साउन ३१ गते रौतहट गरुडाका २१ वर्षीय निरञ्जन रामको हत्या भयो। हत्या आरोपमा निरञ्जनकै नातेदार विजयकुमार राम पक्राउ परे। सोही ठाउँका लखन साहको घरमा बर्थडे पार्टीमा गई फर्कने क्रममा निरञ्जनको हत्या भएको थियो। निरञ्जन गरुडा– ८ स्थित लखनको नर्सरीमा काम गर्थे। सोही नाताले उनी लखनको घरमा बर्थडे पार्टीमा गएका थिए। पार्टीबाट फर्कने क्रममा उनको घाँटी रेटेर हत्या भएको थियो।
पक्राउ परेका विजयकुमारले आफू निर्दोष भएको दाबीसहित रिहा गरिदिन प्रहरीलाई बिन्ती गरिरहे। प्रहरीको यातनाका कारण विजयकुमार बिरामी परे, उनलाई भदौ ८ मा वीरगन्जस्थित नेसनल मेडिकल कलेजको आइसियुमा भर्ना गरियो। उपचारका क्रममा १० गते विजयकुमारको मृत्यु भयो।
यातनाकै कारण विजयकुमारको मृत्यु भएको दाबी प्रस्तुत भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक नवीन सिंह तथा हवल्दार फिरोजमियाँ धुनियाँ र मुन्ना सिंहलाई निलम्बन गरेको छ। इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्का प्रहरी प्रधान कार्यालय तानिए। तर, दोषी प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने पीडित परिवारको माग अझै सुनवाइ भएको छैन, घटनाको सत्यतथ्य पनि प्रहरीले बाहिर ल्याएको छैन।
यो अवधिमा सिरहामा ७५ र धनुषामा ५७ को हत्या भएको तथ्यांक छ। यसै अवधिमा प्रदेश–२ का ८ जिल्लामध्ये बलात्कार बढी हुने जिल्लामा पनि सिरहा नै परेको छ। सिरहामा एक सय ५१ महिला तथा बालिका बलात्कृत भएका छन्। त्यसपछि धनुषामा एक सय ५० जना छन्। जसमध्ये आधा संख्या सीमान्तकृत समुदायको देखिन्छ।
धनुषाको सबैला नगरपालिका– १२ का २३ वर्षीय शम्भु सदाले स्थानीय सञ्जय साहको ट्र्याक्टर चलाएर परिवार पालिरहेका थिए। उनले ट्र्याक्टर चलाउने क्रममा जेठ १२ गते ट्र्याक्टर दुर्घटना भई सबैला– १३ की ५५ वर्षीया समुन्द्रीदेवी साहको मृत्यु भयो। दुर्घटनापछि इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा पुर्याइएका शम्भु जेठ २८ मा हिरासतको शौचालयमा मृत अवस्थामा भेटिए। प्रहरीले उनले झुन्डिएर आत्महत्या गरेको दाबी गर्यो। तर, सदा परिवारले हिरासतमा यातनाका कारण उनको मृत्यु भएको बताएको छ। न्याय माग्दै पटक–पटक प्रदर्शन गरे पनि अहिलेसम्म न्याय नपाएको पीडित परिवारको गुनासो छ।
असार दोस्रो साता धनुषा हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा पीडाले छटपराइरहँदा पनि स्वास्थ्यकर्मी, चिकित्सकले उनलाई हेरेनन्। अन्ततः उनको मृत्यु भयोे। भारतको अहमदाबादमा काम गर्ने उनी कोरोनाबाट बच्न घर फर्केका थिए। एक साता हिँडेर जेठ ३ गते घर आइपुगेका उनलाई कोरोना संक्रमण फैलिएको क्षेत्रबाट आएका कारण क्वारेन्टिनमा राखियो।
