१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

स्याहारले मात्र जोगिन्छ सुन्तला

इलाम नगरपालिका–५, बरबोटेका किसान सामवेद चापागाईंको बगानमा फलेको सुन्तला। तस्बिर : भीम

जिल्लाभर सुन्तला उत्पादनमा गिरावट आएका बेला केही किसानको उत्पादन भने बढेको छ। उत्पादन घटेपछि मूल्य बढ्दा मेहनती थोरै किसानलाई चाहिँ यसैबाट राम्रो फाइदा पनि पुग्दैछ।

इलाम नगरपालिका–५, बरबोटेका किसान सामवेद चापागाईंले गतवर्ष ३ लाख ७० हजार रुपैयाँमा बेचेको बगान यो वर्ष साढे ४ लाख रुपैयाँमा बेचे। आफ्नो बगानमा फल राम्रो लागेको र बजारमा सुन्तलाको मूल्य राम्रो भएका कारण अहिले आफूले पनि उच्च भाउ पाएको उनले बताए। ‘सोमबार झापाका व्यापारी आएर सुन्तला बगान किनेका छन्,’ उनले भने, ‘पुरानै बोटमा पनि राम्ररी स्याहार गर्दा उत्पादन राम्रो भयो। नयाँ बोट पनि छन्।’  

चापागाईंले मौसमअनुसार बोट स्याहार गर्दा उत्पादन बढेको बताए। यतिबेला उनको बगानमा लटरम्म सुन्तला छ तर उनले नयाँ फलका लागि मलजल गर्न थालिसकेका छन्। ‘म सुन्तलाका लागि गाईको मल नै प्रयोग गर्छु,’ उनले भने, ‘जीवातु (जैविक मल)ले चाहिँ सुन्तलालाई काम दिएन।’ उनले बगानमा ५ सय बोट सुन्तला रोपेका छन्। सुन्तलाको बगान भएकै जमिनमा अलैची, अदुवा, तरकारी, मकै र अन्य बाली पनि लगाएका छन्। तर, अलैंची लगाएको र बढी चिसो भएको जमिनमा चाहिँ सुन्तलालाई असर पुग्नेगरेको अनुभव उनले सुनाए। ‘बढी चिसो भयो भने चाहिँ सुन्तलाको बोट मर्दोरहेछ,’ चापागाईंले भने, ‘प्राविधिक हिसाबले सुन्तलालाई बोटमा धेरै नै मेहनत आवश्यक पर्छ।’  

जिल्लामा अहिले बोट पुरानो हुँदा र समयअनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको छ। किसानका अनुसार यो वर्ष कतै ५० प्रतिशत र कतै २५ प्रतिशतसम्म उत्पादन घटेको हो। खेती र स्याहार गर्ने आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले भनेजस्तो गरी सुन्तला उत्पादन गर्न नसकेका हुन्।  

केही वर्षअघिसम्म जिल्लामा ‘सुन्तलाको राजधानी’ मानिने रोङ गाउँपालिका–६ सलकपुरको सुन्तला सबैजसो मासिइसकेको छ। यहाँका एकै किसानले उत्पादन राम्रो भएका बेला एकै सिजनमा ६ लाख रुपैयाँसम्मको सुन्तला बेचेका थिए। ३ देखि ५ लाख रुपैयाँसम्मको सुन्तला बेच्ने किसान गाउँभर नै थिए। तर, करिब ३ वर्षयता यहाँबाट एकै दाना सुन्तला पनि बिक्रीका लागि बाहिर पठाउन नपाएको किसानको भनाइ छ। ४ वर्षअघि ३ लाख रुपैयाँको सुन्तला बेचेका किसान नन्दलाल अधिकारीको बगानमा अहिले सुकेका सुन्तलाका बोट मात्रै छन्। ‘पहिला ३ लाख रुपैयाँमा बेचेको बगानमा अहिले बोटै छैन,’ उनले भने, ‘मेरोमात्र होइन, गाउँमा सबैको बगानको अवस्था उही छ।’

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका अधिकांश स्थानमा सुन्तला उत्पादन घटेको छ। स्याहार नपुग्दा सुन्तलाको बोटसमेत मासिएको केन्द्रले जनाएको छ। केन्द्र प्रमुख टोनी बर्देवाले बोट पुरानो भएको र मौसमअनुसार सुन्तलालाई गर्नुपर्ने हेरचाह अभावले उत्पादन घटेको बताए। सुन्तलाको बोट डाइब्याक (टुप्पोदेखि मासिँदैजानु) भएका कारण उत्पादन ह्रास (साइट्रस डिसलाइन) भएको उनले जनाए। ‘बिरुवा रोपेको करिब १२ वर्षपछि यस्तो समस्या देखिन्छ,’ उनले भने, ‘बीउबाट सोझै उमारिएको बिरुवामा यो समस्या बढी देखिन्छ।’  

तर, सुन्तला ह्रास हुनुलाई कुनै जीवाणु/विषाणुका कारण निम्तिने रोग नभई विभिन्न कारणले हुने विकार मानिएको छ। यो समस्या देखिएपछि सुन्तलाको उत्पादन, उत्पादनको अवधि र फलको आकारसमेत घट्ने कृषि प्राविधिक बताउँछन्। ‘जिल्लामा यो समस्या धेरैतिर देखिएको छ,’ बर्देवाले भने, ‘सुन्तलाको पात पहेंलिने, छिर्बिेरे हुने, चिचिला झर्ने र टुप्पोदेखि बोट मर्दैजाने समस्या छ।’ माटोमा खाद्यतत्व अभाव भएपछि पनि बोटमा उत्पादन घट्ने उनले बताए।  

केन्द्रका अनुसार माटो र पानी संरक्षण गरेरमात्र सुन्तला खेती गर्नुपर्छ। खडेरी र लामो समय वर्षा हुँदा पनि सुन्तलालाई असर पुग्छ। बिरुवा रोप्दा तीनपाते सुन्तलाको जरा भाग जोडी तयार गरिएको बिरुवामात्र रोप्न र बगानबाट पुराना बोट हटाएर नयाँ बिरुवा लगाउन पनि केन्द्रले किसानलाई सुझाएको छ।  

जिल्लाबाट गत आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ८ सय ४० मेट्रिक टन सुन्तला निकासी भएको छ। यसबाट १८ करोड ४० लाख रुपैयाँ आम्दानी भएको केन्द्रको तथ्यांक छ।  

 

प्रकाशित: ६ माघ २०७७ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App