२५ फाल्गुन २०७७ मंगलबार
समाज

उखुको बक्यौता माग्दै त्यत्रो दिन धर्नामा बसे तर रकम थाप्ने समयभन्दा एक घण्टाअघि भयाे मृत्यु

उखु किसान नारायण राय यादव

सर्लाही रामनगर-७ का धनकौल उखु किसान नारायण राय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ। सरकारले यादवको बक्यौता २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो।

यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको ५ करोड  दिइएको छैन। यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो। 

सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता  देखिएका  किसानका ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो।  किसानले भने आफूहरुको कूल बक्यौता ९५ करोड रहेको जिकिर गर्दै आएका छन्। बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ।

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको रु १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताए। 

गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता  भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडाैँको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए। यादवको सहिद गङ्गालाल अस्पतालतमा हृदयाघात भई मृत्यु भएको हाे।

सरकारले  उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरुलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ।  

३३ करोड बक्यौता भुक्तानी

उखु किसानको आन्दोलन सुरु भएपछि तीन चिनी मिलले रु ३३ करोड बक्यौता  भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी सुरु गरिसकेका छन्। उनका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले रु २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु दुई करोड भुक्तानी गरिसकेका छन्।  

सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन्।  मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको रु ३५ करोड, लुम्बिनी सुगर मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको रु सत्र करोड बक्यौता  छ। रासस

प्रकाशित: १४ पुस २०७७ १७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App