२ असार २०८१ आइतबार
image/svg+xml
समाज

मतदाता नामावली अद्यावधिक गरिँदै

निर्वाचन आयोगले जिल्ला–जिल्लामा मतदाता नामावली अद्यावधिक गर्दैछ। आउँदो १५ देखि २१ गतेसम्म देशका ७ सय ५३ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो।  

यो अवधिमा मतदाता नामावलीमा भएको नाम हटाउन र सच्याउन पाइएपनि नयाँ नाम दर्ता गर्न र मतदानस्थल सार्न भने पाइने छैन। मृत्यु भएर, बसाइँ सरेर वा अन्य कारणले मतदाता नामावलीको नाम हटाउन सकिने तर नयाँ थप नहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले नयाँ मतदाता थपिने र आफ्नो मतदान केन्द्र सार्ने समय गत पुस १५ मै सकिएको बताए। ‘माघ १५ मा सबै स्थानीय तहले मतदाता नामावली प्रकाशन गर्नेछन्,’ उनले भने, ‘त्यसमा भएको विवरण सच्याउने, मृत्यु भएका, बसाइँ सरेका र विवाह भएका व्यक्तिको नाम अद्यावधिक गर्ने काम हुनेछ।’  

कार्यालयका अनुसार कोही बसाइँ सरेको तर उसले मतदाता नामावली नसारेको भए पुरानै स्थानबाट मतदान गर्न पाउनेछ। तर, स्वयं व्यक्तिले नामावली सार्न निवेदन दिएमा वा बसाइँ सरेर गएको प्रमाण पुग्नेगरी दाबी–विरोध परेमा नामावलीबाट नाम हटाइनेछ। बसाइँ सरेर गएको स्थानमा मतदाता नामावली अद्यावधिक नगरे चाहिँ उसले मतदान गर्न नपाउने व्यवस्था रहेको काफ्लेले बताए। तर, अहिले बसाइँ सरेर गएको स्थानमा नयाँ नामावली थप्ने, सार्नेजस्ता कामको समय सकिइसकेको छ।  

कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न जिल्लाका १० वटै स्थानीय तहका १÷१ कर्मचारीलाई तालिम दिइसकेको छ। ‘तालिम लिएका कर्मचारीले आफ्नो स्थानीय तहका सबै वडाको विवरण अद्यावधिक गर्नेछन्,’ उनले भने, ‘स्थानीय राजनीतिक दलहरूलाई समेत मतदाता नामावली अद्यावधिकको सहजताका लागि स्थानीय तहका कर्मचारीसँग समन्वय गर्न आग्रह छ।’  

जिल्लामा २०७४ सालको निर्वाचनमा २ लाख ४ हजार ५४ मतदाता रहेकामा गत पुस ५ सम्म १० हजार ७ सय ८२ जना थपिएर कुल मतदाता संख्या २ लाख १४ हजार ८ सय ३६ पुगेको छ। तर, आउँदो १५ देखि २१ गतेसम्म अद्यावधिक हुने विवरणपछिमात्र मतदाता संख्याको अन्तिम टुंगो लाग्नेछ।

प्रकाशित: १४ माघ २०७७ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App