१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भागरथी हत्या प्रकरणः अपराधी उम्कन सक्ने भन्दै स्थानीय चिन्तित

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कंदै गर्दा भएको बलात्कारपछिको हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन। प्रहरीले सबै संयन्त्र प्रयोग गरिरहे पनि हत्यारासम्म पुग्ने भरपर्दो सुराक नभेट्दा अनुसन्धान जारी छ। प्रहरी अनुसन्धान लम्बिँदै जाँदा स्थानीय भने अपराधी उम्कन सक्ने भन्दै चिन्तित बनेका छन्।

जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरूले हत्यामा संलग्नको पहिचान छिटो गर्न दबाब दिइरहेका छन्। जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले राजनीतिक दलसँग छलफल गर्दै हत्यामा संलग्नको पहिचान गर्न कुनै कसर बाँकी नराख्ने विश्वास दिलाए। हरेक कोणबाट अनुसन्धान जारी रहेको भन्दै उनले कुनै हालतमा पनि अपराधीलाई उन्मुक्ति नदिइने बताए।

घटनाको दोषी पक्राउ नपर्दासम्म ढुक्क हुने अवस्था नभएको उल्लेख गर्दै कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले कुनै दबाब र प्रभावमा नपरी निष्पक्ष अनुसन्धान गरी हत्यामा संलग्नको पहिचान गर्न आग्रह गरे। सबै संयन्त्र, विधि तथा प्रक्रिया अपनाएर अनुसन्धान भइरहेको र अनुसन्धानले छिट्टै नतिजा दिने प्रजिअ जोशीले बताए।  

घटनामा प्रहरी प्रधान कार्यालयले पनि संवेदनशीलता देखाउँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीलाई अपराधस्थलको निरीक्षण र अनुसन्धानका लागि बैतडी पठाएको प्रजिअ जोशीले जानकारी दिए। डिआइजी सुवेदी आइतबारदेखि दोगडाकेदारमै छन्।

बिहीबारदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक (डिएसपी) पञ्चकुमार बाखू नेतृत्वको टोली पनि घटनाको प्राविधिक पक्षको विश्लेषणमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनक धामीका अनुसार घटना भएको समय आसपासमा बाटोमा हिँड्ने व्यक्ति, सवारीसाधनका धनी र भट्टका साथीहरूसँग सोधपुछ गर्ने काम भइरहेको छ। ‘शंकास्पद थुप्रैसँग सोधपुछ गरिएको छ, यद्यपि हालसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन,’ उनले भने, ‘अनुसन्धानमा कुनै कसर बाँकी राखिनेछैन।’

बुधबार विद्यालय गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो। बिहीबार बिहान उनको शव सडकबाट ५० मिटर तल झाडीमा भेटिएको थियो। शव रहेको स्थाननजिकै प्रहरीले उनको मोबाइल भेट्टाएको थियो। घटनाका दोषीलाई चाँडै कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन भन्दै स्थानीय, विद्यार्थी र राजनीतिक दलहरूले प्रदर्शन गर्दै आइरहेका छन्। निर्मला हत्याकाण्डकै झल्को दिने यो घटनाले आपराधिक गिरोहले प्रश्रय पाउने आशंका स्थानीयले व्यक्त गरेका छन्।

प्रकाशित: २७ माघ २०७७ ००:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App