गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट १९२ जनाको मृत्यु भएको छ। तीमध्ये नेपाली सेनाले प्रदेशका १० जिल्ला (नवलपुरबाहेक) का १८० जना मृतकको शव व्यवस्थापन गरेको छ। बाँकी मृतकको शव व्यवस्थापन परिवारका सदस्यबाटै भएको छ।
सेनाले व्यवस्थापन गरेको ती मृतकले कुन–कुन धर्म मान्थे त ? धेरैलाई थाहा नहुन पनि सक्छ। तर, सेनाको पोखरास्थित पश्चिम पृतनाले राखेको तथ्यांकअनुसार ती मृतकहरूमध्ये १४४ जना हिन्दु धर्मका थिए। बौद्ध धर्मावलम्बीको संख्या ३३, क्रिस्चियन २ र मुस्लिम एकजना मात्र थिए। मृतकमध्ये २४ जनाको शव जलाइएको र बाँकी १५६ जनाको शव भने गाडिएको पृतनाको तथ्यांक छ।
पृतनाका जनसम्पर्क अधिकृत सेनानी प्रेमप्रसाद पौडेलका अनुसार फरक धर्म अपनाए पनि ती मृतकको शव व्यवस्थापन भने सेनाले गरेको थियो। ‘स्वास्थ्य संकटको बेला शव व्यवस्थापन उत्ति सहज थिएन। त्यसमा पनि फरक धर्म, संस्कार र संस्कृतिका नागरिकको ज्यान गएको बेला व्यवस्थापनमा पनि धर्म संस्कृति अनुसार नै ध्यान दिन जरुरी छ,’ उनले भने, ‘मृत्यु भएपछि पनि अन्तिम संस्कार गर्दा धर्मकर्मअनुसार सम्मान पाउने नागरिकको अधिकार हो। हामीले त्यही अधिकारलाई निश्चित गरिदिएका हौ।’
पौडेलका अनुसार कोरोनाले ज्यान गुमाएका सबै मृतकको शव सुरुवातताका गाड्ने गरिएको थियो। तर केही समयपछि परिवारको चाहना अनुसार जलाउन पनि थालिएको छ। मृतकको शव अस्पतालबाटै सिधै सेनाले लगेर व्यवस्थापन गर्दा सुरुमा केही गुनासो पनि उब्जेको थियो। तर, पछि शव व्यवस्थापन गर्नुअघि मृतकका आफन्तलाई स्वास्थ्यका सबै मापदण्ड अपनाएर अन्तिम संस्कारका कर्म गर्न पनि दिन थालिएको पौडेलले बताए। मृतकका आफन्तको सुझावअनुसार नै सेनाले शवको अन्तिम व्यवस्थापन गर्ने उनले बताए।
‘अहिले आ–आफ्नो धर्मकर्म अनुसार मृतकका आफन्तले अन्तिम संस्कार हुनुअघिका सबै धार्मिक कर्म पुरा गर्छन। त्यसपछि मात्र सेनाले व्यवस्थापन गर्छ,’ पौडेलले सञ्चारकर्मीसँगको छलफलमा भने, ‘स्वास्थ्यका मापदण्ड पूरा गरेर टाढैबाट आफन्तले अन्तिम संस्कार पुरा गरेपछि बल्ल सेनाले आफन्तकै सल्लाह बमोजिम शव जलाउने वा गाड्ने गर्छ।’ संस्कार अनुसार व्यवस्थापन भएन भनेर कसैले आक्षेप नलगाउनु भनेर नै सबैलाई आफ्नो संस्कार पूरा गर्न दिइने गरेको पौडेलले बताए। ‘जलाउनु वा गाड्नुअघि मृतकका आफन्तले टाढैबाट अन्तिम संस्कारका विधि पुरा गर्छन। त्यसपछि सेनाले लगेर चितामा राख्ने वा खाडलमा पुर्ने भन्ने निर्णय परिवारको सल्लाह बमोजिम गर्छ,’ पौडेलले भने।
कोरोना भाइरसले ज्यान गएपछि मृतकको शव व्यवस्थापनमा यहाँ चुनौती पनि थपिएको थियो। शव व्यवस्थापनमा ठाउँठाउँमा अवरोध पनि भएको थियो। ‘सुरुमा संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन कसरी गर्ने भन्ने अन्योल भएको हो,’ पश्चिम पृतनाका पृतनापति उपरथी विनय विक्रम राणाले भने, ‘तर अहिले त्यो अवस्था छैन। सुरुवातताका त बोल्दा पनि कोरोना सर्छ जस्तो देखिएको थियो।’ उनका अनुसार मृत्युपछि शव व्यवस्थापनमै आफन्तको मत बाँडिने गरेको थियो। ‘परिवारका केही सदस्य जलाउने पक्षमा हुन्थे, केही गाड्ने भन्थे,’ उनले भने, ‘परिवार नै एकमत नहुँदा पनि चुनौती थियो। व्यवस्थापनबारे परिवारभित्रै विवादसमेत भयो। तर नयाँ चुनौतीका बाबजुत पनि व्यवस्थापन सहज बन्दै गएको छ।’
सुरुमा शव व्यवस्थापनको योजना बन्दा खटिने टिमलाई नै कन्भिन्स गर्न सहज थिएन। तर सेना पनि समाजको अंग भएकोले डरत्राससँग जुधेरै भएपनि अघि बढ्दा सफल भएको उनले बताए। ‘शव व्यवस्थापनमा खटिने टिमलाई नै ‘कन्भिन्स’ गर्नुपर्ने अवस्था थियो,’ राणाले भने, ‘तर सेनामा काम गर्दा आँटिलो हुनुपर्छ भनेपछि सबै तयार भए।’ गण्डकी प्रदेशका १८० वटा शव व्यवस्थापन गर्दा अहिलेसम्म तीनजना सेनालाई मात्र कोरोना संक्रमण भएको पनि उनले बताए। परिवारका धेरै सदस्यहरू संक्रमित भएको अवस्थामा एकजनाको मृत्यु भए ती मृतकको शव परिवारकै सदस्यले व्यवस्थापन पनि गर्ने गरेका छन्। ‘आफन्तबाटै पनि शव व्यवस्थापन भएका छन्,’ उनले भने।
गण्डकी प्रदेशम मात्र यति धेरै शव व्यवस्थापन गरेको सेनाले भने अहिलेसम्म जोखिम भत्ता पाएको छैन। ‘शव व्यवस्थापनमा खटिने टिम जोखिम भत्ताका लागि आशावादी छ। तर अहिलेसम्म कतैबाट पनि भत्ता आएको छैन,’ राणाले भने, ‘भत्ताको आसमा भन्दा पनि सेनाले आफ्नो जिम्मेवारी पूरा गर्छ।’
प्रकाशित: १८ पुस २०७७ ०२:१२ शनिबार