क्वारेन्टिन बस्दा समेत लामो समयसम्म पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएन। जेठ २० गते उनलाई पखाला लाग्यो। उनी सिकिस्त बन्दै गए। जेठ २८ मा बल्ल उनीसहित तीनजनालाई टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइयो। उनलाई अस्पतालले आइसोलेसन कक्ष बेड नभएकाले भुइँमा राख्यो तर उपचार भएन। कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मीले उनलाई हेरेनन्। रिपोर्ट आइसक्दा उनी सिकिस्त भइसकेका थिए।
रिपोर्ट नेगेटिभ आएपछि बल्ल चिकित्सकले उनलाई उपचारका लागि आकस्मिक कक्षमा लगे। तर ढिला भइसकेको थियो, उनले त्यहीँ प्राण त्यागे। राजुका परिवारले छोराको मृत्यु होइन, हत्या भएको भन्दै अस्पतालका आइसोलेसन संयोजकसहित पाँचजनामाथि कारबाही माग गर्दै जोहरी दिए पनि सुनुवाइ भएको छैन।
मंसिरको अन्तिम साता सप्तरीको शम्भुनाथ नगरपालिका– १ साह टोलकी ३५ वर्षीया सुमिन्द्रादेवी राममाथि ‘बोक्सी’ आरोपमा स्थानीय महिलाबाट कुटपिट भयो। छिमेकी रहेकी साह थरकी एक महिलाले सुमिन्द्राले ‘बोक्सी’ लगाएकाले आफ्नो उन्नति नभएको आरोप लगाउँदै आएकी थिइन्। आफूले ‘बोक्सी’ लगाएको प्रमाण माग्दा ती महिलाले आफन्त बोलाएर कुटपिट गरेको सुमिन्द्राले बताएकी छन्।
मंसिर ९ गते लहान नगरपालिका– ७ की २३ वर्षीया युवती धर्मगुरुबाट बलात्कृत भइन्। युवतीको जाहेरीपछि मिर्चैया नगरपालिका– १० महेशपुर घर भई लहान १० मा बस्दै आएका ३५ वर्षीय मोहम्मद अली हसन पक्राउ परेका छन्। बिरामी भएपछि युवती आफन्तसँग मौलानाकहाँ झारफुक गराउन गएकी थिइन्। मौलानाले अरूलाई बाहिरै राखेर युवतीलाई मात्रै भित्र लगेका थिए। झारफुक गर्ने बहानामा मौलानाले आफूलाई बलात्कार गरेको युवतीले प्रहरीमा बयान गरेकी छिन्। उनीमाथि जबर्जस्ती करणीको कसुरमा मुद्दा दर्ता भई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मंसिर ८ गते महोत्तरी बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिका गुलब्सा खातुनलाई अपहरणपछि बलात्कार गरी हत्या गरियो। बलात्कारपछि हत्या गरेको आरोपमा गौशाला–५ का अरूणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ।
नौ सय २८ बलात्कृत, ३७६ को हत्या
प्रदेश–२ को प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ४१ महिना (आव ०७४/७५ देखि मंसिर मसान्तसम्म) मा यस प्रदेशका आठ जिल्लामा तीन सय ७६ जनाको हत्या भएको छ। जसमा अधिकांश सीमान्तृकत समुदायका छन्। यही अवधिमा नौ सय २८ महिला तथा बालिका बलात्कृत भएका छन्। यसमा पनि अधिकांश पीडित सीमान्तकृत समुदायका छन्। यसै अवधिमा ६३ महिला ‘बोक्सी’ आरोपमा प्रताडीत भएका छन्। त्यस्तै, तीन सय ६३ महिला तथा बालिकामाथि बलात्कार प्रयास भएको छ।
४१ महिनाको अपराध तथ्यांकमा प्रदेश– २ का आठ जिल्लामध्ये सबैभन्दा असुरक्षित सिरहा देखिएको छ। सिरहा पछिको असुरक्षित धनुषा अर्थात् प्रदेश– २ को अस्थायी मुकाम देखिन्छ। यो अवधिमा सिरहामा ७५ र धनुषामा ५७ को हत्या भएको तथ्यांक छ। यसै अवधिमा प्रदेश–२ का ८ जिल्लामध्ये बलात्कार बढी हुने जिल्लामा पनि सिरहा नै परेको छ। सिरहामा एक सय ५१ महिला तथा बालिका बलात्कृत भएका छन्। त्यसपछि धनुषामा एक सय ५० जना छन्। जसमध्ये आधा संख्या सीमान्तकृत समुदायको देखिन्छ।
