coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हिमाली भेगमा घरबाट निस्कन पनि गाह्राे

कोरोनाले गाउँमै रोकिएका बासिन्दा हिमपातको चपेटामा

माथिल्लो मनाङमा भएको हिमपात । तस्बिरः नागरिक

हिमाली जिल्ला मनाङको नार–फू (करिब ११ हजार फिट) को बस्तीका नागरिकले यतिबेला रातीको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन् । दिउँसोको समयमा पनि माइनस ७ डिग्रीमा नार र फू का बासिन्दाले दैनिकी गुजारिरहेका छन् । घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहान बेलुकी घरबाहिर निस्कन पनि सकस छ गाउँलेलाई ।

कोरोनाको कहर नहुँदो हो त यो बेला ना र फू गाउँका अधिकांश घर रित्तै हुन्थे । उमेरका केही युवा मात्र गाउँमा हुन्थे । महिला, बालबालिका, वृद्धवृद्धा सहर (पोखरा, काठमाडौं, बेशीसहर) झरेका हुन्थे । तर, कोरोनाको डरले यो पटक ती गाउँले सहर झर्नबाट रोकिए । गाउँमै अडिएका दुर्गम गाउँका ती बासिन्दा अहिले ठिहि¥याउँदो चिसोमा मुटु कमाउँदै बसिरहेका छन् । गाउँलेहरु हिमपातको चपेटामा परेका छन् ।

मनाङको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरीङ लामा भन्छन, ‘मुटु कमाउने चिसो छ । हिजोदेखि हिउँ पर्न थालेको छ । रातमा माइनस १५ र दिनमा माइनस ७ को चिसोमा बस्नुपरेको छ ।’ उनका अनुसार यो बेला पोहोर–परार अधिकांश गाउँले जाडो छल्न सहर झरिसकेका हुन्थे । घर कुरेर बसेका सिमित व्यक्ति मात्र गाउँमा भेटिन्थे तर, अहिले भने कोरोनाले गर्दा अधिकांश बासिन्दा गाउँमै रोकिएको उनले बताए ।  

‘बाहिरबाट हेर्दा त अरु समस्या केही छैन । दाउराको आगो ताप्ने, रासन खाने र बस्ने गरेको देखिन्छ । तर, हिडडुल सकसपूर्ण छ । घरबाट बाहिर निस्कन पनि कठिन छ,’ उनले भने, ‘अहिले नै ५÷६ इन्च हिउँ जमेको छ । यो भन्दा बढी प¥यो भने त गाउँ डुल्न पनि कठिन हुन्छ ।’ चिसो अधिक हुँदा गाउँमा खानेपानीको अप्ठेरो रहेको अध्यक्ष लामाले सुनाए । ‘सबैतिर पानी जमेको छ । पानी जमेपछि केही दुरीको खोलामा गएर मात्र पानी ल्याउन मिल्छ,’ उनले भने, ‘धारामा पानी आउन छाडेको लामो समय भईसक्यो ।’ जाडो छल्न सहर झर्न नपाउँदा यो पटक बुढाबुढी, बालबालिका र महिलालाई बढि सकसपूर्ण अवस्था आएको उनले बताए ।  

पश्चिमी वायुको प्रभावले तीनदिनसम्म मौसममा बदली आउने मौसमविद्ले बताएका छन् । मौसमविदको भनाई अनुसार सोमबारदेखि चिसो पनि ह्वात्तै बढेको छ । यही प्रभावसँगै उच्च हिमाली भेगमा हिमपात पनि सुरु भईसकेको छ । हिमाली भेगमा चिसो बढ्दा त्यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङको माथिल्लो भेगमा ह्वात्तै चिसो बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार सोमबार बेलुकीदेखि हिउँ पर्न थालेको हो । ‘झन्डै एकफिट हिउँ जमेको छ । रातभर र बिहानैदेखि हिमपात भईरहेको छ,’ गौतमले भने, ‘चिसो पनि उत्तिकै छ ।’ उनका अनुसार तापक्रम पनि निकै कम छ । रातमा माइनस १५ र दिनमा पनि माइनस एक डिग्रीमा तापक्रम झरेको उनले बताए । उनले पनि अधिक चिसोले गर्दा पानी पाउन पनि सकस रहेको बताए । सबैतिर पानी जम्दा दैनिकी नै कठिनपूर्ण बनेको छ । उनले पनि यो पटक चिसो छल्न सहर झर्न नपाउँदा स्थानीयबासिले पीडा खेप्नुपरेको बताए ।

