२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वृद्धाको बीभत्स अवस्थामा शव भेटियो

रुकुम पश्चिममा एक वृद्धाको बीभत्स अवस्थामा शव भेटिएको छ। जिल्लाको चौरजहारी नगरपालिका–८ टाकुरा टोल नजिकैको जंगलमा स्थानीय करिब ५५ वर्षीया देवकला घर्तीको अद्र्धनग्न अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। आफन्त र स्थानीयले उनको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान गरेका छन्।  

प्रहरीले पनि बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। देवकला गत २५ गते सामान किन्न जान्छु भन्दै घरबाट निस्केकी थिइन्। आफन्त वा माइत गएको हुन सक्ने शंका गरिएको थियो। लामो समयसम्म उनी सम्पर्कमा नआएपछि आफन्तले खोजी गरिरहेका थिए।  

बिहीबार बिहान जंगलमा उनको धोती, माला, चप्पल, चुरालगायतका सामान भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। देवकलाको जंगलमा शरीरको माथिल्लो भागमा कालो रङको ब्लाउज र कम्मरभन्दा मुनि नांगो अवस्थामा सालको काठले हल्का च्यापी राखेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, डिएसपी ध्रव श्रेष्ठले जानकारी दिए।  

प्रहरीले घटनास्थलमै पुगेर मुचुल्का तयार पारेको उनले बताए। ‘देवकलाको शव भेटिएको छ,’ उनले भने, ‘बलात्कारपछि हत्या हो या अन्य हत्या वा अरू के हो यस विषयमा अनुसन्धान भइरहेको छ।’ चौरजहारी नगरपालिका–८ की कार्यबहाक वडाध्यक्ष देवी भण्डारीले पनि बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका व्यक्त गरिन्।  

‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘यथार्थ अनुसन्धान र पोस्टमार्टम रिपोर्टले देखाउँला।’ देवकलाको हत्यापछि घिसार्दै खोल्सामा फालिएको हुनसक्ने उनको भनाइ छ। घटनास्थलमा थोरै रगत समेत देखिएको प्रहरीले बताएको छ। मृतक देवकलासँग सुन भएको कारणले पनि हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।  

मृतकका जेठाजुका छोरा मानबहादुर घर्तीले पनि अनुसन्धानपछि घटनाको रहस्य खुल्ने बताए। ‘बलात्कारपछि हत्या भएको हो की भन्ने शंका छ,’ उनले भने, ‘रिपोर्ट नआउँदै यसै भन्न सकिन्न।’ देवकलाका पती डिल्के करिब १०/१२ वर्ष अघि मृत्यु भएको थियो। छोरा पनि तीन वर्षभन्दा बढी समयदेखि रोजगारीका लागि भारतमा गएका छन्। उनी घरमा एक्लै बस्दै आएकी थिइन्।

प्रकाशित: ३० माघ २०७७ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App