१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरामा संसद विघटनविरुद्ध नागरिक समाजको आन्दोलन सुरु

तस्बिर : उमेश पुन/नागरिक

पोखरामा  नागरिक समाज संसद विघटनविरुद्ध आन्दोलित भएका छन् । काठमाडौंमा नागरिक समाजले दैनिक आन्दोलन गरिरहँदा पनि मौन बसेको पोखरेली नागरिक समाजले शनिबारदेखि बृहद नागरिक आन्दोलन–पोखरा शुरु गरेको हो । नागरिक अगुवाहरु गनेस पौडेल, उपेन्द्र पौडेल, राजेन्द्र पौडेल, सुनिल सिग्देल, तीर्थ गुरुङ, अनिकर्मा, सुदर्शन पौडेल, आस्था नेपाली, निर्मला न्यौपाने र हेमन्त पहारीको आह्वानमा शनिबार पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म ¥याली निकालिएको हो ।

र्‍यालीमा सहभागिहरुले सांगीतिक प्रस्तुती दिनुका साथै प्लेकार्ड बोकेका थिए । साथै प्रतिगमन मुर्दाबाद, संसद पुर्नस्थापना गर, लोकतन्त्रको रक्षा गरौंलगायतका नाराहरु लगाएका थिए ।

असंवैधानिक रुपमा संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनमा लगेकाले त्यसको विरोध स्वरुप बृहद नागरिक आन्दोलन गरिएको अभियन्ता गनेस पौडेलले बताए । कदमले देशलाई अधिनायकवादतर्फ धकेलेको र अहिले नबोल्ने हो भने वाक स्वतन्त्रतासमेत धरापमा पर्ने स्थिति आएकाले आन्दोलनमा होमिनु परेको उनको भनाई छ । ‘अब पनि हामी जागेनौं, बोलेनौं र चुप लागेर बस्यौं भने यो भन्दा ठूलो आत्मघात र राष्ट्र भन्दा कम हुने छैन’,उनले भने ।

अभियन्ता पौडेलले प्रधानमन्त्री ओली र उनका समर्थकहरुले बाध्यताले संसद विघटन गर्ने कदम चालेको भनेर तर्क गरेकोप्रति आक्रोस व्यक्त गर्दै उनले भने, ‘आफ्नो घर भित्रको झगडामा तिमी आफ्नै घरमा मात्र आगो लगाउ त्यो सहन सकिन्छ, तर गाउँमा आगो लगाउने अधिकार तिमीलाई छैन ।’ प्रधानमन्त्री ओलीले आफ्नो घर झगडाका कारण नेपाल रुपी गाउँलाई नै आगो लगाउको उनको आरोप छ । उनले संविधान कुल्चिनु भनेको नेपाल आमाको टाउकोमा लात्ती हान्नु जस्तै भएको भन्दै त्यस्तै काम केपी ओलीले गरेको टिप्पणी गरे ।

नागरिक अभियन्ता निर्मला न्यौपानेले प्रधानमन्त्रीका कारण व्यबस्था नै धरापमा परेको भन्दै ब्यबस्था बचाउनका लागि नागरिक आन्दोलन अपरिहार्य भएको बताईन् । ओलीको कदम प्रतिगमन नै भएको बताउँदै उनले अब प्रतिगमन र अग्रगमनबीच ध्रुविकरण हुन जरुरी रहेको बताईन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले ओलीले देशलाई व्यक्तिको लहडमा चलाउन खोजेको आरोप लगाए । ओलीको संसद विघटन गर्ने कदमले देशलाई अँध्यारो सुरुङमा फसाएका कारण सम्पूर्ण नेपालीको भविष्य नै अनिश्चित बनेकाले ओलीलाई जनताले माफी दिन नसक्ने बताए ।अभियन्ता सुदर्शन पौडेलले बृहद नागरिक आन्दोलन अब निरन्तर चल्ने बताए ।

प्रकाशित: १७ माघ २०७७ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App