१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भागरथी हत्याको सातौं दिनः दोषी पहिचान नहुँदा दबाबमा प्रहरी

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा ७ दिनसम्म पत्ता लाग्न सकेको छैन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनामा लापरबाही गर्दा व्यापक आलोचना खेपेको प्रहरीले भागरथीको हत्यामा सुरुदेखि गम्भीर अनुसन्धान थाले पनि सात दिनसम्म हत्यारा पहिचान गर्न सकेको छैन ।  

अनुसन्धानका लागि नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी अहिले बैतडीमा छन् । सिआइबीको टोली र वरिष्ठ प्रहरी उपरीक्षक जनक पाण्डेयको टोली पनि अनुसन्धानमा खटिएको छ । प्रहरीले अनुसन्धान सकारात्मकतर्फ बढेको बताएको छ । निर्मलाको जस्तै भागरथीको बलात्कार र हत्यामा एकल व्यक्ति वा समूहको संलग्नता थियो भन्ने पनि खुल्न सकेको छैन । पोष्टमार्टम रिपोर्टले भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखाएको छ । अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक पाण्डेयले विद्यालयवाट फर्केको दिन गत बुधबार नै घटना भएको अनुसन्धानबाट देखिएको बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौं, अनुसन्धान साँघुरिँदै गएको छ’, उनले भने ।  

प्रहरीले भागरथीको हत्यामा संलग्न हुन सक्ने भन्दै केही व्यक्तिलाई शंकाको घेरामा राखेको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भने, ‘हाम्रो अनुसन्धान सकारात्मक रुपमा अघि बढेको छ । हामी शंकास्पद व्यक्तिको घटनामा संलग्नता पुष्टि गर्ने तथ्य र प्रमाण खोज्दैछौं । तुरुन्तै अपराधी पत्ता लाग्छ ।’ पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या गरेको पुष्टि भए पनि घटनामा कतिजना संलग्न छन् भन्ने खुलिनसकेको उनले बताए ।  

शव अस्पतालमै, आफन्त निराश

भागरथीको शव सात दिनसम्म जिल्ला अस्पताल बैतडीको शव गृहमा छ । दोषी पत्ता नलागेसम्म शव नबुझ्ने परिवारजनको अडानका कारण उनको अन्त्येष्टी हुन नसकेको हो । सोमबार पोष्टमार्टम रिपोर्ट आएपछि प्रहरीले शव बुझ्न परिवारजनसँग आग्रह गरेको थियो । तर आफन्तले दोषी पत्ता नलागेसम्म शव बुझ्न अस्वीकार गरेका छन् । न्याय नपाउँदासम्म शव नबुझ्ने भागरथीका काका शंकर भट्टले बताए । ‘निर्मलाको हत्या घटनामा जस्तै अपराधी उम्किने चिन्ताले हामीले शव नबुझ्ने भनेका हौं’, उनले भने । अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले शवलाई सुरक्षित राख्ने प्रबन्ध मिलाइएको बताए ।  

दोषी पहिचानमा ढिलाइ हुँदा अपराधी उम्किन सक्ने अवस्था आउन सक्ने भन्दै आफन्त र स्थानीय चिन्तित छन् । ‘अनुसन्धान टोलीको संक्रियता हेर्दा छिट्टै हत्यारा पत्ता लाग्ने विश्वास थियो,’ भागरथीका अर्का काका शिवराज भट्टले भने, ‘प्रहरी प्रशासनले आश्वासन दिइरहे पनि हत्यारा पहिचान गर्न सकेको छैन ।’ हत्यारा पत्ता नलाग्दा भागरथीकी आमा द्रोपती सबैभन्दा बढी चिन्तामा छिन् । दुई महिनाअघि पति बियोगमा परेकी उनी छोरीको हत्यापछि थप पीडामा छन् । ‘हत्यारा पत्ता नलागेसम्म मलाई पनि शान्ति हुँदैन, छोरीको आत्माले पनि शान्ति पाउँदैन ।’

न्याय माग्दै ठाउँठाउँमा प्रदर्शन

एक साता बित्दा पनि प्रहरीले हत्यारा पहिचान गरी पक्राउ गर्न नसकेको विरोधमा बैतडी, सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलगायतका ठाउँमा दिनहुँ प्रदर्शन भैरहेका छन । बैतडी सदरमुकाममा अधिकारकर्मी, शिक्षक, विद्यार्थी, सर्वसाधारणले दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् । भागरथीलाई न्याय दिलाउन सदरमुकाममा गठित संघर्ष समितिले बुधबार प्रधानमन्धीलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको संघर्ष समिति संयोजक निशा भट्टले बताइन । ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिन गरी अपराधी सार्वजनिक गर्न माग गरिएको छ । दलहरूले पनि चाँडै घटनामा संलग्नको पहिचान गर्न प्रशासनलाई आग्रह गरेका छन् । दोषी पत्ता लगाउन विलम्ब भए आफूहरू पनि विरोधमा उत्रिने नेकपा बैतडीका नेता महादेव भट्टले बताए । अनुसन्धान प्रभावित हुने भन्दै संयमता अपनाएको शंकरदत्त भट्टले बताए । 

धनगढीमा पनि विद्यालय र कलेजका विद्यार्थीले भागरथीलाई न्याय माग्दै प्रदर्शन गरिरहेका छन् । ‘निर्मलाको हत्यारा अझै पत्ता लागेको छैन । भागरथीको हत्यारा पनि पत्ता लागेको छैन । त्यसैले हत्यारा पत्ता लगाएर कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो’, आन्दोलनमा सहभागी करुणा चन्दले भनिन्, ‘हत्यारा पत्ता नलगाएमा मुख्यमन्त्रीको गेटमा हामी ताला लगाउँछौं ।’ एकातिर न्याय माग्दै दिनहुँजसो भइरहेका प्रदर्शन र अर्कोतिर अनुसन्धानबाट दोषी पहिचान हुन नसक्दा प्रहरी प्रशासन दबाबमा छ ।

प्रकाशित: २९ माघ २०७७ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App