अत्यधिक चिसो बढ्दै गएपछि कर्णालीका हिमाली जिल्लामा रहेका आठवटा प्रहरी चौकी विस्थापित भएका छन्। हिमाली जिल्ला हुम्लाका दुई, डोल्पाका पाँच र मुगुका एउटा प्रहरी चौकी विस्थापित भएका हुन्।
बाग्लो हिउँसँगै अत्यधिक चिसोका कारण बर्सेनि यहाँका प्रहरीचौकी विस्थापित हुने गर्छन्। हुम्लाका हिल्सा, लिमी प्रहरी चौकी, डोल्पाका नाम्दो, तिन्जे, भिजेर, धो प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट राप र मुगुको मुगु प्रहरी चौकी जिल्ला प्रहरी कार्यालयमा मर्ज भएका प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए। प्रहरी चौकी मात्र होइन लगातार हिउँ पर्न थालेपछि त्यसक्षेत्रका स्थानीय पनि बेसी झरेका छन्। प्रहरी चौकी मर्ज भए पनि सुरक्षा निगरानी भने भइरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चिरञ्जीवि गिरीले जानकारी दिए। ‘प्रहरी चौकी मर्ज हुँदा गाउँ सुरक्षाविहीन भएको छैन,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा सुरक्षा निगरानी भइरहेको छ।’
अधिकांश सर्वसाधारण बेसी झरेपछि मान्छेको बसाइँ पातलो भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। त्यस क्षेत्रका प्रहरीलाई आफ्नै पूर्वाधार नहुँदा पनि बस्न समस्या भएको छ। पूर्वाधार नहुँदा प्रहरी भाडाको घरमा बस्दै आएका छन्। सिडिओ गिरीका अनुसार प्रहरीले पायक पर्ने ठाउँबाट ती क्षेत्रमा सुरक्षा निगरानी गरिरहेको छ। बाग्लो हिमपात हुँदा ढिलो गरी हिउँ पग्लिन्छ, जसले गर्दा यी क्षेत्र करिब ६ महिना खाली हुने गर्छन्। चिसो छल्न यहाँका सर्वसाधारण जिल्ला सदरमुकाम, नेपालगन्ज, काठमाडौंलगायतका क्षेत्रमा जाने गर्छन्।
यहाँका स्थानीयले भने सरकारले स्थायीत्वरुपमा प्रहरी चौकी स्थापना गर्नुपर्ने बताए। बाह्रै महिना प्रहरी बस्न सक्ने गरी आवश्यक पूर्वाधार र अन्य सामग्री उपलब्ध गराएर प्रहरीलाई स्थायीत्वरुपमा बस्ने व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ । प्रहरीचौकी स्थापना गर्दासमेत उचित ठाउँमा नहुँदा यस्तो समस्या देखिएको हुम्लास्थित नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए। ‘पूर्वाधार र आवश्यक सामग्री नहुँदा हिमाली क्षेत्रमा यतिबेला प्रहरी आफैँ आफ्नो सुरक्षा गर्न सक्दैन,’ उनले भने, ‘अनि यहाँका सर्वसाधारणलाई कसरी सुरक्षित राख्न सक्छ।’ यतिबेला हिउँ जम्ने हुँदा बाहिरको मान्छे गाउँमा जान नसक्ने हुँदा चोरीका घटना हुने सम्भावना कम हुने भन्दै उनले भने, ‘सरकारले यहाँका नागरिकलाई सुरक्षित राख्नुपर्छ।’ उत्तरी सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्नुपर्ने उनको भनाइ छ।
अहिले यहाँ सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बस्न सक्ने र नेपाल प्रहरी बस्न नसक्ने नहुने भन्दै सरकारले उचित व्यवस्थापन गरेर यस क्षेत्रमा सुरक्षा प्रदान गर्नुपर्ने उनले बताए।
प्रकाशित: १७ पुस २०७७ ०७:३२ शुक्रबार