१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सवा १६ करोडमा बायो सेफ्टी प्रयोगशाला निर्माण हुने

पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न बागमती प्रदेश सरकारले बायो सेफ्टी प्रयोगशाला निर्माण गर्ने भएको छ। करिब १६ करोड ३८ लाख रुपैयाँको लागतमा पशु तथा मत्स्यमा लाग्ने रोगको पहिचान गर्न अत्याधुनिक प्रयोगशाला निर्माण गर्न लागिएको हो।

प्रयोगशाला निर्माण गर्नका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच समझदारी भएको छ।  समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डा. मतिना जोशी बैद्य र विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. शारदा थपलियाले सोमबार हस्ताक्षर गरे। दुई वर्षमा प्रयोगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।

बागमती प्रदेशले निर्माण गर्न लागेको बायो सेफ्टी लेवल टू प्लस प्रयोगशाला राजधानी बाहिरको पहिलो हो। अहिलेसम्म काठमाडौंमा मात्र यो प्रयोगशाला रहेको छ।

पशुमा विभिन्न प्रकारका रोग लागेर मृत्यु हुँदा किसानले ठूलो क्षती व्यहोर्नु परेकाले यसलाई निराकरण गर्नका लागि प्रयोगशाला निर्माण गर्न लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमतीकासचिव डा. मतिना जोशी बैद्यले बताइन्। ‘रोगको पहिचान नभएर धेरै पशुहरु मर्ने गरेका छन्,’ वैद्यले भनिन्, ‘समयमा नै पशुमा लाग्ने रोगको पहिचान गरेर उपचारमा सघाउ पुर्योिउन प्रयोगशाला निर्माण गर्न लागेका हौं।’

प्रयोगशालामा उच्च प्रविधिर्को भएकाले नयाँ रोगको पनि पहिचान गर्न सजिलो हुने विश्वास गरिएको छ। विश्वविद्यालयले रोग सम्बन्धि अध्ययन अनुसन्धान पनि गर्नेछ। चितवनमा स्थापना गर्न लागिएको प्रयोगशालाबाट किसानले फाइदा लिन सक्नेछन्। अहिले क्लाइमेट चेन्जका कारण पशुहरुमा विभिन्न रोगव्याधी देखिन थालेकाले अध्ययन, अनुसन्धान गरेर पूर्व सावधानी अपनाउन पनि टेवा पुग्ने विश्वास गरिएको छ।

प्रयोगशालावाट बर्ड फ्लू लगायतका भाईरस तथा पशुपन्छीमा लाग्ने ब्याक्टेरियाहरुको अनुसन्धान तथा अन्बेषण हुने मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए। ‘बागमती प्रदेश पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको अवस्थामा यसले थप सघाउ पुग्ने छ,’ अधिकारीले भने।

प्रयोगशालाले किसानहरुलाई सहयोग पुग्ने मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. शरण कुमार पाण्डे जानकारी दिए।  पाण्डेका अनुसार प्रयोगशाला निर्माणबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी ज्ञान र सीपको थप विकास  गर्न सघाउ पुग्नेछ।

प्रयोगशाला सञ्चालनको जिम्मेवारी विश्वविद्यालयको रहनेछ। पशुपालनको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न पनि सघाउ पुग्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पुण्य प्रसाद रेग्मीले बताए।

प्रयोगशाला स्थापनाको लागि आवश्यक पर्ने जमिनको व्यवस्था विश्वविद्यालयले गरेको छ। प्रयोगशाला निर्माण पश्चात विश्वविद्यालयलाई हस्तान्तरण गर्ने जनाएको छ। प्रयोगशालाको सञ्चालन तथा मर्मतको लागि आवश्यक खर्च र दिगोपनको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिने भएको छ। विश्वविद्यालयले कृषक र व्यवसायीलाई प्रयोगशाला सम्बन्धि सेवाहरु सर्वसुलभ रुपमा उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ।

 

 

प्रकाशित: ५ माघ २०७७ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App