३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

साकेला उधौलीमा स्थानीयतहको सार्वजनिक विदा

आज पर्न गएको आदिवासी जनजाति किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरीनाम)को अवसरमा उदयपुरका गाउँ तथा नगरपालिकाले सार्वजनिक विदा दिएका छन्। किराती पर्व उधौली (छिरीनाम), नेवार समुदायको योमरी पुन्ही, गुरुङको तमु ल्होसार, धान्य पूर्णे र ज्यापु दिवसको अवसरमा स्थानीयतहहरुले विदा दिएका हुन्।  

जिल्लाका लिमचुङबुङ गाउँपालिका र चौदण्डीगढी नगरपालिकाले मंगलबारै सूचना जारी गरी आज पुस १५ गते सार्वजनिक विदा दिएका हुन्। उनीहरुले जारी गरेको सूचनामा महान् पर्वको अवसरमा पालिका तथा सबै वडा, विषयगत कार्यालय र शैक्षिक संस्थाहरु बन्द रहने जानकारी दिइएको छ। उनीहरुले कोविडको जोखिम अझै कायमै रहेकाले सुरक्षा सावधानी अपनाएर आपसी हितमा केन्द्रित हुँदै चाडपर्व मनाउन आग्रह गरेका छन्।  

किरात बाहुल्य रहेको लिमचुङुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले गाउँपालिकाभित्र रहेका सबै जातजाति, समुदाय, धर्म, परम्परा र संस्कार संस्कृतिलाई गाउँपालिकाले समान महत्व दिँदै आएको बताए। उनले आपसी सदभाव, सहिष्णुता र मित्रताले मात्र उकार्काको सम्मान हुने र देशमा शान्ति र समृद्धि कायम गर्न सकिने भन्दै चाडपर्वको शुभकामना व्यक्त गरेका छन्।  

चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले सबै जाति समुदायको चाडपर्वलाई उत्तिकै महत्व दिएर विगत वर्षहरुदेखि नै सार्वजनिक विदा दिँदै आएको बताए। जुनसुकै समुदायको चाडपर्व र संस्कार संस्कृतिले मानव कल्याणमा सहयोग गर्नुपर्ने भन्दै मेयर राईले मानव जगतलाई असल, सुसंस्कृत र सभ्य बनाउन चाडपर्वले सहयोग गर्नुपर्ने बताए।  

पर्वको अवसर पारेर किरात राई यायोक्खा उदयपुरले जिल्लाभरी पितृ (भूमि) पुजा र सदभाव आदान प्रदान गर्दै आजदेखि एक महिनासम्म उधौली मनाउने कार्यक्रम बनाएको जनाएको छ। कोरोनाका कारण विगत वर्ष उधौली र उभौली दुवै मनाउन नपाएको यो समुदायले अझै कोरोना जोखिम बाँकी रहेकाले सुरक्षा सतर्कता अपनाउँदै पर्व मनाउने यायोक्खा अध्यक्ष बलधन राईले बताए। अध्यक्ष राईका अनुसार चौदण्डीगढी नगरपालिकाको बेलटार, बसाहा, हडिया, जोगीदह, चौदण्डीलगायत १० वटै वडा र टोलसम्म उधौली मनाउने कार्यक्रम रहेको छ। त्यस्तै बेलका नगरपालिकाका मैनामैनी, रामपुर, टप्पु, जहडा, कटारी नगरपालिकाका कटारी, रिस्कु, त्रिबेणी, ताप्ली गाउँपालिकाका लेखगाउँ, ठानागाउँ, इनामे, ओख्लेलगायत बिभिन्न वडामा उधौली कार्यक्रम राखिएको छ।  

यायोक्खाका अनुसार लिमचुङबुङका जाँते, बलम्ता, ताम्लीछा, बाँसबोटेमा छुट्टाछुट्टै उधौली मनाउने कार्यक्रम तय भएको छ। रौतामाई गाउँपालिकाका आँपटार, पोखरी, भुट्टार, लाफागाउँलगायत बिभिन्न ठाउँ र सदरमुकाम त्रियुगा नगरमा यायोक्खा प्रारम्भिक कमिटी गाईघाटले साकेलाटोलस्थित किरात सांस्कृतिक भवन परिसरमा पितृ पुजा र नगरस्तरीय उधौली कार्यक्रमको आयोजना गरेको छ। त्रियुगाका १६ वटै वडामा छुट्टाछुट्टै उधौली मनाउन पितृ पूजा र सद्भावना आदानप्रदान कार्यक्रम राखिएको प्राकले जनाएको छ।

प्रकाशित: १५ पुस २०७७ ०५:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App