प्रमाणलाई लिन सकिन्छ।  

प्राविधिक रेकर्ड र शारीरिक अवस्थालाई पनि यसै अन्तर्गत राखिन्छ। निर्मला पन्तको हत्यामा धेरैजसो प्रारम्भिक प्रमाण लोप भइसकेका थिए। भल्लले भने, ‘बलात्कारको घटनामा सबैभन्दा बलियो प्रमाण उसले लगाएको लुगा हो। रगत, विर्य, छाला, रौं, स्वाब त्यसैमा टाँसिएको हुन्छ। लुगाको आधारमा प्रहरीले अनुसन्धान गर्दा सफलता पनि मिलेको छ।’ उनले प्रमाण नै नभएपछि त्यस्ता घटनामा प्रहरीलाई मुछेर मात्रै नहुने बताए। ‘प्रहरीको लापरबाही भनेर उल्टै अप्ठेरो पारिन्छ, यस्तो घटना भएपछि प्रहरीलाई निकै दबाब हुन्छ तर प्रहरीले रोएर देखाउन मिल्दैन’, मल्लले भने। भट्टको बलत्कारपछि हत्या भएको डेढ साता बिते पनि अत्येष्टि भएको छैन।  

हत्यारा पत्ता नलागेसम्म शव नबझ्ने आफन्तको अडान छ। शव जिल्ला अस्पताल बैतडीको शवगृहमा छ। ‘निर्मला पन्तको न्यायका लागि त्यति धेरै अवाज उठेर पनि न्याय मिलेन। हामी अरू के गर्न सक्छौं र ? छोरीको हत्याराले कुनै हालतमा पनि उन्मुक्ति नपाओस् भनेर शव नबुझेका हौं’, भागरथीका काका शंकरदत्त भट्टले भने। ‘अपराधी पक्राउ नपरेसम्म छ आत्माले कसरी शान्ति पाउला ? मेरो आत्मालाई पनि शान्ति हुँदैन। अपराधी नउम्कियोस् भनेर शव नबुझेका हौं’, भागरथीको आमा द्रौपतीले भनिन्।

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्दा दोस्रो दिन माघ २२ गते साँझ ५ बजे लवलेक सामुदायिक वनमा कच्चीबाटोबाट ५० मिटर तल उनको शव फेला परेको थियो। माघ २३ गते उनको शव जिल्ला अस्पताल बैतडी लगिएको थियो। उनको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखाएको छ।  

(धनगढीबाट दिलबहादुर छत्याल र बैतडीबाट विरा गडालको सहयोगमा)

प्रकाशित: ५ फाल्गुन २०७७ ००:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App