८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

घान्द्रुकका व्यवसायीको निर्णयः होटल खुलेसँगै आइसोलेसन तयार

कोरोनाका सम्भावित बिरामी राख्न घर भाडामा लिएर आइसोलेसन बनाइने

कास्कीको पर्यटकीय गाउँ घान्द्रुक । फाइल तस्बिरः सन्तोष÷नागरिक

कोरोना भाइरस महामारी फैलिने त्रासले गरिएको लकडाउनसँगै गत चैतदेखि बन्द थियो पर्यटकीय गाउँ घान्द्रुक । लकडाउन सुरु भएसँगै होटलमा ताला लगाएर त्यहाँका व्यवसायी चुपचापसँग घरमै बसेका थिए । लकडाउन खुकुलो हुँदै गर्दा केही समयपछि सरकारले सबैतिरका होटल खोल्न अनुमति दियो । त्यही अनुमतिबीच धेरैतिरका पर्यटकीय गन्तव्य खुलिसक्दा पनि गाउँमा संक्रमण फैलने जोखिम रहेको भन्दै घान्द्रुकले होटल खोल्न मानेको थिएन ।  

घान्द्रुकका व्यवसायीको सधैंको गुनासो हुन्थ्यो–‘होटल त खुल्लान, तर, भित्रिएका पाहुनासँगै कोरोना पनि गाउँ पस्यो भने सबैतिर भुसुक्कै पार्छ । त्यसैले गाउँलेलाई जोगाउनका लागि पनि होटल खोल्ने आँट गरिएन ।’ तर, पछिल्लो समय संक्रमण कम हुँदै गएको भन्दै आगामि माघ १ (जनवरी १४) देखि घान्द्रुक खुल्ने भएको छ । घान्द्रुक व्यवसायमा त फर्किदैछ, त्यससँगै गाउँ भित्रिएका कोही पाहुना केहीगरि बिरामी परिहाले के गर्ने भनेर पनि घान्द्रुकले विशेष तयारी पनि गरेको छ । त्यो हो–घर भाडामा लिएर आइसोलेसन बनाउने ।  

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङ भन्छन्, ‘कोरोनाको लक्षण सहित पाहुना वा गाउँले जोसुकै बिरामी परिहालेमा पनि उनीहरुलाई भिन्दै राख्न आइसोलेसन व्यवस्था गर्ने निर्णय गरेका छौ ।’ घान्द्रुकभित्रकै एउटा घरलाई भाडामा लिएर आइसोलेसन बनाउने उनले बताए ।  

‘मासिक ३० हजार रुपैयाँ भाडा तिर्नेगरि घर लिने निर्णय भएको छ । घरपनि खोजी गरिसकेका छौ,’ उनले भने, ‘३–४ वटा वाथरुम भएको घरलाई आइसोलेसन बनाउने निर्णय गरेका छौ ।’ गाउँमा भित्रिएका पाहुना वा गाउँले कसैलाई पनि समस्या भयो भने त्यो घरमा लगेर राख्नेगरि व्यवस्थापन गर्ने उनले बताए । ‘आइसोलेसन घर बनाउने मात्र नभई त्यहाँ स्वास्थ्यकर्मी पनि खटिन्छन,’ उनले भने, ‘कोरोनाको यो जोखिमबीच पाहुना भिœयाउँदा संक्रमणको त्रास भएकोले आइसोलेसन व्यवस्थापन गर्न थालेका हौ ।’  

अध्यक्ष गुरुङका अनुसार गाउँमा भित्रिएका पाहुना वा अरु सर्वसाधारण दिउँसो ४ बजेभित्र बिरामी परेको अवस्थामा एम्बुलेन्स खोजेर पोखरा पठाउने र त्यो भन्दा ढिलागरि बिरामी भएमा त्यही आइसोलेसनमा व्यवस्थापन गर्ने उनले बताए । ‘गाउँमा आएका जो कोही बिरामी परिहालेको खण्डमा चारबजेभित्र नै व्यवस्थापन गर्न सक्ने अवस्थामा एम्बुलेन्स खोजेर पोखरा पठाउँछौ । केहीगरि रातीमा बिरामी परेको खण्डमा भने त्यही घरमा लगेर राख्ने र भोलिपल्ट मात्र पोखरा पठाउने हो,’ उनले भने, ‘बढीमा एकरातका लागि मात्र आइसोलेसनमा राख्ने हो ।’  

आइसोलेसन बनाउने घरमा तीनवटा कोठा छन् । बिरामीलाई खानाको व्यवस्थापन पनि हुने उनले बताए । त्यसबाहेक गाउँपालिकासँग सहकार्य गर्दै स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलाई पनि आवश्यक परेमा खटाउने गरि व्यवस्थापन गरेको उनले बताए । ‘बरु रातीमा खटिनुपरेको भन्दै ती स्वास्थ्यकर्मीलाई हामी आफैलैले अतिरिक्त भत्ता दिन्छौ,’ उनले भने ।  

सबैतिरका पर्यटकीय गन्तव्य खुलिसक्दा पनि घान्द्रुक नखुल्दा सबैतिर आलोचनाको विषय बनेको थियो । घान्द्रुक कसरी खुल्छ भन्नेमा सबैतिर चाँसो रहँदा स्वास्थ्य सेवाको तयारीका साथ घान्द्रुकले पर्यटक स्वागत गर्न थालेको उनले बताए । ‘सरकारको भर प¥यो भने यहाँका बिरामीले उपचार पाउने अवस्था रहँदैन । त्यही भएर हामी आफै गाउँमा आइसोलेसन बनाउन थालेका हौ,’ उनले भने, ‘होटलमा बसेका जो सुकै पाहुना बिरामी परेको खण्डमा त्यही आइसोलेसनमा राख्नेगरि व्यवस्था गरेका छौ । एकैपटक धेरै बिरामी नपर्ने भएकोले ३ कोठाको आइसोलेसनले पनि माग धान्ने विश्वास छ ।’  

घान्द्रुक अन्नपुर्ण क्षेत्रको प्रमुख पर्यटकीय गाउँ हो । घान्द्रुक हुँदै आन्तरिक तथा बाह्य पर्यटकहरु अन्नपुर्ण आधारशिविर (एबिसी), टाढापानी, घोरेपानीसम्म आउजाउ गर्छन । घान्द्रुक बन्द हँुँदा पर्यटकहरु पदयात्रामा जान रोकिएका थिए । 

प्रकाशित: १० पुस २०७७ ०९:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App