१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीको नयाँ लुगा खरिदको टेण्डर बल्ल

पर्याप्त न्यानो लुगा नहुँदा नागरिकको सुरक्षामा खटिने प्रहरी चिसोबाट प्रभावित बनेका छन्। चिसो बढेसँगै प्रदान गरिने न्यानो लुगा प्रभावकारी तरिकाले वितरण गर्न नसक्दा तल्लो तहमा कार्यरत प्रहरी कर्मचारी पुरानै लुगामा जाडो टार्न बाध्य भएका हुन्। प्रहरी प्रधान कार्यालयले मंसिरको पहिलो साता नै सबै मातहतका कार्यालय न्यानो कपडा पुर्‍याउनु पर्ने भएपनि सीमित कार्यालयमा मात्रै न्यानो कपडा पुर्‍याएपछि प्रहरीले न्यानो लुगा पाउन सकेका छैनन्।  

कतिपय कार्यालयमा न्यानो लुगा पठाएपछि अपुग भएको पाइएको छ। गत वर्ष सवेन्द्र खनाल आएजीपि हुँदा प्रहरीको न्यानो लुगा खरिद प्रकरणमा विवाद भएको थियो। न्यानो कपडा खरिद प्रक्रिया तथा वितरणमा अनियमितता भएपछि लुगा खरिद गर्ने प्रक्रिया अघि बढ्न सकेको थिएन। अख्यितार स्रोतले प्रहरीभित्रै लुगा खरिदमा अनियमितता भएपछि छानबिन गरेको थियो। अख्यितारको निगरानीपछि गत चैतमा मात्रै लुगा खरिद गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयले ज्याकेट, कटनका सर्ट–पाइन्ट, उलन पाइन्ट–स्विटर, टिसर्ट, जुत्ता, मोजालगायत स्केलका सामान खरिद गर्छ। उक्त सामान खरिद गर्दा टेन्डर आह्वान गर्छ। ठेकेदारसँगको मिलोमतोमा गत वर्ष प्रहरीले अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो। यसवर्ष भने विवाद नभएपनि प्रहरीले मातहतका कार्यालयमा पर्याप्त लुगा पुर्‍याउन सकेको छैन। ‘लुगा नपाएको १ वर्ष भयो, प्रधान कार्यालयबाट अरू कार्यालयमा लुगा नआउने पनि होइन, तर समान वितरण भएन, महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी जवानले भने, ‘अफिसले दिएको ज्याकेट च्यातिसक्यो, अहिले सामान्य कपडा लगाएर ड्युटीमा खटिनुपर्छ,’  

गत वर्षकै लुगा पर्याप्त रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यो वर्ष न्यानो लुगा खरिदका लागि प्रहरी प्रधान कार्यालयले मंसिरमा टेण्डर प्रक्रिया अघि बढाएको छ। उक्त टेण्डरमार्फत खरिद गरिने लुगा आगामी वर्षको लागि रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्त कुवँरले जनाए। गत वर्ष खरिद गरेको लुगाले थेग्ने भएपछि यो वर्ष ढिलो टेण्डर आह्वान गरिएको उनको दाबी छ। सबै प्रहरी कार्यालयमा मंसिर अगाडी लुगा पुगिसकेको उनको भनाइ छ।  

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार यो वर्ष उलन सर्ट ४८ हजार ९ सय ३८ पिस, उलन पाईन्ट २५ हजार ८ सय ६६, सादा चुस्ता १६ हजार ५ सय ९२, छालाको बुट ९जुत्ता० २१ हजार ८ सय ७७ जोडा, उलन जर्सी २२ हजार ३१ थान, पार्क ज्याकेट १५ हजार ६ सय ९० थान, मोजा १ हजार ३ सय ८१ जोर र हाते पन्जा ३ सय २ पिस वितरण गरिएको छ। तर, यतिले नपुग्ने प्रहरी अधिकारीहरू नै बताउँछन्। हाल नेपाल प्रहरीको संख्या झण्डै ६५ हजार छ। त्यसमा पनि भर्ना भएर आउने नयाँ प्रहरी संख्या थपघट भइरहन्छ ।

गत वर्ष ठेक्कामा दिँदा लुगा कमसल हुने र बढी मूल्य तिर्नुपर्ने अवस्था थियो। उक्त विषय विवादीत बनेपछि प्रहरी प्रधान कार्यालयले हरेक वर्ष प्रहरी जावनलाई दिने न्यानो लुगा सेट जाडो सकिएपछि मात्रै वितरण गरेको थियो। वितरण गरेका लुगा पनि कमसल र छिटो च्यातिएके गुनासो जवानहरूले गरेका थिए। पहिले हेडक्वाटरले दिने न्यानो र अन्य लुगा बलियो भएपनि पछिल्लो समय कमिसनको चक्करमा कमसल (कम्जोर) लुगा प्रहरी कर्मचारीलाई वितरण भइरहेको प्रहरी कर्मचारीकै भनाइ छ।  

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीको आवश्यकता अनुसार ड्युटीमा लगाउने र अन्य न्यानो लुगा प्रदान गर्छ। स्रोतका अनुसार बुट, पाइन्छ, सर्ट, ज्याकेट, ट्रयाकलगायत लुगा १/१ वर्षमा वितरण गर्छ। तर, कतिपय जवानले भने समयमै लुगा नपाउने गुनासो गर्दै आएका छन् ।

प्रकाशित: १३ पुस २०७७ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App