१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

धरानमा कुकुर पाल्न उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने

फाइल तस्बिर

धरान उपमहानगरपालिका क्षेत्रभित्र कुकुर पाल्न स्थानीय तहमा दर्ता गर्नुपर्ने कार्यविधि पारित भएको छ। उपमहानगरको आज सोमबार बसेको कार्यपालिका बैठकले घर पालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन सम्बन्धी कार्यविधि २०७७ पारित गरेको छ। यो कार्यविधि घरमा पालिने र सडकमा छाडा छोडिएका कुकुरहरुको तथ्यांक राख्न, नियन्त्रण तथा व्यवस्थापन गर्न ल्याइएको उपमहानगरपालिकाले जनाएको छ। यो कार्यविधि राजपत्रमा प्रकाशित भएपछि लागु हुने र घरमा पालिने कुकुरहरुलाई पनि दर्ता गर्नुपर्ने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। उनले भने,‘घर पालुवा तथा सामुदायिक कुकुरलाई व्यवस्थापन गर्ने कार्यविधि पारित भएको छ। अबदेखि कुकुरलाई जथाभावी पाल्न, छाडा छोड्न पाइदैन।’

अबदेखि कुकुर पाल्नको लागि उपमहानगरपालिकामा दर्ता गर्नुपर्ने हुन्छ। उपमहानगरले कुकुरको दर्ता नम्बर र ट्याग दिइनेछ। कार्यपालिका सदस्य तथा वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार कुकुर पाल्न दर्ता गर्ने, अनिवार्य भ्याक्सिन लगाउनुपर्ने लगायत प्रावधानहरु छन्। यस्तै, सडकमा छाडा रहेका कुकुरहरुलाई पनि नियन्त्रण गर्नको लागि बन्ध्याकरण गर्नेलगायत व्यवस्था कार्यविधिमा राखिएको छ। कुकुरबाट हुने प्रदुषण रोक्ने पनि कार्यविधिको उद्देश्य रहेको उपमहानगरको भनाई छ।  

अध्यक्ष काफ्लेका अनुसार बैठकले उपभोक्ता समितिमार्फत हुने जनसहभागिताबारे पनि महत्वपुर्ण निर्णय गरेको छ। आधारभुत बस्तीहरुमा ४० प्रतिशत जनसहभागिता लगानी गर्न नसक्ने अवस्था भए निर्णय गर्ने अधिकार वडाअध्यक्षलाई दिने निर्णय गरिएको पनि उनले जानकारी दिए। ‘कतिपय आधारभुत बस्तीहरुमा ४० प्रतिशत जनसहभागिता उपलब्ध हुन सक्दैन, त्यस्ता वस्तीहरुमा के कति जनसहभागिता गराउने भन्ने निर्णय गर्ने अधिकार वडाअध्यक्षलाई दिइएको छ,’काफ्लेले भने,‘वस्तुस्थिति हेरेर १० देखि ५० प्रतिशतसम्म जनसहभागिता लगाउने अधिकार अध्यक्षलाई दिइएको छ।’

बैठकले उपमहानगरपालिकाको तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, अध्ययन भ्रमण आदिको पारिश्रमिक, भत्ता एवं अन्य खर्चको मापदण्ड २०७४ को संशोधित कार्यविधिलाई पनि पारित गरेको छ। यस्तै, बैठकले खानेपानी मुहानको उपयोगका लागि ३ वटा उपभोक्ता समितिहरुलाई मुहानको अनुमति दिई दर्ता गर्ने निर्णय पनि गरेको छ। खानेपानी उपभोक्ता समितिहरुलाई मुहान अनुभति तथा दर्ता गर्ने क्षेत्राधिकार अहिले स्थानीय तहमा आएको छ। सोही बैठकले वडा कार्यालयहरुमा रहने मेलमिलाप केन्द्र सम्बन्धी कार्यविधि पनि पारित गरेको जानकारी वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए। बैठकले नगरसभाको मिति आगामी फागुन १० गते सोमबार तोक्ने निर्णय गरेको छ भने मंगलबार दिउँसो ३ बजे बैठक बस्ने गरि कार्यपालिका बैठक स्थगित भएको उनले बताए।  

 

 

प्रकाशित: १९ माघ २०७७ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App