coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भागरथी हत्याको आठौं दिनः दोषी अझै पत्ता लागेन, ठाउँठाउँमा प्रदर्शन

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा एक साता बित्दा पनि पत्ता लाग्न सकेको छैन। भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा छ। प्रहरीले अपराधी पत्ता लाग्ने कुनै ठोस प्रमाण भेटाउन सकेको छैन। तराईको तुलनामा थौरै जनसंख्या र बाहिरी मान्छेको चहलपहल न्यून हुने ठाउँमा अहिलेसम्म हत्यारा पत्ता नलाग्दा भागरथी हत्या घटना पनि निर्मला पन्तको जस्तै जटिल बन्दै गएको छ। प्रहरीले भने प्रविधिको सहयोगबाट हत्यारा पत्ता लाग्ने विश्वास लिएको छ।  

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले घटनास्थलबाट संकलन भएका तथ्य र प्रमाणहरूको जाँचपछि हत्यारा पत्ता लाग्ने बताए। घटनास्थलबाट संकलन भएको रगत, मोबाइललगायत तथ्य संकलन गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको उनले बताए। ‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं,’ उनले भने, ‘संकलित तथ्य र प्रमाणको जाँच रिपोर्टका आधारमा छिट्टै अपराधी पत्ता लाग्नेछ।’ भागरथीको बलात्कार र हत्या एकजनाले गरेको हो वा समूहले भन्ने पनि अझै खुल्न सकेको छैन। अहिलेसम्म भागरथीका हत्यारा पत्ता नलाग्नुले घटना योजनाबद्ध हुनसक्ने स्थानीयको अनुमान छ। प्रहरी भने बलात्कार र हत्या आकस्मिक थियो वा योजनाबद्ध भन्ने कुरामा यकिन हुन सकेको छैन। ‘सधैं बिद्यालयबाट एक्लै फर्कने, सामुदायिक वनको सुनसान बाटो भएकाले योजनाबद्ध ढंगले पनि हुनसक्छ, सुनसान बाटोमा एक्लै भेट्टाएर आपराधिक मानसिकताका व्यक्तिले यस्तो गरेको पनि हुन सक्छ’, प्रवक्ता सिंहले भने।

निर्मला र भागरथीको हत्या घटना फरक

निर्मलाको हत्या घटनाभन्दा फरक भएकाले भागरथीको हत्यारा छिट्टै पत्ता लाग्ने प्रहरीको भनाइ छ। निर्मलाको घटनामा सुरुमा प्रहरी प्रमाण जोगाउन चुकेको, आफन्तलगायत आमसमुदायले सुरुदेखि नै आन्दोलन गरेकाले अनुसन्धानमा प्रभाव परेको प्रवक्ता सिंह बताउँछन। ‘निर्मलाको घटनामा सुरुमा प्रहरी चुकेकाले सबै प्रमाण जोगाउन सकिएन, अनि दोस्रो दिनदेखि नै आन्दोलन गरेर प्रहरीलाई अनुसन्धान गर्न असहज बनाइयो,’ उनले भने, ‘तर भागरथीको हत्या घटना फरक छ।’ भागरथीको शव फेला पर्नेबित्तिकै घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरी टोली, चिकित्सकसमेत घटनास्थल पुगेर प्रमाण र तथ्य संकलन गरिएको उनले बताए। समुदायको पनि अनुसन्धानमा सहयोग पाइएकाले पनि दोषी छिट्टै पत्ता लाग्ने उनले बताए।

घटनास्थलमा मिलेका प्रमाणलाई शंकास्पद व्यक्तिसँग जोडेर अनुसन्धान भैरहेको उनले बताए। प्रहरीले भागरथीले प्रयोग गर्ने मोबाइलको कल डिटेल, घटनास्थल नजिक मोबाइलको लोकेसनमा देखिएका व्यक्ति, घटनापछि भारत वा जिल्लाबाहिर गएका व्यक्ति, सामाजिक सञ्जालमा जोडिएका व्यक्तिको पनि अनुसन्धान गरिरहेको छ। भागरथीले मोबाइलमा भारतीय नम्बरको सिम र नेपाली नम्बरको सिम प्रयोग गर्थिन्।  

ठाउँठाउँमा प्रदर्शन

हत्या भएको आठौं दिनसम्म अपराधी पत्ता नलागेपछि निर्मलाले जस्तै भागरथीले पनि न्याय नपाउने हुन् कि भनेर आफन्त र स्थानिय चिन्तित छन्। भागरथीको शव अझै जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान परिवारका सदस्यले लिएका छन। बैतडी सदरमुकाम, कैलालीको धनगढी लम्की, डोटीको दिपायल, कञ्चनपुर, डडेल्धुरालगायत जिल्लामा भागरथीलाई न्यायका लागि प्रदर्शन भइरहेको छ। विद्यार्थीले बिहीबार धनगढीमा प्रदर्शन गरे। लम्कीमा विप्लव माओवादी निकट विद्यार्थीहरूले प्रदर्शन गरे। दिपायलमा पनि प्रदर्शन भयो। बैतडीमा पनि प्रदर्शन चर्किदै जान थालेको छ। बैतडीका विभिन्न विद्यालयबाट आएका विद्यार्थी, अधिकारकर्मीलगायतले बिहीबार पनि सदरमुकाममा न्याय माग्दै प्रदर्शन गरे।  

भागरथीले न्याय नपाउँदासम्म निरन्तर संघर्षमा उत्रने जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन्। ‘भागरथीको हत्यापछ हामीले असुरक्षित महसुस गर्दै आएका छौं,’ उनले भनिन्, ‘घरबाहिर निस्कनसमेत डाराउनुपर्ने अवस्था आएको छ, बलात्कारीलाई कारबाहीको माग हामीले गरेका छौं।’ छिटोभन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्नुपर्ने अधिकारकर्मी रमेश कोलीले बताए। प्रहरीले केही दिनभित्र दोषी पत्ता लगाउन नसके संघर्ष गर्न बाध्य हुने नेकपा बैतडीका नेता महादेव भट्टले बताए। माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हराएकी भागरथीको २२ गते विद्यालय र घरको बीचमा पर्ने लवलेक जंगलमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेलापरेको थियो।

प्रकाशित: ३० माघ २०७७ ००:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App