१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउनमा खाली हिरासत फेरि भरिँदै

कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि उपत्यकाका प्रहरी कार्यालय र हिरासत कक्ष सुनसान थिए। गत चैतदेखि असोजसम्म उपत्यका अपराध मुक्त जस्तै बन्यो। लकडाउन खुलेपछि आपराधिक गतिविधि भने मौलाउन थालेका छन्। अपराध पूर्ववत् अवस्था जस्तै बढ्न थालेपछि प्रहरीले कोरोना संक्रमणकै बीचमा पनि निगरानी र सुरक्षा सतर्कता बढाएको छ।

लकडाउनको बेला शान्त भएको महानगरीय प्रहरी परिसर हनुमानढोका अहिले भीडभाड छ। १ सय ३३ जना हिरासतमा छन्। यो संख्या हरेक दिन थपघट हुने गरेको प्रहरीको भनाइ छ। सहरबजार सामान्य भइसकेपछि आपराधिक गतिविधि बढेको प्रहरीको भनाइ छ।  

परिसरका एसएसपी अशोक सिंहले कोरोना संक्रमणकै बेलामा पनि आपराधिक गतिविधि हुने गरेको बताए। ‘केही समय अपराध शून्य जस्तै भएको उपत्यकामा फेरि अपराध बढेको छ,’ उनले भने, ‘उपत्यकामा सबैखाले गरी दैनिक १२/१५ वटा आपराधिक क्रियाकलाप हुने गरेको तथ्यांक हामीसँग छ।’ उनका अनुसार लकडाउनको समयमा ६५ वर्षको इतिहासमा पहिलोपटक हिरासत कक्ष खाली भएको थियो।

हिरासतकक्ष खाली भएपछि रंग लगाउने र मर्मत गर्ने कार्य पनि भएको थियो। अरू बेला भीडभाड हुने गरेका कारण हिरासत कक्ष मर्मतसंम्भार गर्न समस्या परेको थियो। परिसरका अनुसार यो हिरासत कक्ष उपत्यकाको सबैभन्दा बढी थुनुवाहरू राख्ने ठाउँ हो। हाल जघन्य अपराध, ठगी तथा घरेलु हिंसाबारे बढी मुद्दा परिसरमा दर्ता हुन्छन्।

आपराधिक गतिविधि बढेसँगै हाल उपत्यकामा सादा पोसाकमा तीन हजारभन्दा बढी प्रहरी फिल्डमा खटिएको बताइएको छ। १४ वटा प्रहरी वृृत्त रहेको काठमाडौंका अधिकांश वृत्तमा मुद्दाको चाप बढेको छ। लागुऔषध, बैंकिङ कसुर र ठगी मुद्दाको संख्या बढ्दै गएको छ।  

महानगरीय प्रहरी परिसर ललितपुरमा पनि भीडभाड बढेको छ। अपराधिक क्रियाकलापनमा संलग्न रहनेहरूको संख्या बढेसँगै हिरासत कक्ष पनि भरिन थालेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले लकडाउन खुलेपछि मुद्दामामिला बोकेर प्रहरी कार्यालय धाउनेको संख्या बढेको बताइन्। उनले भनिन, ‘बन्दको बेलामा अपराध शून्य थियो, अन्यायमा परेका मानिसहरू प्रशासनमा आउन सकेका थिएनन्, लकडाउन खुलेपछि अपराधका दर र मुद्दा बोकेर आउनेको संख्या बढ्दो छ।’ परिसरको हिरासत कक्षमा ४० जनाभन्दा बढी थुनुवाहरू रहेका छन्।  

त्यस्तै, भक्तपुर परिसरको हिरासत कक्ष भरिन आटेको छ। मुद्दामामिला दर्ता गराउनेको चाप बढेसँगै परिसरमा २० जनाभन्दा बढी थुनुवाहरू राखिएको छ। त्यसो त लकडाउनको समयमा प्रविधिजन्य अपराध र आत्महत्या गर्नेको संख्या भने बढेको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार गत वर्ष चैतयता मंसीरसम्म १८ सय ३४ जनाले आत्महत्या गरेका छन्।

अपराध बढेपछि अहिले कार्यालयमाभन्दा बढी प्रहरी सडकमै खटिने गरेको प्रधान कार्यालयका प्रवक्ता डिआइजी वसन्त कुँवरले जानकारी दिए। उनले भने, ‘अपराध प्रहरीले मात्रै चाहँदैमा रोकिने होइन, समाज र मानिसको नियतवस अपराध बढ्ने गरेको छ, हाल चोरी, बैंकिङ कसुर, सवारी ज्यान, घरेलु हिंसा, साइबर अपराध डकैती र ठगीसँग सम्बन्धित अपराध बढेका छन्।’

उनका अनुसार लकडाउन खुलेसँगै देशभरका प्रहरी कार्यालय र हिरासत कक्ष भरिभराउ हुन थालेका छन्। उपत्यकाभित्रका प्रहरी हिरासत कक्षमा ५ सय १२ जना व्यक्ति थुनामा छन्। प्रदेश १ मा ४ सय ७३, प्रदेश २ मा ४ सय ६८, बाग्मती प्रदेशमा २ सय ४१, गण्डकी प्रदेशमा २ सय १७, लुम्बिनी प्रदेशमा ३ सय ३४ जना, कणाली प्रदेशमा १ सय २१ र सुदूरपश्चिम प्रदेशमा १ सय ८४ जना प्रहरी हिरासतमा छन्।

प्रकाशित: १० पुस २०७७ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App