५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

साकेलाको सौन्दर्यशास्त्र

किरात राई जातिको महत्वपूर्ण चाडपर्वमध्ये पर्छन्, उधौली र उभौली। मंसिर पूर्णिमाको दिन मनाउने उधौली तथा वैशाख पूर्णिमाको दिन मनाउने उभौली राई जातिको पितृ र प्रकृतिप्रतिको अनुष्ठान हो। मंसिरे पूर्णिमा यसपटक १५ पुसका दिन परेको छ।  

उधौली र उभौलीमा पूजा–आराधना गर्ने तथा नाचगान गर्ने विधि एउटै हुन्छ। फरक यही हो– उभौलीमा खेतीपाती राम्रो होस्, सबैमा शान्ति, समृद्धि होस्, प्राकृतिक विपत्ति आइनलागोस् भनी कामना गर्दै पूजा–अर्चना गरिन्छ। उधौलीमा प्रकृति र पितापुर्खाको आशीर्वादले गर्दा खेतीपानी, अन्नपात राम्ररी उब्जनी भयो भनी उनीहरू (पितृ र प्रकृति) प्रति कृतज्ञता ज्ञापनसहित उत्सव मनाइन्छ। यी उत्सवमा साकेला गीतको विशेष महत्व हुन्छ। उधौली र उभौलीका बेला मात्र गाइने हुनाले साकेलालाई पर्वगीत पनि भनिन्छ। त्यस्तै, नृत्यसँगै गाइने हुनाले यसलाई नृत्यगीतका रूपमा समेत लिन सकिन्छ। किरात राई जातिभित्र विभिन्न प्रकारका भाषिक सम्प्रदाय छन्। त्यसैले उभौली, उधौलीलाई उनीहरूले आ–आफ्ना भाषा अनुसार साकेला, साकेवा, साकेन्वा, दँदेवा, साँब्रे, खाउमो, चण्डीनाच आदि नामबाट सम्बोधन गर्छन्। भाषिक रूपमा यसको नाम अलग–अलग भए पनि मूलतः यस पर्वमा पितृ र प्रकृतिको पूजा–आराधना गरिन्छ। किरात राईले वर्षको दुईपटक विशेष तरिकाले धुमधामसँग उभौली र उधौली मनाउने गर्छन्।

‘नाइमा’ले पारुहाङको गर्भबाट छोराहरूलाई जन्म दिएपछि तिनीहरूको न्वारन गर्न चिपुङ्कावा (गङ्गटो) र तमिमिवासा (धोबिनी चरा) लाई कलिया बनाई पठाइन्। तमिमिवासा पारुहाङ भएको ठाउँमा पुगी सिलिलिपा गरिरहिन्। सिलिको अर्थ भाका टिप्नु र लोपाको अर्थ हल्लिनु वा नाच्नु हुन्छ। यसरी ‘भाका टिपी हल्ली–हल्ली नाच्ने’ चलन चल्यो।

उत्पत्ति र नामकरण

साकेला पर्व कहिलेदेखि, केका लागि, कसरी, सुरु भयो भन्ने सन्दर्भमा विभिन्न मत पाइन्छन्, जुन विभिन्न मिथक कथासँग सम्बन्धित छन्।  

एउटा कथा छ– ‘नाइमा’ले पारुहाङको गर्भबाट छोराहरूलाई जन्म दिएपछि तिनीहरूको न्वारन गर्न चिपुङ्कावा (गङ्गटो) र तमिमिवासा (धोबिनी चरा) लाई कलिया बनाई पठाइन्। तमिमिवासा पारुहाङ भएको ठाउँमा पुगी सिलिलिपा गरिरहिन्। सिलिको अर्थ भाका टिप्नु र लोपाको अर्थ हल्लिनु वा नाच्नु हुन्छ। यसरी ‘भाका टिपी हल्ली–हल्ली नाच्ने’ चलन चल्यो।  