यो अवधिमा सिरहामा ७५, सप्तरीमा ३८ धनुषामा ५७, महोत्तरीमा ३३, सर्लाहीमा ३५, रौतहटमा ४७, बारामा ४९, पर्सामा ५२ जनाको हत्या भएको छ। त्यस्तै, सिरहामा एक सय ५१, सप्तरीमा एक सय ३७, धनुषामा एक सय ५०, महोत्तरीमा ८४, सर्लाहीमा एक सय तीन, रौतहटमा ९०, बारामा एक सय दुई र पर्सामा एक सय एक महिला तथा बालिका बलात्कृत भएका छन्।
चालू आर्थिक वर्षको मंसिरसम्म (आठ महिनामा) मात्र यस प्रदेशमा ४१ जनाको हत्या भएको छ। जसमा सबैभन्दा बढी रौतहटमा ११, पर्सामा ७, सिरहामा ६, महोत्तरीमा ५, सर्लाहीमा ४, सप्तरीमा ४, बारामा २ र धनुषामा २ जनाको हत्या भएको हो। यस अवधिमा एक सय ६७ बलात्कृत भएका छन्। सबैभन्दा बढी धनुषामा ३०, महोत्तरीमा २६, सिरहामा २६, सप्तरीमा २०, रौतहटमा १९, सर्लाहीमा १८, पर्सामा १५, बारामा १३ जना महिला तथा बालिका बलात्कृत भएको प्रदेश–२ प्रहरी कार्यालयको तथ्यांक छ।
‘पहिले समाजमै दबाइने घटनाबाहिर आउन थाल्यो’
तथ्यांकले प्रदेश २ मा हत्या, बलात्कार, बोक्सी तथा कुटपिट लगायत अपराध बढ्दो देखाउँछ। तर, पहिला समाजमै दबाइने घटना पछिल्लो समय बाहिर आउन थालेकाले बलात्कार, बोक्सी लगायत घटना संख्यात्मक हिसाबले बढी देखिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहको भनाइ छ।
अपराधका घटना नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालयले रणनीतिक योजना बनाई जनशक्ति परिचालन गरेको छ। डिआइजी सिंह भन्छन्, ‘आपराधिक घटनाको वस्तुनिष्ठ तरिकाले छानबिन गरेर दोषीलाई कानुनको दायरामा ल्याउन अपराधको घटना बढी भएका जिल्लामा विशेष प्रहरी टोली परिचालन गरिएको छ।’ क्विक रेस्पोन्स टिमदेखि निगरानी र नियन्त्रणकारी विशेष टिम रौतहट, पर्सा, सिरहा लगायत बढी अपराधका घटना भएका जिल्लामा परिचालन गरिएको छ।
यस आर्थिक वर्षमा विशेष प्रहरी टोलीले ६ सय चारजना फरार अभियुक्तलाई पक्राउ गरेको छ। भएका अपराधका करिब ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न सफल भएको दाबी गर्दै डिआजी सिंहले भने, ‘बाँकी अपराधी सीमापारि लुकेर बसेको र कोभिडका कारण सीमा बन्द रहेकाले पहुँच सम्भव हुन नसकेको हो।’
पहिचान खुलिसकेकाले उनीहरू पनि छिटै पक्राउ पर्ने उनले बताए। यस प्रदेशमा अपराध बढ्नुमा खुला सीमाना र सामाजिक मनोविज्ञान कारण रहेको डिआइजी सिंह बताउँछन्। ‘अपराध गरेर तत्काल उम्कन सक्ने खुला सीमानाको लाभ आपराधिक समूहले लिइरहेका छन्,’ उनले भने, ‘लामो समय कानुनको फन्दाबाहिर रहिरहन त सक्दैनन् तर तत्काल उम्कन सफल भइरहेका छन्। अर्को पक्ष यहाँको समाज हो। समाजका केही आपराधिक मनोवृत्तिका मानिसका कारण पनि यहाँको समग्र समाज प्रभावित भइरहेको उनको भनाइ छ।’
प्रकाशित: ११ पुस २०७७ ०३:२९ शनिबार