१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

हटेन तारबार, पुरिएन ट्रेन्च

सीमामा जैविक मार्ग अवरुद्धको दुई वर्ष

क्याप्शन –सीमामा पर्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा दुईवर्ष अघिदेखि लगाइएको काँडेतार र खनिएको ट्रेन्च । तस्बिरः पुष्पराज जोशी \नागरिक

अन्तर्राष्ट्रिय जैविक मार्ग रहेको नेपाल–भारत सीमा गौरीफन्टा नाकामा भारतीय पक्षले एकलौटी रुपमा ट्रेन्च खनेर काँडे तारबार लगाएको माघ ११ गते दुई वर्ष बित्यो । तर, अहिलेसम्म कुटनीतिक पहल हुन नसक्दा न त तारबार हटाइएको छ, न त खनिएको ट्रेन्च नै पुरिएको छ ।  

२०७५ माघ ११ गते  भारतीय पक्षले गौरीफन्टा नाका रहेको डोकेबजारको सीमा क्षेत्रमा करिब ३ किलोमिटर क्षेत्रमा गहिरो खाल्डो खनी माटोको अग्लो ट्रेन्च बनाएर त्यसमाथि काँडे तार लगाएको थियो । नेपालको अनुमतिबिना एकलौटीरुपमा सीमामा ट्रेन्चमाथि काँडे तारबार गरिँदा अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुनुका साथै माटोको ड्यामका कारण नेपाली भू–भागबाट वर्षात्को पानी दक्षिणतिर बग्ने बाटो अवरुद्ध भएको थियो । स्थानीय वासिन्दा, नेपाली सञ्चार माध्यम, स्थानीय प्रहरी प्रशासन, वन कार्यालय तथा वन्यजन्तुका क्षत्रमा काम गरिरहेकाहरुले विरोध गरे पनि भारतीय पक्षले अटेर गर्दै तारबार लगाएको थियो । सर्वत्र विरोध हुँदा त्यसबेला सीमा सम्बन्धी संयुक्त सर्भे टोलीको नेपालमा सम्पन्न बैठकमा सहभागी हुन आएका भारतको लखिमपुर जिल्लाका तत्कालीन डिएम शैलेन्द्र सिंहले सीमामा जैविक मार्ग अवरुद्ध हुनेगरी तारबार लगाएको बारेमा आफूलाई जानकारी नभएको बताए पनि  दुवै देशबीच छलफल गरेर तारबारको समस्या समाधान प्रतिवद्धता व्यक्त गरेको थिए । तर, भारतीय पक्षले एकलौटीरुपमा आफूखुसी अहिलेसम्म तारबार हटाउने बारेमा प्रभावकारी छलफलै भएको छैन ।

सीमामै काँडे तारबार गरिँदा दुधुवा नेसनल पार्कबाट नेपालको मोहना–लालझाडीमा आउने वन्यजन्तुको अन्तर्राष्ट्रिय जैविक मार्ग  थुनिएको भन्दै वन्यजन्तु संरक्षण कार्यमा संलग्न संरक्षणकर्मीहरुले विरोध जनाउँदै आएका छन् । अन्तर्राष्ट्रिय जैविक मार्गका रुपमा हेरिएको दुधुवा नेसनल पार्क र नेपालको मोहना–लालझाडी जोड्ने एकमात्रै वन क्षेत्रलाई भारतले एकलौटी रुपमा काँडेतार लगाउनु अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि सम्झौता विपरीत भएको वनविज्ञ तथा पूर्व डिएफओ रमेश चन्दले बताए । उनले भने,‘कञ्चनपुरको डोकेबजारमा भारतले दुई वर्षअघि आफूखुसी लगाएको काँडे तार अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि सम्झौताविपरीतको कार्य हो, यसलाई अहिलेसम्म हटाउन पहल नहुनु राष्ट्रले वेवास्ता रहेको महसुस भएको छ ।’ उनले दुई वर्षदेखि अवरुद्ध भएको अन्तर्राष्ट्रिय जैविक मार्ग खुलाउन नेपालको कुटनीतिक नियोगबाट पहल गरिनुपर्ने बताए । जैविक मार्गमा काँडेतार लगाइँदा भारत–नेपाल ओहर–दोहोर गर्ने वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गइरहेको बताउँदै स्थानीय भुलिया रानाले भनिन्,‘अन्तर्राष्ट्रिय जैविक मार्ग अवरुद्ध हुँदा विगत दुई वर्षदेखि नेपालबाट भारततर्फ जाने वन्यजन्तुहरु बाटो नपाउँदा पुनः गाउँबस्तीमै फर्कने गरेका छन्, जसले गर्दा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको छ । ‘अन्तर्राष्ट्रिय जैविक मार्ग भएर भारतको दुधुवा नेसनलपार्क जाने वन्यजन्तु काँडेतारले छेकिँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै छ,’ उनले भने, ‘त्यो ठाउँमा कुनै पनि हालतमा तारबार गर्नै पाइँदैन, तर तारबार गरेको दुई वर्ष वितिसक्दा पनि हटाउन पहल गरिएको छैन ।’  

दुधुवा–मोहना–लालझाडी जैविक मार्गमै पर्ने दसगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको तारबार अन्तर्राष्ट्रिय जैविक मार्गको महासन्धिविपरीत भएको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐर बताउँछन् । ‘लालझाडी–दुधुवा जैविक मार्ग भएर आवत–जावत गर्ने वन्यजन्तुको आवागमनलाई भारतले लगाएको काँडेतारले विगत दुई वर्षदेखि पूर्णरुपमा रोकिएका छन्,’  ऐरले भने,‘सीमा क्षेत्रमै वन्यजन्तुलाई आवतजावतमा अवरोध पार्नेगरी भारतले लगाएको तारबारले जंगली जनावरको बाटो नै अवरुद्ध भएको छ, यसलाई हटाउन दुई वर्षदेखि पहल हुन सकेको छैन ।’ यस्तै भारतीय पक्षले दुई वर्ष अघि नै कैलालीको सीमा गौरीफन्टा नाका र कैलारी गाउँपालिकाको सीमा क्षेत्रमा भारतले  ट्रेन्च खनेर त्यसमाथि काँडे तार लगाई वन्यजन्तुको ओहोर दोहोर गर्ने बाटो अवरुद्ध पारेको भन्दै उनले आपत्ती जनाएका छन् । ‘जैविक मार्गबाट वन्यजन्तु आउजाउमा नेपाल र भारत पक्षले कुनै अवरोध गर्न पाइँदैन,’ उनले भने,‘यो अन्तर्राष्ट्रिय जैविक मार्गको सन्धि सम्झौता विपरीत कार्य हो ।’ लालझाडी–दुधुवा जैविक मार्गमा दुवै मुलुकका संरक्षित वन्यजन्तुलाई ओहोर–दोहोरमा सहयोग पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय जैविक मार्गको अवधारणा अघि सारिएको थियो ।   

प्रकाशित: १४ माघ २०७७ ०९:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App