अर्को कथा छ– किराती राजाले आफ्नो गुमेको राज्य फर्काउनका लागि शक्ति प्राप्त गर्न पारुहाङ र सुम्निमाका छोरा हेन्कुबुङको पूजा–आराधना गर्ने विचार गरे। त्यसैले उनले आफ्नी छोरी सोइसोइलालाई हेन्कुबुङको प्रतिमा बनाउन लगाई पूजा–आराधना गर्न थाले। यसै बेलादेखि उभौली र उधौली प्रारम्भ भएको हो।  

अर्को कथा छ– सुम्निमाका कान्छा छोरा हुँछाबाट सत्यरूपाको जन्म भई दक्षमरुमतिसँग विवाह भयो। सत्यरूपाको एउटी चेली पनि थिइन्। उनको विवाह धुमधामसँग सत्यरूपाले गरिदिइन्। त्यसैबेलादेखि मनोरञ्जन गर्ने उद्देश्यले साकेला गाउन र नाच्न थालिएको हो। कसैले यसको सुरुवात किराती चेलीहरू तायामा, खियामा र उनका भाइ हेत्छाकुप्पाबाट साकेला नृत्यको प्रारम्भ भएको हो भन्छन्।  

सांस्कृतिक अध्येता डा. खगेन्द्रबहादुर राईका अनुसार, सर्वप्रथम नाग राजारानीले आफ्ना छोरी–ज्वाइँ हुँछा र सिक्रीमालाई ढोल र झ्याम्टा दाइजोका रूपमा दिएका थिए, यी बाजा वर्षको दुईपटक (पृथ्वी लोकमा खेतीपाती लगाउने बेला र खेतीपाती उठाएपछि) बजाएर नाग राजारानीको सम्झना गर्नू भनी। त्यसपछि साकेला पर्व सुरु भयो।  

अर्को कथा छ, खुचुलुप्पा (राई जातिको पितृ, मिथकीय पात्र) र छम्मधम्म (नाग जातिको पितृ) को पूजा गरिएपछि नियमित र परम्परागत रूपमा साकेला पर्वको प्रारम्भ भयो। यी पितृले हरेक वर्ष उभौली (सूर्य उत्तरायण) वैशाख पूर्णिमालाई शुभ साइत मानी त्यसै दिन नागपूजा गरी खेतीपाती सुरु गर्ने र उधौली (सूर्य दक्षिणायण) मंसिर पूर्णिमालाई शुभ साइत मानी नागपूजा गरी आफूहरूले लगाएको बाली राम्रो भएकामा नाग राजारानीप्रति चढाएर कृतज्ञता जनाउने चलन चलाए। यसरी नागपूजा गरिएको थानवरिपरि सबै भेला भएर ढोल, झ्याम्टा बजाउँदै एकै साथ नाच्ने (सिली) को सुरुवात भयो।

धनबहादुर राईका अनुसार, खास गरेर यो कृषि व्यवसायसँग सम्बन्धित पूजाविधि हो। मानव जाति उत्पत्ति हुनासाथ कृषिमा आबद्ध भएन। विकास क्रमको हजारौं वर्षपछि मात्र मानवले कृषि युगमा फड्को मारेको हो। उभौलीमा अन्नबाली राम्रो होस् भनी र उधौलीमा अन्न फलाइदिएकामा प्रकृति मातालाई कृतज्ञता जाहेर गरिने भएकाले यी पर्व ढुंगेयुगबाट कृषियुगमा प्रवेश गरेपछि आरम्भ भएको हो। प्राचीन मानवको जीविकोपार्जन सिकारबाट मात्र सम्भव हुन छाडेपछि उनीहरूले सामूहिक खेती गर्न थाले। उनीहरूको जनसंख्यासँगै आवश्यकता पनि वृद्धि हुँदै गयो। यसरी उनीहरूको बाँच्ने प्रमुख आधार कृषि हुन पुग्यो। यसपछि उनीहरूले बालीनाली राम्ररी फलोस् भनी आफ्ना इष्ट देवतालाई पुकार्ने र बालीनाली भित्र्याएपछि कृतज्ञता जाहेर गर्दै मनोरञ्जन गर्ने क्रममा उधौली र उभौलीको शुभारम्भ भएको हो। यसरी पितृ र प्रकृतिलाई श्रद्धापूर्वक सम्झने, पूजाआजा गर्ने क्रममा यसको सुरुवात भएको हो।  

