२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

इसाई धर्मका संस्थापक यिसुख्रिस्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले ‘क्रिसमस डे’ मनाउँदैछन्। डिसेम्बर २५ तारिखका दिन यिसुख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका यिसुख्रिस्टले तीन मुख्य खुशीयाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए। उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा इसाई धर्मावलम्बीले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन्।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले जानकारी दिए। विश्वका धेरै मानिसले मनाउने ‘क्रिसमस डे’ नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको हो।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो। यस अवसरमा विसं २०७५ देखि भने इसाई धर्मावलम्बीलाई मात्र बिदा दिन थालिएको छ। यसैले आज देशभरका इसाई धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिइएको छ। हाल नेपालमा ३० लाख इसाई धर्मावलम्बी रहेको महासङ्घको दाबी छ। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्लासिक भेन्यू सातदोबाटोमा क्रिसमस महोत्सव २०७७ आयोजना गरिएको छ। कार्यक्रममा सरकारका प्रतिनिधि, मानवअधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए।

पछिल्लो समय मुख्य शहरका प्रमुख स्थलमा ‘क्रिसमस ट्रि’ सजाउने गरेको देखिन्छ। विशेषगरी इसाई धर्मावलम्बीका विदेशी पर्यटकलाई आकर्षित गर्न विगत वर्षमा साजसज्जा गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण चहलपहल कम देखिन्छ। पर्यटक आउने ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी हुने गरेको छ। रासस

प्रकाशित: १० पुस २०७७ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App