अर्काे हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको दैनिकी पनि चिसोले कष्टपूर्ण बनेको छ । मुस्ताङको माथिल्लो भेग लोमान्थाङको तापक्रम माइनस १६ डिग्रीमा झरेको स्थानीय व्यवसायी छेवाङ गुरुङले बताए । उनका अनुसार सोमबार बिहानैदेखि अधिक चिसो बढ्न थालेको थियो । चिसो हावाले जनजीवन समेत प्रभावित भएको उनले बताए । मंगलबार बिहानदेखि हिमपात सुरु भएको गुरुङले बताए  ।  

छेवाङका अनुसार लोमान्थाङ क्षेत्रमा मंगलबार बिहान ४ बजेदेखि हिमपात भईरहेको छ । हिमपातले त्यहाँको जनजीवन पनि प्रभावित भएको गुरुङले बताए । ‘चारइन्च जति मात्र हिउँ जमेको छ । अझै हिमपातको सम्भावना छ । चिसो पनि निकै नै बढेको छ,’ उनले भने, ‘हिमाली भेगमा हिमपात हुनु त राम्रो हो । तर यो पटक सबै गाउँले गाउँमै रहँदा हिमपातको चपेटामा परेका छन् । कोरोनाले गर्दा सहर जान रोकिएका गाउँले हिमपातको मारमा परेका छन ।’

चिसोका कारण गाउँलेको चहलपहल पनि कम छ । टाढाको दुरीसम्म हिडडुल समेत नगरेको उनले बताए । ‘घरबाहिर निस्केका गाउँलेले पनि बाक्लो कपडा लगाएका छन् । हिडडुल नै गरेन भने झनै अप्ठेरो हुने भन्दै स्थानीय गाउँ आसपासका डुल्ने गरेका छन,’ उनले भने । उनका अनुसार लोमान्थाङ क्षेत्रमा पानी पनि उत्तिकै जमेको छ । धारामा पानी आउन छाडेको उनले बताए । ‘घरभित्र भाडामा राखेको पानी त जमेको छैन । तर बाहिर त जमेको छ,’ उनले भने ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप)का जोमसोमस्थित प्रमुख तुलसी दाहालले पनि माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको र तल्लो भेगमा चिसो बढेको बताए । ‘रातीमा माइनस ८ डिग्रीसम्म तापक्रम ओर्लिने गर्छ । लोमान्थाङ क्षेत्रको बसोबास बढी कठिनपूर्ण बनेको छ,’ उनले भने, ‘पानी जम्दा बढी कठिन छ ।’ उनका अनुसार सदरमुकाम जोमसोममा पनि बिहान ९ बजेसम्म पानी जमेको हुन्छ । ‘ट्यांकीको धाराबाट पानी झर्दैन, खोलाको पानी संकलन गरेर धेरैतिर पिउने हो,’ उनले भने, ‘घरभित्र भाडामा संकलित पानी तताएर मात्र प्रयोग गर्नुपर्ने अवस्था छ ।’

कोरोनाको संक्रमणका कारण यो पटक धेरै गाउँले घरमै रोकिएका छन् । गाउँमा रहेका उनीहरुलाई पानीको सकस भएको दाहालले बताए । अघिल्ला वर्ष चिसो छल्न सहर झर्ने गाउँले अहिले कोरोनाको डरले गाउँमै रोकिँदा पनि चिसोको मारमा परेको उनले बताए 

प्रकाशित: २१ पुस २०७७ ०८:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App