साकेला पूजा  

उधौली र उभौलीमा किरात राई जातिका पुजारी (नाक्छोङ) ले सर्वप्रथम साकेला पूजा गर्ने सामूहिक थान निर्माण गर्छन्। थान रहने ठाउँमा पानीको स्रोत वा मूल र रूख अनिवार्य मानिन्छ। त्यस थानमा मूल नाक्छोङले विधिपूर्वक साकेला (पितृ र प्रकृतिको स्वरूप ढुंगा) पूजा सकेपछि मात्र अन्य सबैले आ–आफ्ना घरमा पितृपूजा गर्छन्। पितृपूजा गर्दा बिजुवा वा घरका ज्येष्ठ सदस्यले आफ्ना कुलदेवताको पूजा गर्छन्। यसरी पूजाआजा सम्पन्न भएपछि सबै गाउँघरका बूढापाका, युवा, बालबालिका भेला भएर साकेला नाच्ने गर्छन्। पूजा सम्पन्न भएपछि त्यहाँदेखि नाच्दै गाउँदै पूजाथाननजिकै खेतका गरा, बारीका पाटा वा चौर आदि सजिलो ठाउँमा पुग्छन्। 

त्यहाँ भेला भई नाच्ने मैदानको बीच भागमा सेउली गाडेर त्यसैको वरिपरि गोलाकार रूपमा साकेला नाच्दै गीत गाउँछन्। यसरी पूजा गरेको दिन अर्थात् मंसिरे पूर्णिमा र वैशाखे पूर्णिमाका दिन गाउँघरमा कुनै पनि प्रकारको कृषिकर्म गरिँदैन। उक्त दिन सबैभन्दा पहिले साकेला थानमा नाचेपछि दोस्रो दिनदेखि घरघरमा पालैपालो नाच्दै गाउँदै गाउँभरि डुल्ने गरिन्छ। यसरी हरेक किरात राई गाउँमा लगभग पूर्णिमादेखि पञ्चमीसम्म लगातार साकेला नाचिन्छ। साकेला नाचेको घरधनीले आफ्नो गच्छे अनुसार जाँड, रक्सी, मासु, तीते (कुखुराको भुत्ला डढाएर बनाएको विशेष खाना), फलफूल आदि बाँड्ने गर्छन्। यसरी साकेला गीत उधौली र उभौलीको समयमा धुमधामसँग गाउने गरिन्छ।

प्रयोग क्षेत्र र प्रयोक्ता

साकेला गीतको प्रयोक्ता मूलतः किरात राई जाति हुन्। किरात राई जातिभित्र पनि कतिपय राईमा साकेला पर्व मनाउने तथा साकेला गीत गाउने प्रचलन छैन।

साकेला पर्व मुख्य रूपमा खोटाङ, भोजपुर, सुनसरी, उदयपुर, मोरङ जिल्लामा धुमधामसँग मनाइन्छ। धनकुटाका राईहरू (छिन्ताङे, खोकुले, आठपहरिया), सोलुखुम्बु र ओखलढुुंगाका राईहरू (थुलुङ, कुलुङ वाम्बुले), संखुवासभाका लोहोरुङ राई तथा तराईका विभिन्न स्थानमा बसोबास गर्ने किरात राईहरूमा साकेला त्यति प्रचलित देखिँदैन। तर, साकेला पर्वका रूपमा नमनाए पनि तोश÷तोशी आदि अर्कै रूपमा उनीहरूले उधौली र उभौली मनाउने गर्छन्। किरात राई जातिभित्र खासगरी बान्तवा, साम्पाङ, चाम्लिङ, पुमा, खालिङ आदिले साकेला पर्व धुमधामका साथ मनाउने गर्छन्। राईहरूको घना बस्ती भएका ठाउँमा बसोबास गर्ने गैरराईहरू समेत साकेला पर्वमा भेला भई नाचगान गर्छन्।

