२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कार्यालय सहयोगीदेखि उपसचिवको यात्रा

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको छ। २०४५ जेठ २५ गते बुवा आईतवीर थापा र आमा पार्बती थापाको कोखबाट कान्छो छोराका रुपमा जन्मीएका कमानका आमा बुवा दुवैले स्कुलका कक्षा कोठा पस्ने अवसर पाएनन्।  

२ भाइ ३ बहिनी मध्येका कान्छो सन्तान उनले जिल्ला बन कार्यालय रोल्पाबाट पियनको जागरि सुरु गरेका थिए। २ कक्षामा पढ्दा बुवा प्यारालाईसिस भएर ओच्छ्यान परेपछि परिवारलाई समस्याको पहाडले थिच्यो। ‘आमाले दु:ख गरेर पढाउनु भएको हो। घरमा ६ महिना पनि खान पुग्ने सम्पत्ति थिएन। धेरै पटक पढाई छोड्नु पर्ने अबस्था आउँथ्यो।’ कमान विगत सम्झिन्छन् ‘शनिबार दिनभर जंगलमा दाउरा खोजेर बेचेको पैसाले पढे। जति पढे कमाउँदै पढे।’

गाउँमै रहेको विद्यालयमा प्राविसम्म पढेका उनी कक्षा ६ देखि सदरमुकाममा रहेको बाल कल्याण मावि पुगे। २०६१ सालमा द्धितिय श्रेणीमा एसएलसी सकाएका उनी जीवनमा अनुत्तिर्ण कहिले नभएको बताउँछन। स्नातक, एलएलवी र एमपिए अध्ययन गरेका कमानले घर धान्नका लागि १७ वर्षकै उमेरमा बिहे गरेका थिए।  

एसएलसी नगर्दै बुवाको मृत्यु भए पछि कमानले २०६३ माघ २० गते जिल्ला बन कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम सुरु गरे। खुला प्रतिस्पर्धा भएका कारण पियनमा नाम निस्किएको उनको दाबी छ। २०६४ सालमा खरिदार तयारी गरे। २०६५ सालमा जिल्लाका ४ वटा एनजिओले सामाजिक परिचालक माग गरे तर लिखितमा नाम निस्कीए पनि अन्तर्वार्तामा छानिएन। उनलाई त्यो बेला जिल्लाकै एक विद्यालयले लाइब्रेरियनमा पनि उनलाई छनोट नगरेको बताउँछन्।  

‘पावर नचल्ने तर क्षमता चल्ने ठाउँ लोकसेवा मात्र थियो त्यतै लागे। २०६६ मा एक नम्बरमा खरिदार सिफारीस भए। त्यो बेला भर्खर १२ सकाएको थिए। जिविस अन्तर्गत करेटी गाविसमा सचिवका रुपमा काम गरे। हैन सकिने रैछ भनेर नायब सुब्बाको परीक्षमा उनी लागे। २०६७ मा सुब्बा निस्कीयो। फेरी गाबिस सचिब बने। त्यो बेला राक, तालावाङ, करेटी र लिवाङ गाविसको जिम्मा पाए। जागीर र बिएसँगै पढ्दै गरे। २०६९ मंसिरमा बिए सकियो। त्यहि मंसिरमा अधिकृत जाँच दिए उनले। २०७० मा अफिसरमा नाम निस्कीयो। सुरु पोष्टिङ जिल्ला मालपोत कार्यालय रोल्पाको प्रमुखका रुपमा भयो। पछि दाङको त्रिपुर नगरपालिका, रोल्पा नगरपालिका हुँदै उर्जा मन्त्रालयमा मन्त्री बर्षमान पुनको प्रमुख नीजि सचिबको जिम्मेवारीमा बसे।’  

‘मन्त्रालयमा कामको लोडको जिम्मेवारीका बीचमा पहिलो पटकमै उपसचिवमा नाम निस्कीयो। बिपन्न परिवारको म। जनताको सेवा नै प्रमुख हो। हिजो त्यहाँ थिए आज यहाँ छु। सजिलै पाएको चाहि होईन। मलाई सहयोग सल्लाह दिनेलाई सम्झीरहेको छु। क्यारीएर र जनताको सेवामा मेरो ध्यान छ। लक्ष लियो भने सकिन्छ।’ ३३ वर्ष पुग्नै लाग्दा उपसचिव भएका कमानले कुनै दिन सचिवको यात्रा ताकेका छन्। ‘लेखेर निस्केन भने पनि ५०।५१ वर्षको उमेरमा सचिव त होईन्छ’ उनी विश्वास व्यक्त गर्छन्।  

उनि भन्छन् ‘खरिदार सुब्वा हुँदादेखि नै प्रमुख जिम्मेवारी पाएको छु। अफिसर हुँदा पनि प्रमुख कै जिम्मेवारीमा राज्यले पत्याएको छ। अब पनि त्यस्तो मौका आउला भन्ने अपेक्षा छ। जहाँ गए पनि ईमानदारिताका साथ जनताको पक्षमा काम गर्छु।’  

कमान उपसचिवमा सिफारीस भए पछि उनी र उनको परिवार मात्र नभएर रोल्पा नै खुसि भएको छ। राज्य सत्ताको उपल्लो ओहोदामा राजनीति गर्नेहरु पुगे पनि कर्मचारीको गतिलो पहुँच नभएको अबस्थामा कमानले उपसचिवमा नाम निकाले पछि रोल्पालीहरु खुसि भएका हुन। ‘रोल्पालाई खुसिका कुरा हो। मान्छे क्षमतावान हो।’ कमानसंग केहि समय काम गरेका रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसि भन्छन् ‘उहाँ उपसचिव हुनु रोल्पा र रोल्पालीका लागि खुसिको कुरा हो।’ उनि जस्तै पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने पनि कमान महत्वपुर्ण पदमा पुग्नु सुखद भएको बताउँछन।

 

प्रकाशित: १४ माघ २०७७ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App