१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

कम्प्युटर अपरेटरसहित दुई जना कारागार चलान

व्यक्तिको जग्गा किर्ते प्रकरण

जिल्ला अदालत सुर्खेतले एउटाको जग्गा अर्काको नाममा नामसारी गर्ने कार्यमा संलग्न मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । मंगलबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश विलप्रसाद सापकोटाको एकल इजलासले मालपोत कार्यालयका नायव सुब्बा विश्वरुप साउँदसहित छ जनालाई धरौटीमा छोड्न आदेश दिएको छ ।  

श्रेष्तेदार यामप्रसाद बास्कोटाका अनुसार मालपोत कार्यालयका सुब्बा साउँद र खरदार दीपेन्द्र श्रेष्ठलाई जनही पाँच–पाँच लाख, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का कार्यवहाक अध्यक्ष रामकुमार दर्लामी र वडा सचिव उत्तम अधिकारीलाई जनही दुई–दुई लाख र साक्षी बसेका चाँदनी वली र नारायण बुढाक्षेत्रीलाई दुई–दुई लाख धरौटीमा छोड्न आदेश दिइएको छ ।

वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्वरको छ कट्ठा जमिन असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमत्तोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरुलाई विक्री गरिएको थियो ।  

पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालिन प्रमुख लक्ष्मी खत्री, नायव सुब्बा विश्वरुप साउँद, खरदार दीपेन्द्र श्रेष्ठ, सुब्बा कमला सापकोटा, कृष्ण थापा, तिर्थ महतारा, कम्प्युटर अपरेटर सुनिल राना, नापी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र थापा, अमिन भिमलाल आचार्य, नापीका खरदार दीपेन्द्र पुलामी, जग्गा ख।िदकर्ता सहवीर कार्की, जग्गा कारोवारी सन्तोष ठाकुर, सुनिल राना, गणेशबहादुर बुढा, निर्मल पुरी, लेखनदास अम्मरसिंह कटुवाल, साक्षी चाँदनी वली, नारायण बहादुर बुढाक्षेत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्धा दर्ता गरेको थियो ।

तत्कालिन मालपोत कार्यालय सुर्खेतका प्रमुख खत्री हाल मालपोत कार्यालय काठमाडौंको कलंकी, सापकोटा मालपोत कार्यालय हुम्ला र थापा सुर्खेतको चिंगाड गाउँपालिकामा कार्यरत छन् ।  

जिल्ला सरकारी वकील कार्यालयका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ अन्र्तगत लिखत सम्वन्धी कसुरको दफा २६७ को उपदफा १ विपरितको कार्य र उक्त संहिताको परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्वन्धी कसुरको दफा २४९ को उपदफा १ बमोजिमको सजाय मागदावी गरेर अदालतमा पेश गरिएको हो ।

जिल्ला अदालत श्रेष्तेदार बास्कोटाले प्रहरीले अदालतमा उपस्थित गराएका आठ जना मध्ये दुईलाई पुर्पक्षका लागि थुनामा पठाउने र बाँकीलाई धरौटीमा छोड्ने आदेश भएको बताए । ‘फरार अभियुक्तका हकमा यसअघिनै पक्राउ पूर्जी जारी भइसकेको छ,’ उनले भने, ‘उनीहरु म्यादभित्र उपस्थित नभए थप प्रक्रिया अघि बढ्छ ।’

प्रकाशित: २७ माघ २०७७ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App