विशेषता

नेपाली लोकगीतको आ–आफ्नै विशेषता छन्। किरात राई जातिमा प्रचलित साकेला गीतको पनि विशेषता छ। सामूहिक गायन, नृत्य तथा अभिनयसहित गाइनु, सबै उमेर तथा महिला–पुरुषद्वारा गाइनु, विशेष पर्व (उधौली र उभौली)मा मात्र गाइनु वा यस समय घरघरै डुल्दै हप्तौँसम्म गाइनु, ढोल र झ्याम्टाको तालमा गाइनु, गीत तथा नृत्यकै माध्यमबाट पर्व मनाइनु आदि यस गीतका प्रमुख विशेषता हुन्।  

प्रस्तुतीकरण

वस्तुतः साकेला प्रकृतिपूजामा आधारित नृत्यनाटिका हो। यसलाई नृत्य तथा अभिनयका साथ प्रस्तुत गरिन्छ। बिनानृत्य साकेला गीत प्रायः गाइँदैन।  

यसमा वाद्यवादन अनिवार्य छ। साकेला गाउँदा ढोल, झ्याम्टा, चमर (चौरीको पुछार), तरबार, सेउली, खुर्पा आदि सामग्रीको उपयोग गरिन्छ। ढोल र झ्याम्टाको तालमा उपस्थित सबैजना गोलाकार रूपमा उभिएर उत्साहका साथ नाच्छन्। केटाको तर्फबाट एकजना नृत्य निर्देशक (सिलिमाङ्पा) तथा केटीको तर्फबाट सिलिमाङ्मा छनोट गरिएको हुन्छ। उनीहरूकै निर्देशन अनुसार नृत्यको सिली (नाच्ने तरिका) फेरिन्छ। साकेला नृत्यमा अनेकौं प्रकारको सिली (नृत्यको अभिनयात्मक ढाँचा) रहेका छन्। ती सिली (अभिनयात्मक नृत्य ढाँचा) फेरि–फेरि साकेला गाइन्छ।  

साकेला नृत्य तथा गायनमा सिलीको महत्वपूर्ण भूमिका हुन्छ। सिली अनेकौँ प्रकारका हुन्छन्। खासगरी प्रकृति, जीवजन्तु तथा मानिसका जीवनचर्याका अभिनय साकेला नृत्यमा गरिन्छ। अर्थात् बीउ छरेको, रोपेको, गोडमेल गरेको, काटेको, झाँटेको, बोकेको, भकारीमा थन्काएको, ढिकीमा कुटेको, पकाएको, खाएको जस्ता अभिनयमूलक नृत्य प्रस्तुत गरिन्छ। योसँगै विभिन्न प्रकारका जीवजन्तु तथा अन्य कृषिकर्मको अभिनयमूलक सिली पनि प्रस्तुत हुन्छन्। ढोल–झ्याम्टाको तालमा खुर्पा, छिर्लिङ्गे, सेउली, चमर आदि हल्लाउँदै मौलिक वेशभूषासहित गोलाकार रूपमा नृत्य, अभिनय गर्दै साकेला गीत गाइन्छ।  

साकेला नृत्य तथा गायनमा सबै उमेरका सहभागी भए पनि प्रायः युवायुवती प्रमुख भूमिकामा रहन्छन्। साकेला गीत एक्लै, सामूहिक वा दोहोरी रूपमा पनि गाइन्छ।  

लय वा भाका  

साकेला गीतका विभिन्न लय र ढाँचा छन्। यद्यपि मुख्य रूपमा ‘सोइसोइला’, ‘स्यामुना’, ‘है है ला ला लै लै’ आदि लय तथा ढाँचा गायन परम्पराका हिसाबले चर्चित छन्।

