१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हराएकी आमा १३ वर्षपछि भेट्दा

सँधैझैँ दिउँसोको घरधन्दा सम्हाल्दै थिए, पुन्टे माझी। जन्म दिएकी आमा हराएको १३ वर्षपछि टुप्लुक्क आगनछेउ पुगिन्। पुन्टेका आँखा आँशुले टिलपिल भए। उनले एकोहोरो हेरिरहे। वाक्य फुटेन। हराएकी आमा १३ वर्षपछि घरमा पुग्दा उनलाई सपना झै लाग्यो। केहिबेर हेराहेर चल्यो। आफूलाई जन्म दिएकी आमासँग १३ वर्षपछि पुनर्निलन हुन पाउँदाको क्षण असाध्यै भावपूर्ण बन्यो।  

सिन्धुपाल्चोक इन्द्रावतीकी पार्वती माझी (४८) हराएको १३ वर्षपछि शनिबार घर पुगेकी थिइन्। माया मारेको प्रिय मान्छे घर पुग्दा गाउँ–टोलका सयौँ मान्छे आश्चर्य चकित भए। पार्वतीलाई भेट्न गाउँलेहरू झुम्मिए। उनको घरमा मात्रै होइन गाउँभरि खुसी छायो। उनका प्रियज हर्षित भए। चारकोठे झुपडी उज्यालो भयो। आमा नहुँदा टुहुरा झै बनेका छोराहरू आमालाई सामुन्न देख्दा भगवान पुगेको महसुस गरे। ‘हामी सानै थियौं, आमा हराउनुभएको थियो,’ उनका छोरा पुन्टे माझीले भने, ‘हामीले खोज्यौं, कतै पत्ता लगाउन सकेनौं, आमा जीवित हुनुहुन्छ भन्ने लागेको थिएन, आमालाई अगाडि देख्दा भगवान पाएको महसुस भयो।’  

१३ वर्षपछि जन्मघर टेक्दा पुरानो जस्तै थिएन पार्वतीको अनुहार। गाला चाउरिएका थिए। हेरचाह नपाएको शरीर निकै कमजोर थियो।विस २०६४ सालमा पार्वती आफ्न्तसँग सम्पर्कविहीन बनेकी थिइन। त्यतिबेला उनी काठमाडौं जान हिँडेकी थिइन। यता आएपछि उनी गाउँ फर्किनन्। आफन्तले काठमाडौंभरि चाहारे। तर भेटाएनन्। कसैले उनी मानसिक रोगी भएको सुनाइदिए। आफन्तले खोज्ने प्रयास गरे पनि पत्ता लगाउन सकेनन्। वर्ष बित्दै जादा पार्वतीले पनि आफन्त भुल्न थालिन्।

‘आमा घरको लागि चाहिने सामान किन्न जानुभएको रहेछ, त्यसपछि फर्किनु भएन, यत्रतत्र खोज्दा पनि हामीले भेटाएनौं,’ छोरा पुन्टे माझीले भने, ‘यो उमेरमा आमालाई सामुन्ने देख्न पाउँदा निकै खुसी छौं।’ उनको जीवन सडक पेटीमा घस्रन थाल्यो। उनी सन्तानबाट अलग्गिएपछि उनी मानसिक रोगी भइन्। घर फर्कन मंसिरको अन्तिमा साता उनलाई धादिङको नीलकण्ठ नगरपालिका–१२मा सामाजिक अभियन्ता दुर्गानाथ दाहालको टोलीले फेला पार्‍यो।  

धादिङबाट उनलाई काठमाडौंको गोगंबुमा रहेको नवजीवन परोपकार समाजको आश्रममा ल्याएर राखियो। पार्वतीले ७ वर्षदेखि बाटोमा फोहर टिप्ने काम गर्दै आएको बताएकी थिइन्। अभियन्ताहरूले भेट्दा उनलाई मानसिक रोग भएपनि पुरानो कुरा बिर्सिएकी थिइनन्। उनी सडकपेटीमा सुत्थिन्। पहिलेभन्दा मानसिक अवस्था पनि खल्बिलिएको थियो। उनलाई त्यहाँ राखेपछि अभियन्ता दाहालले उनको घर सोधिखोजी गर्न थाले। सिन्धुपाल्चोक इन्द्रावती रहेको ठम्याए। पार्वतीले आफ्नो गाउँ सिधुपालचोक इन्द्रावती बताइन्। अभियन्ता दाहालले सिन्धुपाल्चोक पुगेर घर पत्ता लगाए। त्यसपछि पार्वतीलाई छोराहरूको जिम्मा लगाए।

पार्वतीको मानसिक अवस्था बिग्रिएको छ। परिवारले उनको उपचार गर्ने बताएका छन्। उनको उपचारको लागि नवजीवन परोपकार समाजले पनि पहल गर्ने समाजका अध्यक्ष दुर्गानाथ दाहालले बताए। ‘उहाँलाई निकै बिजोक अवस्थामा भेटायौं, घर कहाँ रहेछ, निकै सोधिखोजि पनि गरियो, खोज्दै जादा उनको घर पत्ता लाग्यो,’ उनले भने। अहिले पार्वती उनका जेठा छोरा पुन्टे माझीसँग बसेकी छन्।

प्रकाशित: २० पुस २०७७ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App