यसको लय नृत्यमय खालको हुन्छ। ढोल झ्याम्टाको झ्याम–झ्याम, ढ्याङ्–ढ्याङ तालसँगै साकेला गीत सुन्नासाथ नाचौँ–नाचौँ लाग्छ। यसको ताल छिटो–छिटो नाच्न मिल्ने खालको हुन्छ। जुन २÷४ बिट अर्थात् खेम्टा तालमा हुन्छ। साकेला गीत प्रायः ८ अक्षरमा संरचित हुन्छ। जस्तै :  

सिन्कौली सेउली सेलै हो  

नाच्ने र गाउने बेलै हो  

सोइसोइला हो कुर्रा हा हा।

तरकारी मिठो किनीमा

मोटी नानालाई चिनिनँ

सोइसोइला हो कुर्रा हा हा।

उपरोक्त साकेला गीतमा आठ/आठ अक्षर छन्। कतिपय साकेला गीतमा १० अक्षर, १२ अक्षर तथा १६ अक्षरसम्म आएका हुन्छन्, जुन यसको लयमा भर पर्छ। साकेला गीतमा मुख्य गरेर ‘सोइसोइला हो कुर्रा हा हा’, ‘आहै स्यामुना’, ‘एनी लै लै बरी लै लै’ तथा ‘है है ला ला है है ला’ जस्ता भाकाको प्रयोग हुन्छ।

स्थायी, अन्तरा, थेगो, रहनी  

साकेला गीतमा स्थायी र अन्तराभाग हुँदैन। यसमा केवल फेँद र टुप्पा अर्थात् माथिल्लो पंक्ति र तल्लो पंक्ति दुई लाइनमा गीत संरचित हुन्छ। थेगो वा रहनीमा ‘आहै’, ‘स्यामुना’, ‘सोइसोइला हो कुर्रा हा हा’, ‘है है ला ला है है ला’, ‘ए नि लै लै हो बरी लै लै’ आदि पाइन्छ। थेगो, रहनी, टुक्का आदिको प्रयोगले साकेला विशिष्ट गीत बन्न पुगेको छ। यो गीतको अन्त्यमा रहनी अनिवार्य रूपमा आएका हुन्छन्। जस्तै:  

नौ गेडी ढुङ्ग्री बुलाकी

यसपाली घरबार होला कि ?

सोइसोइला हो कुर्रा हा हा (रहनी)  

साग छ साइँली साग छ साइँली  

आहै रायो तोरीको साग छ स्यामुना  

सत्य होला किर्रे होला  

आहै तिम्रो माया लाग्छ स्यामुना (स्यामुना– थेगो)  

उपरोक्त पंक्तिमा ‘सोइ सोइला हो कुर्रा हा हा’ रहनीको रूपमा र ‘स्यामुना’ थेगोका रूपमा आएको छ।  

विषयवस्तु

खेती लगाउने र भित्र्याउने समय गाइने गीत भएकाले साकेला गीतलाई ऋतुगीत भन्न सकिन्छ। साकेला गीतमा पितृ–प्रकृति, किरात राई जातिको संस्कार, माया–प्रीतिसम्बन्धी वर्णन पाइन्छ। पितृ र प्रकृतिलाई अन्नबाली फलाइदिन प्रार्थना र अन्नबाली फलाइदिएकामा कृतज्ञता व्यक्त हुने हुँदा साकेला गीतमा दुःखान्तभन्दा बढी सुखान्त भाव व्यक्त गरिन्छ।  

सिन्कौली सेउली सेलेले

नाचीमा जाउँ है पेलेले

सोइसोइला हो कुर्रा हा हा।

छुपुमा छुपु धान रोप्नु

हुँदैन नाना मुख छोप्नु

सोइसोइला हो कुर्रा हा हा।

प्रस्तुत गीतमा सबै मुख नछोपी नलजाई नाच्ने, धान रोप्ने, रमाइलो गर्ने भाव व्यक्त भएका छन्।  

कथन पद्धति  

साकेला गीतको कथन पद्धति वर्णनात्मक ढाँचाको हुन्छ। यो गीतमार्फत कुनै पनि विषयको वर्णन सूक्ष्म रूपमा गरिन्छ। एकोहोरो रूपमा होस् या दोहोरी/दोहोरो रूपमा होस्, कुनै एउटा विषयको वर्णन गर्‍यो अनि अर्को चरण गाउँदा अर्कै विषयको वर्णन गरिन्छ। यसमा कुनै आख्यानात्मक या व्याख्यात्मक शैलीलाई अपनाइँदैन। यस गीतमा स्थायी र अन्तराको पनि अर्थगत तालमेल हुँदैन। माथिल्लो पङ्क्ति र तल्लो पंक्तिबीच केवल अनुप्रासको सम्बन्ध रहन्छ।  

भाषा

प्राचीन किरातीहरू आफ्नै भाषामा आफ्ना सबै प्रकारका मौलिक गीत गाउने गर्थे, तर वर्तमान समयमा देखिएको साकेला गीत नेपाली भाषामै रचना या संकलन गरिएका गीत हुन्। किरात राई जातिको आफ्नै मौलिक भाषामा गाउने परम्परा हाल लोप भइसकेको छ। राई भाषाहरू विविध कारण अलग–अलग देखापर्न थालेदेखि नै सबै राईके साझा साकेला गीत सबै थरी, सबै भाषी राईले बुझ्ने कुनै माध्यम भाषामा गाउन थालियो, जुन नेपाली भाषा हुन पुग्यो। नेपाली भाषाको प्रयोग व्यापक हुन थालेपछि, या नेपाली भाषाको प्रभाव किरात राई जातिमा पर्न थालेपछि साकेला गीत नेपाली भाषामै गाउन थालिएको हुन सक्छ। नेपाली भाषामै साकेला गाइए पनि उक्त गीतमा राई जातिको मौलिक भाषिक अवशेष भने प्रशस्त पाइन्छ।  

अलङ्कार

साकेला गीत एक सरल, सहज तथा नृत्यमय गीत हो। यो गीत जुनसुकै उमेरकाले पनि गाउने भएकाले यो सरल भाषामा गाइन्छ। यो गीतमा कुनै विम्ब तथा प्रतीकको प्रयोग पाइँदैन। तर, कतिपय गीत हल्का विम्बात्मक, प्रतीकात्मक तथा अलङ्कृत हुन सक्छन्। विशेषतः यसमा शब्दालङ्कारको प्रयोग पाइन्छ। खासगरी अन्त्यानुप्रासको प्रयोग भेटिन्छ। जस्तै :

सिकारी ज्यानको गोलीले

लठ्ठैमा पार्‍यो बोलीले

सोइ सोइला हो कुर्रा हा हा।

ढोल बज्यो ढ्याङ–ढ्याङ गजैले

नाचिमा जाउँ है मजैले

सोइ सोइला हो कुर्रा हा हा।

उपरोक्त पंक्तिमा गोलीले, बोलीले, गजैले, मजैले जस्ता अन्त्यानुप्राशको प्रयोग गरिएको छ।  

दर्शक या श्रोता  

साकेला गीत वाद्यवादन र नृत्यसँगै गाइने भएकाले दर्शक तथा श्रोताको संख्या उल्लेख्य हुने गर्छ। यसै पनि यो सामूहिक गीत हो। गाउँभरिका किराती तथा गैरकिराती भेला भएर नृत्य तथा गीत गाउने हुँदा यसमा दर्शक तथा श्रोता प्रशस्त हुने गर्छन्।  

(संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति विज्ञका रूपमा कार्यरत डा. राई नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रका अध्यक्ष हुन्।)

प्रकाशित: ११ पुस २०७७ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App